तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फुटबल: बलियो टोली अस्ट्रेलियासँग नेपाली टोलीको प्रदर्शन कस्तो होला
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपालले आयोजक अस्ट्रेलियासँग क्यानवेरामा उनीहरूको घरेलु मैदानमा बिहीवार विश्वकप फुटबलको एसियाली छनोटमा प्रतिस्पर्धा गर्दा सकेसम्म रक्षात्मक खेल्ने रणनीति बनाएको जनाएको छ।
आयोजक अस्ट्रेलियाको पनि नेपालसँग हार्ने कुनै योजना छैन।
बरु बढीभन्दा बढी गोल गरेर कतार विश्वकप यात्रामा ऊ नजिक पुग्न चाहन्छ।
अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले घोषणा गरिसकेका छन् की उनीहरू नेपाल विरुद्ध आक्रमक खेल्नेछन् र बढीभन्दा बढी गोलको प्रयास गर्नेछन्।
स्मरणीय यो पनि छ कि अन्तर्राष्ट्रिय फुटबल इतिहासमा अस्ट्रेलिया, नेपालले सामना गर्न लागेको अहिलेसम्मको सबैभन्दा उच्चवरीयताको प्रतिद्धन्दी हो।
नेपाल हाल विश्व वरीयतामा १६१ औँ स्थानमा छ भने अस्ट्रेलिया त्यो भन्दा ११७ स्थान माथि ४४ औँ स्थानमा छ।
इतिहास कस्तो?
त्यसैले कतिपयको डर छ, के नेपालले अन्तर्राष्ट्रिय फुटबलमा विगतमा खाएको सबैभन्दा बढी १६ भन्दा धेरै गोल खाने पो हो कि!
इतिहास खोतल्दा भेटिन्छ, नेपालले बेहोरेको दक्षिण कोरियासँग १६-० र चीनसँग १२-० को हार अहिलेसम्मको उच्च गोल खाएका नराम्रा कीर्तिमान हुन्।
यसपटक विश्वकप छनोटको सुरुवातमा नै कुवेतसँग ७-० ले हार बेहोरेको हुनाले कतिपय फुटबल समर्थकमा यस्तो संशय जाग्न पनि सक्छ। त्यही कुवेतलाई अस्ट्रेलियाले ३-० ले हराइसकेको छ।
तर फुटबल विज्ञहरु भन्छन् - "समय फेरिएकोले जस्तोसुकै प्रतिद्धन्द्वी भएपनि अब १६ भन्दा बढी गोल खाने दिन नेपाली फुटबलमा नआउला।"
फराकिलो गोलको विगत
नेपालले अहिलेसम्मको फुटबल इतिहासमा सबभन्दा धेरै दक्षिण कोरिया विरुद्ध १६ वर्ष अगाडि १६ गोल खाएको छ। सन् २००३ मा कोरियाली राजधानी सोलमा भएको एसियन कप छनोटमा कोरियाले त्यसरी १६-० ले नेपाललाई हराएको थियो।
तर त्यतिबेला बढी गोल खानुमा 'टिम असन्तुलन र खेलाडीहरूको हतास मनस्थिति' लाई प्रमुख कारण मानिएको थियो।
किनकी टिमका मुख्य तीन खेलाडी खेल नखेलिकन कोरियामा लुकेका थिए। जसले बाँकी खेलाडीहरूको मनोबलमा असर पर्न गएको ठानियो।
सन् १९८७ मा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले चीनसँग बेहोरेको १२-० को हार अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेपछिको पहिलो फराकिलो पराजय नतिजा थियो।
धीरेन्द्र प्रधानले पहिलो चरणमा पाकिस्तान विरुद्ध कर्नरमा अविश्वसनीय गोल गरेर जित दिलाएपछि नेपाल पहिलोपटक विश्वकपको दोस्रो चरणमा पुगेको थियो।
चीन, दक्षिण कोरिया र थाइल्याण्डसँगको समूहमा परेको नेपालले त्यतिबेला समग्रमा ३९-१ गोल खान पुग्यो।
चीनसँग १२-० र ८-०, दक्षिण कोरियासँग ९-० र ५-० अनि थाइल्याण्डसँग २-० र ३-१ गोल। थाइल्याण्ड विरुद्धको नेपालको एकमात्र गोल मणि शाहले ३९ औँ मिनेटमा गरेका थिए।
होम एण्ड अवे दुवै खेल भने विपक्षीको मैदानमा खेलिएको थियो।
त्यतिबेला रक्षापङ्कतिमा रहेका पुर्व कप्तान राजुकाजी शाक्य भन्छन्, "ठूला प्रतिद्धन्द्वीसँग खेल्ने हामीलाई बानी थिएन। हामी हडबडाएका थियौँ। धेरै गोल हाम्रै असमझदारीका कारण भएको थियो।"
१० गोल भन्दा फराकिलो पराजय भोगेको अर्को खेल सन् १९९४ को हिरोशिमा एसियाली खेलकुद प्रतियोगितामा हो। त्यहाँ पनि दक्षिण कोरियाले नै ११-० गोल गरेको थियो।
बाँकी खेलमा भने १० भन्दा कम गोल खाएको देखिन्छ। त्यसमा विश्वकप छनोट २००२ का निम्ति इराक विरुद्ध ९-१ को हार पर्छ। उक्त खेलका गोलकिपर उपेन्द्रमान सिंह थिए।
बलिया राष्ट्रविरुद्ध खेलिने खेलको सम्झना गर्दै सिँह भन्छन्, "ठूला राष्ट्रसँग खेल्दा घडीको सुई नै अड्के जस्तो हुन्थ्यो। कतिबेला ९० मिनेट पुग्ला भन्ने नै चिन्ता रहन्थ्यो। रक्षापङ्कति र गोलकिपर मात्रै हो व्यस्त हुने त्यो बेला। एकदम गाहो पर्थ्यो।"
सन् २०११ मा जोर्डनविरुद्धको विश्वकप छनोटमा ९-० गोलले बेहोरेको हार भने नेपालले पछिल्लोपटक भोगेको फराकिलो पराजय थियो।
त्यसपछि नेपालले धेरै गोल खाएकै थिएन। कुवेतसँगको पछिल्लो ७-० ले फेरि पुरानो घाउ कोट्याइदिएको छ।
आमने सामने
नेपालका स्वीडिस प्रशिक्षक योहान कालिनले फरक रणनीति लिएर क्यानबेरा मैदानमा उत्रिने जवाफ अस्ट्रेलियाका प्रशिक्षकलाई दिइसकेका छन्।
फेरि चाइनिज ताइपेइलाई उनीहरूकै घरेलु मैदानमा गएर २-० ले हराएपछिको नेपाली टोलीको मनोबल बेग्लै बनिसकेको छ।
अस्ट्रेलियाको टोलीमा इङ्लिस प्रिमियर लिग र जर्मन लिगबाट खेल्ने खेलाडीहरू पनि छन्।
त्यसमा दुईवर्ष लगातार उत्कृष्ट गोलकिपरको उपाधी जितेका इङ्लिस क्लब ब्राइटनबाट खेल्ने गोलकिपर म्याट रायन र त्यही टोलीबाटसँगै खेल्ने मिडफिल्डर आरोन फ्रान्क मोय छन्।
फुलहामबाट खेलिसकेका स्ट्राइकर एडम टागार्ट अस्ट्रेलियाका अर्का बलिया खेलाडी हुन्।
स्ट्राइकर जेमी माक्लारियन स्कटिस प्रिमियरसिप लिगमा खेलिरहेका छन्।
नेपाली खेलाडीहरू युरोपका लिगमा खेलेका छैनन्।
तर टिममा राम्रो पक्ष के छ भने कप्तान गोलकिपर किरण चेम्जोङ निकै अनुभवी खेलाडी हुन्। उनी अहिले भारतको क्लब मिनर्वा पञ्जावमा छन्।
रक्षापङ्कतिका रोहित चन्द इन्डोनेसियाको क्लब एफसी पर्सिजामा गत वर्ष लिगको उत्कृष्ट खेलाडी बनेका थिए।
स्ट्राइकर विमल घर्तीमगर पनि माल्दिभ्समा टीसी स्पोर्ट्स क्लबबाट खेलिरहेकोले नेपाल व्यावसायिक फुटबलको अनुभवविहीन टोली भने पक्कै होइन।
फरक अवस्था
रक्षापङ्कतिका खेलाडी तथा पूर्वकप्तान राजुकाजी शाक्यका अनुसार विगतमा नेपालले फराकिलो पराजय भोगे पनि सबै खेलमा त्यसो भने हुँदैनथ्यो।
उनी भन्छन्, "हो कुनै खेलमा धेरै गोल खाइयो। तर हामीले ठूल्ठूला टोलीहरूलाई पनि धुरुधुरु रुवाएका छौँ। "
उनका अनुसार प्रतिष्ठित मर्डेका कपमा अल्जेरियाको राष्ट्रिय टोलीसँग नेपाल २-० ले मात्र हारेको थियो।
दक्षिण कोरियाको ओलिम्पिक टिमसँग पनि १-० ले हारेको थियो।
सन् १९९८ को ओलिम्पिक छनोटमा जापानका प्रशिक्षकले नेपाललाई १० गोल हान्ने घोषणा पत्रकार सम्मेलनमै गरेका थिए। तर जापानलाई नेपालले ३-० मै रोकेको थियो।
फुटबल विज्ञ सञ्जिव मिश्रका अनुसार नेपालले ठूला राष्ट्रहरूसँग कहिलेकाहीँ मात्र खेल्न अवसर पाउने हुँदा पनि परिणाम फरक पर्न जाने गर्छ।
नेपालले नियमित अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दैन।
त्यसैले ठूला प्रतियोगितामा भएको भेटमा नेपाल सम्हालिन नसक्ने फुटबल विज्ञ मिश्र भन्छन्, "मुख्य कुरा मानसिक रूपमा तयारी नपुग्नु नै हाम्रो समस्या हो। अर्कोतर्फ ठूला देशसँग खेल्ने बानी नहुनुले मानसिकतामा असर पर्न जाने हो।"
तर उनी थप्छन्, "अहिले प्रविधिको विकास भइसकेको छ। विपक्षी खेलाडीको खेल केलाउने मौका छ। त्यसैले विगतमा जस्तै धेरै गोल गर्न भने विपक्षीलाई कठिन नै होला।"
अवसर
ठूला राष्ट्रसँग भेट हुन नेपालले विश्वकप छनोट वा ओलिम्पिक छनोट नै कुर्नुपर्ने अवस्था छ।
पहिले विश्वकप छनोटको खेल तालिकामा नेपालको एसियाको कुनै न कुनै बलियो राष्ट्रसँग भेट हुन्थ्यो।
तर विश्व फुटबल महासंघ फिफाले सन् २००६ को विश्वकपपछि प्ले अफ प्रणाली सुरु गर्यो।
जसअनुसार नेपाल जस्तै फिफा वरीयतामा पछिल्लो स्थानमा रहेका कमजोर राष्ट्रहरू पहिले नै एकअर्कासँग प्ले अफ खेल्ने र जित्ने टोली मात्र दोस्रो चरणमा खेल्न पाउने भयो।
ठूला टोलीसँग भेट नहुने अवस्था बन्यो।
फिफाले सन् २०१० को विश्वकपपछि फेरी नियममा परिवर्तन गर्यो।
नयाँ नियम अनुसार एसियाको ३४ वरीयता भित्र पर्न सफल राष्ट्रले सिधै दोस्रो चरण खेल्ने र बाँकी १२ राष्ट्रबीच प्ले अफ हुने प्रावधान बनेको छ।
नेपाल अहिले एसियाली वरीयतामा ३४ औँ स्थानमा रहेकोले सिधै दोस्रो चरणमा खेलेको हो।
क्यानबेरा भिडन्त
क्यानबेराको जीआइओ रङ्गशालामा बिहिवार नेपाली समर्थकहरू छपक्कै हुने ठानिएको छ।
नेपालीलाई छुट्याएको कम्तीमा १० हजार टिकट विक्री भइसकेको बताइएको छ।
ती दर्शक पनि नेपाली खेलाडीहरूको 'ठूलो भरोसा' हुने निश्चित छ।
सिड्नीको एक हप्ते अभ्यास र त्यहाँ नेपाली समर्थकहरूले दिएको न्यानो माया र समर्थनबीच कतिपय फुटबल विश्लेषक भन्छन् युरोपेली लिगमा खेलिरहेको खेलाडीहरूको टोली अस्ट्रेलिया र दक्षिण एसियामा संघर्ष गरिरहेको नेपाली खेलाडीबीचको 'गोल हान्ने र गोल रोक्ने' प्रतिस्पर्धा जीआइओ मैदानमा निकै रोमाञ्चक हुनेछ।