नारुहितो बने नयाँ सम्राट, गरे सुख र विश्वशान्तिको कामना

तस्बिर स्रोत, Reuters
जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्।
राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्।
उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्।
बिहान आयोजित प्रतीकात्मक समारोहमा सम्राट नारुहितोलाई उनका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो।
नारुहितो नयाँ सम्राट बनेपछि 'रेवा' नाम दिइएको 'नयाँ युग' आरम्भ भएको छ। जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो।
जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ।

तस्बिर स्रोत, AFP
छोटो मन्तव्यमा ५९ वर्षीय नारुहितोले भावुक हुँदै आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गरे।
आकिहितोले देशका सेवा गरेको उल्लेख गर्दै सम्राट नारुहितोले भने, "उहाँले आफ्नो कर्तव्य गम्भीरतापूर्वक ३० वर्षदेखि निर्वाह गर्नुभयो।"
"उहाँले आफ्नो आचारबाटै ठूलो दयाभाव देखाउनुभयो। म उहाँप्रति हार्दिक सम्मान र प्रशंसा प्रकट गर्न चाहन्छु।"
जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन।
तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।
उमेर र स्वास्थ्यका कारण देखाउँदै ८५ वर्षीय आकिहितोले पदत्याग गरेका थिए।
दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्।
समारोहमा के भयो?
शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोह स्थानीय समयानुसार बिहान १०:१५ बजे सुरु भएको थियो।
सामान्य तर गहन साङ्केतिक अर्थ राख्ने सो समारोहमा नारुहितोलाई एउटा तरबार, एउटा बहुमूल्य जुहारात तथा ऐना दिइएको थियो।
केन्जी-टो-शोके-नो-गी भनिने सो समारोहमा राजपरिवारका पुरुष सदस्य मात्रै उपस्थिति थिए। त्यसमा महिला सहभागी हुने चलन नभएकाले नयाँ साम्राज्ञी मासाको उपस्थित भइनन्।
उनन्साठी वर्षीय नारुहितोलाई एउटा तरबारको प्रति र एउटा बहुमूल्य रत्न दिइएको थियो।
ती वस्तुलाई जापानी साम्राज्यको शक्तिको प्रतीक मानिन्छ र जापानको राजपरिवारमा पुस्तौँदेखि त्यसरी नै नयाँ सम्राटलाई दिइँदै आएको छ।
उनलाई हस्तान्तरण गरिएको शाही खजानामा एउटा ऐना पनि छ। त्यसलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ र सधैँ एउटा मन्दिरमा राख्ने गरिएको छ।
हामीलाई नारुहितोबारे के थाहा छ?
नारुहितो जापानका १२६औँ सम्राट हुन्।
उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन्। उनी २८ वर्षको उमेरमा राजसंस्थाको उत्तराधिकारी घोषित भएका थिए।

तस्बिर स्रोत, AFP PHOTO / IMPERIAL HOUSEHOLD AGENCY
उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो।
उनीहरूको भेट सन् १९८६ मा भएको बताइन्छ।
मासाकोले पछि सञ्चारकर्मीहरूलाई युवराज नारुहितोले आफूसँग विवाह गर्न प्रस्ताव गरेको बताएकी थिइन्।
उनका अनुसार नारुहितोले उनलाई "तिमीलाई राजपरिवारमा आउन डर र सङ्कोच लागेको हुन सक्छ। तर म आजीवन तिम्रो रक्षा गर्नेछु" भनेकाले उनले त्यो प्रस्ताव स्वीकारेकी थिइन्।
जापानमा राजसंस्था किन महत्त्वपूर्ण?
जापानको राजसंस्था अहिले विश्वमा अस्तित्वमा रहेकामध्ये सबैभन्दा पुरानो हो।
यो इसापूर्व ६०० देखि सुरु भएको मान्यता छ।
जापानमा सम्राटलाई ईश्वर मानिन्थ्यो। तर नारुहितोका हजुरबुवा सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले आत्मसमर्पण गर्दा सार्वजनिक रूपमा दैवी शक्ति परित्याग गरेको घोषणा गरेका थिए।
हिरोहितोका छोरा आकिहितोले सम्राटको भूमिकाको पुनर्व्याख्या गरेर युद्धपछि जापानको छवि सुधारे।
राजगद्दी त्यागेका आकिहितोलाई जापानी भाषामा "जोको" भनेर सम्बोधन गरिनेछ। जोकोको अर्थ "बडासम्राट" हो।
अङ्ग्रेजीमा उनलाई "एम्परर इमेरिटस" अर्थात् "मानार्थ सम्राट" र मिचिकोलाई "एम्प्रस इमेरिटा" अर्थात् "मानार्थ सम्राज्ञी" भनिनेछ।










