ट्रम्प महाभियोग: 'ह्वाइट हाउसले ट्रम्प र विदेशी नेताबीच भएको फोनवार्ताको विवरण नियमित प्रणालीमा राखेको छैन'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्य राष्ट्रका नेताहरूसँग गरेको फोनवार्ताको टिपोटमा ह्वाइट हाउसले पहुँच कटौती गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

अधिकारीहरूका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानजस्ता नेतासँग ट्रम्पले फोनमा गरेको कुराकानीको विवरण नियमित तरिकाले राखिएको छैन।

उनीहरूका अनुसार सूचना नचुहियोस् भनेर ट्रम्पका सहयोगीहरूले ती टिपोटहरू जसले पायो त्यसले हेर्न नमिल्नेगरी राखेका छन्।

युक्रेनका राष्ट्रपतिसँग ट्रम्पले गरेको कुराकानी आपत्तिजनक भएको भन्दै उजुरी परेपछि विपक्षी डेमक्र्याटिक दलले ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरिसकेको छ।

त्यसपछि सार्वजनिक भएका यी दाबीबारे ह्वाइट हाउसले कुनै टिप्पणी गरेको छैन।

आगामी राष्ट्रपतीय निर्वाचनमा डेमक्र्याटिक दलबाट उम्मेदवार बन्ने अनुमान गरिएका जो बाइडनविरुद्ध ट्रम्पले युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिएको आरोप लागेको छ। ह्वाइट हाउसले पछि सार्वजनिक गरेको वार्ताको लिखित प्रतिलिपिमा त्यसलाई पुष्टि गर्ने आधार देखिएको छ।

डेमक्र्याटिक सांसदहरूले ट्रम्पविरुद्ध संसदीय समितिमै अनुसन्धान सुरु गराएका छन्।

ह्वाइट हाउसले शुक्रवार उक्त फोनवार्ताको टिपोट अतिगोप्य सूचना भएकाले छुट्टै प्रणालीमा राखिएको पुष्टि गरेको थियो।

फोनवार्ताको विवरण कहाँ छ?

विभिन्न अमेरिकी सञ्चारमाध्यमले उद्धृत गरेका अधिकारीहरूका अनुसार राष्ट्रपतिले विदेशी नेताहरूसँग गरेका केही फोनवार्ताको टिपोट हेर्न नदिने नीति एक वर्षभन्दा अघिदेखि सुरु भएको हो।

सन् २०१७ मा ट्रम्प र अस्ट्रेलियाका तात्कालिक प्रधानमन्त्री माल्कम टर्नबुलबीच भएको संवाद सार्वजनिक भएपछि नेताहरूको वार्ताको विवरण चुहिन नदिन ह्वाइट हाउटका अधिकारीहरूले त्यस्तो निर्णय गरेका थिए।

रुसका विदेशमन्त्रीसँग भएको कुराकानीको विवरण पनि समाचारमा आएपछि झन् कडाइ गरियो।

त्यसपछि फोनवार्ताको टिपोटको प्रतिलिपि दिइने व्यक्तिको सङ्ख्या पनि घटाइयो तथा केही फोनवार्ताका विवरणहरू गोप्य सूचना भण्डारण गर्ने विशेष प्रणालीमा छुट्टै राख्न थालियो।

उक्त प्रणाली विदेशमा गरिने गुप्तचरी र गुप्त अभियानबारे सूचना राख्न छुट्याइएको हो। नियमित प्रणालीमा जस्तो त्यसमा न्याश्नल सिक्युरिटी काउन्सिलका अधिकारीहरूको पहुँच हुँदैन।

उदाहरणका लागि - राष्ट्रपतिको फोनवार्ताको टिपोटको प्रतिलिपि प्राय: हेर्न पाउने सहयोगी र अधिकारीहरूले ट्रम्प र साउदी युवराज तथा साउदी राजपरिवारका अन्य सदस्यबीच के कुरा भएको थियो त्यसको विवरण हेर्न पाएनन्।

न्यूयोर्क टाइम्सका अनुसार साउदी पत्रकार जमाल खशोग्जीको गत वर्ष हत्या भएपछि साउदी युवराजले ट्रम्पलाई फोन गरेका थिए। एक अधिकारीले उक्त पत्रिकालाई राष्ट्रपति अनुचित काममा संलग्न भएको कुनै प्रमाण नभएको बताएका थिए।

रुसी राष्ट्रपति पुटिनसँग भएको कम्तीमा एउटा फोनवार्ताको टिपोट पनि सामान्य प्रणालीमा राखिएको छैन।

तर ती फोनका टिपोटहरू विशेष प्रणालीमा राखिएको छ कि छैन भन्ने स्पष्ट छैन।

महाभियोग छानबिन के हो?

जुलाई २५ मा भएको ट्रम्प-जेलोन्स्की संवादबारे संसदीय समितिले छानबिन गर्दैछ।

गत महिना दर्ता गरिएको एउटा उजुरीमा अमेरिकी गुप्तचर निकायभित्रकै एक गोप्य सूचनादाताले राष्ट्रपतिले आफ्नो पदीय शक्ति प्रयोग गरेर सन् २०२० को निर्वाचनमा विदेशी हस्तक्षेप निम्त्याएको बेहोरा उल्लेख गरेका थिए। त्यसैले यो अतिमहत्त्वको विषय भएको उनको दाबी थियो।

ट्रम्प-जेलोन्स्की संवादबारे ह्वाइट हाउसले सार्वजनिक गरेको टिपोटको खेस्रामा ट्रम्पले नवनियुक्त युक्रेनी राष्ट्रपतिलाई जो बाइडन र उनका छोरा हन्टर बाइडनविरुद्ध लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न आग्रह गरेको देखिन्छ।

जुलाईमा ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता रोकिदिएका थिए। त्यही बेला उनले युक्रेनी समकक्षीसँग बाइडन बावुछोरासँग सम्बन्धित कुरा गरे।

तर उनले युक्रेनलाई दबाव दिन त्यसो नगरेको दाबी गरेका छन्।

डेमक्र्याटहरूले ट्रम्पले बाइडनलाई बदनाम गर्न अवैधानिक रूपमा विदेशी सहयोग लिन खोजेको आरोप लगाएका छन्। जो बाइडन राष्ट्रपति निर्वाचनमा डेमक्र्याटिक दलका तर्फबाट उम्मेदवारहरूको अग्रपङ्क्तिमा छन्।

राष्ट्रपति ट्रम्पले कुनै गलत काम नगरेको भन्दै आफूविरुद्ध लगाइएका आरोपहरू "जाली" भएको दाबी गरेका छन्। उनले तिनलाई "आफूलाई हतोत्साहित बनाउने दुराशय" को सङ्ज्ञा दिएका छन्।

शुक्रवार संसदीय समितिहरूले विदेशमन्त्री माइक पोम्पिओलाई सरकारले युक्रेनसम्बन्धी विषय र दस्ताबेजको विषयमा आफैँ उपस्थित भएर जानकारी दिन निर्देशन दिएका छन्।

सोही दिन युक्रेनका लागि अमेरिकाका विशेषदूत कर्ट भोल्करले राजीनामा दिएका छन्।

अब के हुन्छ?

अमेरिकी संविधानअनुसार "देशद्रोह, घुसखोरी वा अन्य ठूला अपराध र मिस्डिमीनर भनिने अलि कम गम्भीर प्रकृतिको अपराधमा" राष्ट्रपतिलाई महाभियोग लगाउन मिल्छ।

संसद्का दुवै सदनबाट महाभियोग पारित भए राष्ट्रपति पदमुक्त हुन्छन्।

कङ्ग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुन: निर्वाचित हुन खोजेका हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित हुनेछ।

तल्लो सदनकी डेमक्रयाटिक नेत्री तथा सभामुख न्यान्सी पेलोसीले ट्रम्पले गरेको काम पदीय गरिमाको उल्लङ्घन भएको भन्दै भनिनन्, "कानुनभन्दा माथि कोही पनि छैन।"