‘प्रेमीका निम्ति शाही हैसियत त्याग’

तस्बिर स्रोत, Reuters
जापानी राजकुमारी माकोले सर्वसाधारणलाई विवाह गरेर शाही हैसियत त्याग गर्ने भएकी छन्।
सम्राट अकिहितोकी २५ वर्षीया जेठी नातिनीले सँगै अध्ययन गर्दा ताका भेटेकी २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्ने भएकी हुन्।
हाल कोमुरो एक 'ल फर्म'मा काम गर्छन्।
कानुन
जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्छ।
स्थानीय सञ्चारमाध्यमले पहिले खबर दिएको उक्त कदमले सानो बन्दै गएको त्यहाँको राजपरिवारबारे बहस हुने बताइन्छ।
राजकुमारी माको र केइ कोमुरोको भेट सन् २०१२ ताका उनीहरुले टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटिमा पढ्दाताका भएको थियो।
विवाह योजनाबारे सोध्दा बुधबार कोमुरोले अहिले त्यसबारे आफूले टिप्पणी गर्न नमिल्ने बताए। "म सही समयमा बोल्नेछु," उनले भने।
जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले सीएनएनसँग राजकुमारीको बिहेपूर्व 'इन्गेजमेन्ट'को तयारीबारे योजना भइरहेको बताएको छ।
उत्तराधिकारी

तस्बिर स्रोत, Reuters
हाल ८३ वर्ष पुगेका सम्राट अकिहितोले गत अगस्ट महिनामा अब आफ्नो उमेरले नियमित कार्यभार सम्हाल्न अप्ठ्यारो पर्न सक्ने भन्दै गद्दीत्यागको संकेत गरेका थिए।
सम्राटलाई गद्दीत्याग गर्ने बाटो खोल्ने कानुनी परिमार्जनबारे हाल जापानमा समीक्षा भइरहेको छ।
गत दुई शताब्दीयता कुनैपनि जापानी सम्राटले गद्दीत्याग गरेका छैनन्।
त्यहाँको विद्यमान कानुनले त्यसो गर्न दिदैंन।
नयाँ कानुनले केवल पुरुष उत्तराधिकारको प्रावधान भने परिवर्तन नगर्ने ठानिएको छ।
क्रिसान्थेमम राजसिंहासन भनिने जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छन्: अकिहितोका छोराहरु युवराज नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो।
राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन्।








