तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तरकारीको बजारभाउ: दशैँको मुखमा महँगीको मार
प्रत्येक वर्ष चाडबाड आएसँगै महँगी बढेको गुनासो उपभोक्ताहरूको हुने गर्छ।
सरकारले चाडबाडको मुखमा सुपथ मूल्यका बजार राख्ने भए पनि त्यसबाट लक्षित वर्ग लाभान्वित हुन नसकेको बताइन्छ।
तरकारीजस्ता भान्छामा दैनिक चाहिने सामानको भाउ खासगरी दशैँ र तिहारजस्ता चाडमै महँगो हुने गरेको अनुभव उपभोक्ताहरूको छ।
विदेशमा चाडबाडका बेला सामानमा भारी छुट दिने गरिए पनि नेपालमा चाहिँ त्यसको ठ्याक्कै उल्टो हुने गरेको देखिन्छ।
आमउपभोक्ताबाट पछिल्लो समय खासगरी तरकारीको भाउ आकाशिएको गुनासो आइरहेका बेला हामीले काठमाण्डूका केही महिलाहरूसँग त्यसबारे उनीहरूको प्रतिक्रिया लिएका छौँ।
विमला घिमिरे, बागडोल
भाउ त एकदमै आकाशिएको छ। प्याज नै डेढ सय रुपैयाँ पुगेको छ। सर्वसाधारणलाई त मर्का नै पर्नेगरी भाउ महँगिएको छ।
दशैँको मुखमा आएर सबै सामानको भाउ बढिरहेको छ। सर्वसाधारण नै त हो मर्ने।
कर्मचारीहरूको त तलब पनि बढेको छ। अहिलेको सरकार नै त्यस्तै हो कि जस्तो लाग्छ। खै के ले हो यति धेरै महँगी बढेको? सरकारको अनुगमनले पनि खासै प्रभाव परेजस्तो लाग्दैन।
दिलमाया मानन्धर, अनामनगर
धेरै गाह्रो छ। तरकारीदेखि सबैको भाउ बढेको छ। आज कमाएर भोलि खानुपर्नेलाई निकै गाह्रो छ।
बन्दा किने पनि भ्यान्टा किने पनि जे पनि महँगो छ। ठाउँठाउँमा बाटो बिग्रेर गाउँमा उत्पादित तरकारीहरू शहर आउन पाएको छैन।
त्यसले गर्दा गाउँका किसान र शहरका उपभोक्ता मारमा छौँ। बीचका व्यापारीलाई त खासै फरक पर्दैन।
पञ्चमाया मुनिकार, मालीगाउँ
भाउ त एकैनास छँदै छैन। तरकारी पनि केही गतिलो छैन। हरेक वर्ष सामान बढेरै आएको छ। झन् दशैँको मुखमा सामानको भाउ बढाउने नै भए।
पैसा तिरेर पनि राम्रो किन्न पाइँदैन। काउली हेर्यो किन्नै मन नलाग्ने कामै नलाग्ने छ। धनियाँ, साग त कुहिने भइनै हाल्यो।
भारतले तरकारी आउन नदिएर यस्तो महँगी भएको हो कि जस्तो लाग्छ। सामानको मूल्य राम्रो होस्, सामान पनि राम्रो होस्।
मलाई त सरकारले देखावटी गरेजस्तो लाग्छ। अनुगमन गरेपछि त राम्रोसँग गर्नु। कसैको राम्रै तरकारी फालेको देखिन्छ। कसैको हेर्नै नहुने पनि बेचेका हुन्छन्।
रमिला श्रेष्ठ, सीतापाइला
तरकारीको भाउ त धेरै नै बढेको छ। हामीलाई पनि गाह्रो छ र किसानलाई पनि गाह्रै छ। व्यापारीलाई त फाइदा नै छ।
अहिले पानी परिरहेकोले जाममा फस्यो अनि तरकारी कुहिएर पनि होला।
ज्ञानी महर्जन, पाटन
धेरै महङ्गो छ। प्याज, आलु सबै महँगो छ। भारतबाट आउन नपाएर हो कि अथवा दशैँ आएर हो कि।
कमाइ नभएकालाई त धेरै नै समस्या छ नि। अनुगमन त सरकारले गर्नुपर्ने हो। तर गरेका छैनन्।