जापानी सम्राट: गद्दीआरोहणसँग जोडिएका रहस्यमय शाही खजाना

तस्बिर स्रोत, PICTURE ART/ALAMY
- Author, एना जोन्स
- Role, बीबीसी न्यूज
मे १ तारिखमा युवराज नारुहितोले देशको प्रसिद्ध " क्रिसान्थमम् राजगद्दी" अथवा गोदावरी फूल अंकित राजगद्दी आरोहण गर्ने छन्।
उनका पिताले उक्त राजगद्दी परित्याग गरेपछि नारुहितो जापानका नयाँ सम्राट बन्नेछन्।
राजगद्दी परित्याग र गद्दी आरोहणको दुवैथरी समारोहमा गहन अर्थहरू रहेका शिन्टो धर्मसँग सम्बन्धित परम्पराहरूको पालना गरिनेछन्।
र ती परम्परामा तीनवटा प्राचीन वस्तुहरूको मुख्य भूमिका रहनेछन् - एउटा ऐना, एउटा तरवार र एउटा रत्न। ती प्राचीन परम्परागत वस्तुलाई शाही खजाना भन्ने गरिएको छ।
ती रहस्यमय वस्तुहरूको उत्पत्ति र ती हाल कहाँ छन् भन्ने जानकारी गोप्य छन्। तर ती वस्तुसँग जोडिएका किंवन्दतीहरू जापानी इतिहासको विभिन्न कालखण्डमा छरपष्टै पाइन्छ।
शाही खजानाहरू किन छन् महत्त्वपूर्ण?
जापानको अनौपचारिक राष्ट्रिय धर्म, शिन्टो, ले पुरानो परम्परालाई निकै महत्त्व दिने गर्दछ।
मानिसको विगत र मानव जीवनलाई प्रभाव पार्ने आत्माबीचको सम्बन्ध अविछिन्न राख्नु पर्छ भन्ने मान्यता उक्त धर्ममा पाइन्छ। ती शाही खजानाहरू यसै मान्यताको भाग हुन्।
ती खजाना देवताहरूबाट जापानका सम्राटहरूमा पुस्तैपिच्छे हस्तान्तरण हुँदै आएको मानिन्छ, किनकी जापानमा सम्राटहरूलाई देवताकै वंशज मान्ने गरिन्छ।
राजमुकुटको उपस्थिति नरहेको अवस्थामा ती तीन खजानालाई नै राजकीय शक्तिको प्रतिनिधिका रुपमा लिने गरिन्छ।
तर ती खजानाहरूलाई यति विधि पवित्र मानिन्छ की तिनलाई बाहिरी संसारको आँखाबाट लुकाएर राख्ने गरिन्छ।
"ती खजाना कहिले बनेका हुन् भन्ने हामीलाई थाहा छैन किनकी हामीले तिनलाई कहिल्यै देखेका छैनौं," नागोया विश्वविद्यालयका प्राध्यापक हिडेया कावानीशीले बीबीसीलाई बताए।
उनी भन्छन्, "ती दुर्लभ खजानाहरूलाई सम्राटले समेत देख्न पाएका छैनन्।"
राज्याभिषेकका बेलामा समेत ती खजानाहरूलाई ल्याइने छैन किनकी त्यस अवसरमा ती खजानाका प्रतिकृतिहरूलाई मात्र प्रस्तुत गर्ने गरिन्छ। सक्कल, यदि ती सक्कलै हुन् भने, ती देशभर छरिएर रहेका मन्दिर तथा धार्मिकस्थलहरूमा सुरक्षित रहने छन्।

तस्बिर स्रोत, BBC/DAVISSURYA
याता नो कागामी - पवित्र ऐना
एकहजार वर्षभन्दा पुरानो मानिने यो ऐना मिए प्रिफेक्चरमा अवस्थित इसे ग्र्याण्ड मन्दिरमा रहेको ठानिन्छ।
नैतिकता र मूल्यमान्यता सम्बन्धि अध्ययन गर्ने एउटा जापानी निकायका शिन्सुके टाकेनाका भन्छन् तीनवटा पवित्र धरोहर मध्ये यो ऐनालाई सबभन्दा बढी मूल्यवान र महत्त्वपूर्ण मानिन्छ।
सन् १९८९ मा भएका पछिल्लो राज्याभिषेकका बेला प्रस्तुत नगरिएको यो एक मात्र खजाना थियो।
जापानी लोकविश्वासमा ऐनाहरूमा सत्य उजागर गर्न सक्ने दैवी शक्ति लुकेको हुन्छ। र राजकीय समारोहहरूमा याता नो कागामी अर्थात आठ-कुने ऐनाको प्रस्तुतीले सम्राटको बुद्धिमत्ताको प्रतिनिधित्व गर्ने गर्छ।
जापानी लोककथा अनुसार ईशापूर्व ६६० मा जापानका प्रथम सम्राट बनेका जिम्मुका जिजुबुवा निनिगीलाई उनकी पनि हजुरमुमा आमातेरासुले उक्त ऐना दिएकी थिइन्। शिन्टो धर्ममा आमातेरासुलाई सूर्यदेवी भनिन्छ।

तस्बिर स्रोत, BBC/DAVISSURYA
कुसानागी नो त्सुरुगी - पवित्र तरवार
घाँस समेत काट्ने सक्ने तरवार भनिने कुसानागी नो त्सुरुगी कहाँ छ भन्ने स्पष्ट छैन। तर त्यो नागोयामा रहेको आत्सुता मन्दिरमा रहेको हुनसक्ने ठानिन्छ।
दन्त्यकथाहरूका अनुसार उक्त तरवार आठवटा टाउको भएको सर्पको पुच्छरमा उम्रिएको थियो। त्यस्तो सर्पको पुच्छर काटेर त्यो तरवार हात पारेका सुसानूले आफ्नी दिदि सूर्यदेवी आमातेरासुलाई सो तरवार प्रदान गरेका थिए।
त्यो तरवारले जापानी सम्राटको वीरतालाई प्रतिनिधित्व गर्दछ। तर त्यो तरवारको वास्तविक अस्तित्वका बारेमा सार्वजनिक जानकारी यति कम छ की केही मानिसहरू त्यस्को अस्तित्वका बारेमा नै पनि प्रश्न उठाउने गर्छन्।
तर पक्का कुरा के हो भने त्यो तरवारका सम्बन्धमा गोपनीयता भने निकै कडा छ। १७औँ र १८ औँ शताब्दीको बीचतिरको एडो शासनकालमा एकजना भिक्षुले त्यो तरवार देखेको दावी गरेका थिए र त्यस लगत्तै उनलाई निष्काशन गरिएको थियो।

तस्बिर स्रोत, BBC/DAVISSURYA
यासाकानी नो मागाटामा - पवित्र रत्न
मागाटामा भनेको केही घुम्रिएको आकार भएको पोते जस्तो रत्न हो जुन ईशापूर्व एकहजार वर्षजति अघिदेखि जापामा बनाउन थालिएको विश्वास गरिन्छ। सुरुमा सरसजावटको काममा प्रयोग हुने उक्त रत्नले पछि पवित्रताको सांकेतिक महत्त्व ग्रहण गर्न पुगेको छ।
जापानी दन्त्यकथाका अनुसार रमाइलोपनकी देवी आमे-नो-उजुमेले लगाउने हारको एकभागका रूपमा यासाकानी नो मागाटामा रहेको थियो। ती देवी सूर्यदेवी आमातेरासुलाई गुफाबाट बाहिर निकाल्ने प्रयासमा महत्वपूर्ण भूमिका भएकी देवी हुन्।
उत्पत्तिका बारेमा जे जस्तो लोकआख्यान प्रचलित भएपनि हरियो जेड पत्थरबाट बनेको यासाकानी नो मागाटामा, ती तीन पवित्र खजानामा अस्तित्वमा रहेकाहरू मध्ये सबैभन्दा "सक्कली" ठानिन्छ।
त्यो जापानी राजधानी टोक्योस्थित राजदरवारमा राखिएको छ र सम्राटको राजगद्दी आरोहण समारोह उक्त रत्नले सम्राटको दयालुपनाको प्रतिनिधित्व गर्दछ।

तस्बिर स्रोत, CULTURE CLUB/ GETTY IMAGES
जापानीहरू ती तीन खजानामा विश्वास गर्छन् त?
जापानी लोकविश्वासमा सम्राटहरू सूर्यदेवी आमातेरासुका सन्तान भनिने गरिएपनि, सम्राटहरूले भने आफूलाई देवता वा देवताको सन्तान दावी गर्न छाडिसकेका छन्।
सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धमा जापानको पराजय भएपछि आफ्नो दैवीस्थान परित्याग गरिदिएका थिए।
प्राध्यापक कावानिशी भन्छन् जापानमा ती खजानाहरूमा दैवी शक्ति रहेको छ भनेर विश्वास गर्ने थुप्रै मानिसहरू जापानमा छन्।
तर हाल धेरै मानिसहरू तिनलाई अन्य देशका राजा महाराजाले लगाउने गहना वा श्रृंगारका वस्तुको रुपमा मात्रै लिने पनि गर्दछन्।
ताकेनाकाको भनाईमा भने ती तीन खजानाले जापानका आदीवासी समुदाय र नयाँ आप्रवासी समुदायबीचको मेलमिलापलाई प्रतिनिधित्व गर्छन् भन्ने केही प्राज्ञहरूको धारणा रहेको पाइन्छ।
उनी भन्छन्, त्यस्तो मान्यताका आधारमा भन्ने हो भने सम्राटले देशका सबै जातिय समुदायलाई विना कुनै भेदभाव एकताबद्ध पार्नु पर्छ भन्ने कुराको संकेत पनि ती तीन खजानाहरूले गर्दछन्।
थप रिपोर्टिंग मारिको ओइ








