खशोग्जी: 'क्रुर हत्या वाशिङटनले सहँदैन'

अमेरिकी रक्षामन्त्रीले साउदी पत्रकार जमाल खशोग्जीको इस्तानबुलस्थित वाणिज्य दूतावासमा 'क्रुर हत्या भएको भन्दै त्यसलाई वाशिङटनले नसहने' बताएका छन्।

साउदी विदेशमन्त्रीले भने पश्चिमा सञ्चारमाध्यमहरूले 'आवेगमा आएर अनुसन्धान नै नसकी आरोप लगाएको' बताएका छन्।

साउदी अरेबियाका विदेशमन्त्रीले साउदी पत्रकार जमाल खशोग्जीको हत्याका सन्दिग्धहरूविरुद्ध मुद्दाको अभियोजन साउदी अरेबियामै गरिने बताएका छन्।

एउटा सम्मेलनमा विदेशमन्त्री ‍आदिल अल-जुबैरले उक्त मुद्दाबारे समाचार लेख्दा पश्चिमा सञ्चारमाध्यमहरू आवेगमा आएर लेखेको भनी आरोप लगाएका छन्।

टिप्पणी

टर्कीले हत्यामा संलग्न भएका १८ साउदी नागरिकलाई सुपुर्दगी गर्न चाहेको बताएको भोलिपल्ट उनको यस्तो टिप्पणी आएको हो।

साउदी पत्रकार खशोग्जीको इस्तानबुलस्थित महावाणिज्य दूतावासमा तीन हप्ताअघि हत्या गरिएको थियो।

रियादले भने खशोग्जीको हत्यामा सत्तारुढ राजपरिवारको संलग्नतालाई अस्वीकार गरेको छ र हत्या 'छाडा एजेन्टहरूले गरेको' आरोप लगाउँदै आएको छ।

साउदी अरेबियाले शुरूमा खशोग्जी बेपत्ता भएकोबारे आफूलाई केही थाहा नभएको भन्दै त्यसबारे बोलेको थिएन।

तर साउदी सरकारी अभियोजनकर्ताहरूले अहिले उक्त हत्यालाई पूर्वनियोजित भनी व्याख्या गरेका छन्।

अभियोजन

खशोग्जी साउदी सरकारका कटु आलोचक थिए।

सुरक्षासम्बन्धी एउटा सम्मेलनमा बोल्दै साउदी विदेशमन्त्रीले भने, "सुपुर्दुगीसम्बन्धी मामिलाका बारेमा भन्नुपर्दा ती सबै साउदी नागरिक हुन्। उनीहरू साउदी अरेबियामा थुनामा छन् र अनुसन्धान पनि साउदीमै भइरहेको छ र तिनीहरूमाथि मुद्दाको अभियोजन पनि साउदीमै हुनेछ।"

टर्की र साउदी अरेबियाबीच सुपुर्दगीसम्बन्धी सन्धि नभएको थाहा हुन आएको छ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले कूटनीतिक स्थलमा खशोग्जीको हत्या हुनुले सबैलाई चिन्तित बनाउनुपर्ने बताएका छन्।

हिंसामार्फत् पत्रकार खशोग्जीलाई चुप लगाउन गरिएको यस किसिमको क्रुर कदमलाई अमेरिकाले नसहने पनि उनले बताएका छन्।