सी जिन्‍पिङ: चिनियाँ राष्ट्रपतिको भ्रमणबारे राजनीतिक दलका नेताहरू सकारात्मक

चीनका राष्ट्रपति सी जिन्पिङ दुईदिने नेपाल भ्रमणका लागि शनिवार अपराह्न काठमाण्डू आइपुग्दैछन्।

सरकारी अधिकारीहरूका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन्।

दुई दिन नेपालमा रहँदा सीले उच्चस्तरीय भेटघाट गर्नेछन्।

उनको भ्रमणमै नेपाल र चीनबीच केही सम्झौताहरूमा हस्ताक्षर हुने बताइएको छ।

पछिल्ला वर्षहरूमा नेपालले चीनको उच्चपदस्थ नेतालाई भ्रमण गराउन पहल गरेको तर सफल हुन नसकेको चर्चा भइरहेका बेला हुन लागेको सीको भ्रमणलाई चासोपूर्वक हेरिएको छ।

कतिपयले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सरकारको एउटा ठूलो कूटनीतिक उपलब्धिको रूपमा अर्थ्याएका छन्।

सन् २०१२ मा चिनियाँ प्रधानमन्त्रीको सङ्क्षिप्त नेपाल भ्रमणपछि यो पहिलो उच्चस्तरीय भ्रमण हो।

चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा नेपाल भ्रमण गरेयता राष्ट्रपतिको तहमा यो पहिलो भ्रमण हो।

के भन्छन् नेताहरू?

लामो समयपछि चिनियाँ राष्ट्रपतिको नेपालमा हुन लागेको भ्रमणबारे विभिन्न राजनीतिक दलका नेताहरूले पनि आफ्ना धारणा र प्रतिक्रिया सार्वजनिक गरेका छन्।

सत्ताधारी दलका नेतादेखि विपक्षी दलका नेताहरूले सीको भ्रमणलाई 'ठूलो उपलब्धि'का रूपमा प्रस्तुत गरेका छन्।

विपक्षी नेताहरूका भनाइमा यो भ्रमण ऐतिहासिक भएकाले त्यसबाट अधिकतम लाभ लिन सरकारले पहल गर्नुपर्नेछ।

सत्ताधारी दलका नेताहरूले चाहिँ सीको भ्रमणबाट नेपालको विकासमा दूरगामी लाभ हासिल हुने बताएका छन्।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ भाषामा 'राष्ट्रपति सीलाई नेपालमा स्वागत छ' भन्दै ट्वीट गरेका छन्।

अर्का पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि ट्वीट गर्दै 'राष्ट्रपति सीलाई नेपालमा स्वागत छ' भनेका छन्।

उनले 'चिनियाँ र नेपाली सपनालाई साकार पारौँ र शान्तिपूर्ण र समृद्ध छिमेक निर्माण गरौँ' भन्ने कामना पनि गरेका छन्।

सरकारी समाचारसंस्था राष्ट्रिय समाचार समिति (रासस) का अनुसार शुक्रवार चितवनमा आयोजित एउटा कार्यक्रममा बोल्दै सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यो भ्रमण नेपालका लागि उच्च महत्त्वको रहेको बताएका थिए।

उनले भ्रमणबाट नेपालले 'बहुआयामिक लाभ हासिल गर्ने' बताएका हुन्।

सत्ताधारी दलकै नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारी मुखपत्र गोरखापत्रसँग कुराकानी गर्दै यो भ्रमण 'राष्ट्र र जनताको मन जोड्ने' आधार भएको बताएका छन्।

राससकै अनुसार शुक्रवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले 'भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने' बताएका छन्।

तर यो भ्रमणबाट कति उपलब्धि हासिल हुन्छ भन्ने चाहिँ सरकारमा निर्भर रहने उनको तर्क छ।

काङ्ग्रेसकै नेता एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले रिपोर्टर्स क्लबमा बोल्दै आफू सीको भ्रमणबाट 'निकै उत्साहित भएको' बताएकी छन्।

उनले यो भ्रमण सफल हुने कामना गरिन्।

नेकपाका नेता पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप दरिलो बनाउने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले चाहिँ विज्ञप्ति जारी गर्दै भ्रमणलाई 'सुखद अवसर' भनेका छन्।

राप्रपाका अध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री कमल थापाले "छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति महामहिम सी जिन्पिङको भ्रमणले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकोस्" भन्ने कामना गरेका छन्।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरेको राससले जनाएको छ।

कस्तो छ सीको भ्रमणतालिका?

अधिकारीहरूका अनुसार सी शनिवार अपराह्न काठमाण्डू विमानस्थलमा आइपुग्नेछन्।

त्यहाँ उनलाई राष्ट्रपति भण्डारीले स्वागत गर्नेछिन्।

त्यसपछि उनको राष्ट्रपति भण्डारीसँग दुईपक्षीय भेट हुनेछ। शनिवारै उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

शनिवार राति उनी राष्ट्रपति भण्डारीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

आइतवार बिहान पूर्वप्रधानमन्त्री दाहालसँग उनको भेट हुनेछ।

त्यसपछि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता र सम्झौताहरू हुनेछन्।

आइतवारै उनी स्वदेश फर्कनेछन्।

चीनबाट नेपालमा भएका उच्चस्तरीय भ्रम

स्रोत: इकनोमिक एन्ड कमर्शल कन्सुलर्स् अफिस अफ दि एम्बेसी अफ द पीपल्स रिपब्लिक अफ चाइना इन फेडरल डेक्र्याटिक रिपब्लिक अफ नेपाल