फुटबल प्रशिक्षकको राजीनामा: चेतनारायणको नजरमा यु-१८ फुटबलमा चुक भएका क्षेत्र

यसअघि लगातार दुई संस्करणमा च्याम्पियन बनेको १८ वर्ष मुनिको राष्ट्रिय फुटबल टोली अहिले काठमान्डूमा भइरहेको दक्षिण एशियाली फुटबल च्याम्पियनशिपको समूह चरणबाटै बाहिरियो।

आफ्नै भूमिमा तेस्रो उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य अनपेक्षित हारमा बदलिएपछि टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिए।

राजीनामा दिने क्रममा उनले भने, " हारको सम्पूर्ण जिम्मा म लिन्छु। नैतिकताको आधारमा म पदमा बसिरहन मिल्दैन। यो एउटा परम्पराको थालनी समेत हो। अरूले यसबाट पाठ सिकून्।"

मुख्य प्रशिक्षक श्रेष्ठको अनुसरण गर्दै सहायक प्रशिक्षक सनोज श्रेष्ठ र गोलकीपर प्रशिक्षक छन्नुराम चौधरीले पनि राजीनामा दिएका छन्।

धेरैको भनाईमा यो अभ्याससँग नेपाली खेलकुद अभ्यस्त हुनै सकेको छैन।

हारको जिम्मा लिएर राजीनामा दिएको कम्तिमा नेपालको फुटबलको इतिहासमा भेटिँदैन।

विगत

नेपालमा नैतिकताको आधारमा राजीनामा दिएको सबैभन्दा ठूलो उदाहरण २०४५ सालमा दशरथ रङ्गशालामा भएको हावाहुरी काण्डको बेलाको प्रकरणलाई मानिन्छ।

प्रतियोगिताको दौरान हावाहुरी चलेपछि भएको भागदौडको क्रममा ७३ जना दर्शकले ज्यान गुमाएपछि तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव शरदचन्द्र शाह र फुटबल सङ्घका अध्यक्ष कमल थापाले राजीनामा दिएका थिए।

नैतिकताको यो घटना खेलकुदमा मात्र होइन, नेपालको अरू क्षेत्रका लागि उदाहरण मानिन्छ।

तर जिम्मेवारी लिने र राजीनामा दिने खेलकुदको अन्तर्राष्ट्रिय प्रचलनले नेपालमा भने छोएको देखिएन।

त्यो फुटबलमा मात्र होइन, अन्य खेलमा पनि व्याप्त रहेको बताइन्छ।

प्राय: खेलमा प्रशिक्षकहरू ओलिम्पिक, एशियाली वा दक्षिण एशियाली खेलकुद प्रतियोगिताका बेला प्रशिक्षक बन्न हानथाप गर्छन्।

तर खेल सकिएपछि परिणामको जिम्मा लिनबाट पन्छिने गर्छन्।

चेतनारायण: अब्बल स्ट्राइकर

आफ्नो समयका अब्बल स्ट्राइकर चेतनारायण श्रेष्ठले सन् १९९३ देखि १९९८ सम्म ६ वर्ष राष्ट्रिय टोलीबाट खेले।

उनी राजु शाक्य, मणि शाह, उपेन्द्रमान सिंह, बालगोपाल महर्जनका समकक्षी हुन् ।

आरसीटी, जनकपुर चुरोट कारखाना, आरएनएसी, एनआरटी, मनाङ मर्स्याङदी, थ्री स्टार हुँदै उनले नक्साल क्लबबाट खेले। विश्रामपछि उनले आफ्नो फुटबल यात्रा प्रशिक्षकका रूपमा थालेका हुन्।

बालगोपाल महर्जन र श्रेष्ठले एएफसी फ्युचर कोचेज कोर्ष अन्तर्गत दक्षिण कोरिया, उज्वेकिस्तान र मलेसियामा सन् २००७ देखि दुई वर्ष सँगै प्रशिक्षण लिएका थिए। सन् २०१६ मा उनले 'ए' लाइसेन्स प्राप्त गरे।

यस क्रममा उनले संकटा, स्वयम्भु र जावलाखेल युथ क्लबमा प्रशिक्षकको जिम्मेवारी सम्हाले। तर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षक बन्ने अवसर भने पाउन सकेनन्।

त्यसको कारण बारे श्रेष्ठ भन्छन् , " एन्फाले प्रशिक्षकहरुलाई समान मासिक तलब दिएन। अनि मैले तलबमा हस्ताक्षर गर्न मानिन्। त्यसपछि कसरी कसरी पछि परेँ परेँ।"

समकक्षी बालगोपाल महर्जनले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा भूमिका पाँउदा श्रेष्ठ छायामा परिसकेका थिए।

यसबीचमा श्रेष्ठले जम्मा दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी पाए। एउटा गतवर्ष यु-१८ टोली लिएर भारतको आगरामा तथा पाँच महिना अगाडि भारतकै आसाममा भएको यु- २१ टोलीको नेतृत्व उनले गर्न पाए। जारी प्रतियोगिता उनले पाएको ठूलो अवसर हो।

कहाँ चुक भयो

नेपाल समुह 'ए' मा माल्दिभ्स र भुटानसँग थियो।

माल्दिभ्ससँगको पहिलो खेल १-१ गोलको बराबरी टुङ्गिएपछि भुटानसँगको दोस्रो खेल जित्नै पर्ने दबाव नेपाली युवा टोलीमाथि पर्‍यो। तर सो खेल ३-० ले पराजित भएपछि नेपाल समुह चरण पार गर्न सकेन।

यसअघि नेपालले सन् २०१७ र २०१५ को दुवै संस्करण जितेको थियो।

प्रशिक्षक श्रेष्ठका अनुसार खेल हार्नु पछाडि धेरै कारणहरू मिसिएका छन्।

खेलाडीहरूले नराम्रो खेलेका होइनन्, तर गोल गर्ने मामिलामा उनीहरू अलमलिएको धेरैले महसुस गरे।

त्यसमा पहिलो कारण खेलाडीहरुले 'म्याच एक्सपोजर' नपाउनु रहेको श्रेष्ठ बताउछन्।

टोलीले घरेलु क्लब सशस्त्र प्रहरी, नेपाल पुलिस, पोखराको कास्की ११ र आदर्श युवा क्लबसँग मात्र अभ्यास खेल खेल्ने मौका पाएको थियो। जुन टोलीको लागि यथेष्ट भएन।

श्रेष्ठ भन्छन् , " थाइल्याण्डमा गएर दुई खेल खेल्ने सम्पूर्ण प्रक्रिया पूरा भइसकेको थियो। तर एन्फाले अन्तिममा त्यो रद्द गर्‍यो। यो प्रतियोगिता जितेपछि पठाउँला भन्ने कुरा भयो। आखिर खेलमा त्यो पाटो खस्किएको देखियो। "

उनका अनुसार खेलाडीहरूको अति आत्मविश्वास अर्को कारण हो। भन्छन्, "भुटानलाई धेरै गोलले जित्नुपर्छ भन्ने मानसिकता खेलाडीहरूमा देखियो। तर पहिलो गोल खाएपछि परिस्थिति फेरियो। दबावको यस्तो खेलमा प्राय पहिलो गोल खाएपछि युवा खेलाडीहरू सम्हालिन गाह्रो हुने गर्छ।"

उनको अर्को कारण यस्तो छ। भन्छन्, " तर्कले प्रमाणित गर्न सकिन्न। किनकि मैदान दुवै टोलीको लागि बराबर हो। तर पानीले मैदान हिल्लाम्मे हुँदा हाम्रा खेलाडीहरूले बलमा नियन्त्रण गुमाएकै हो। मेरा खेलाडी त्यति खराब खेल्ने टोली पनि थिएन।"

खेलाडीको असफलताको एउटा अनौठो तर्कबारे पनि चर्चा हुन थालेको छ।

गत संस्करणमा उपाधि जितेको टोलीलाई एन्फाले जनही २ लाख रुपैयाँ दिने घोषणा गर्‍यो। तर अहिलेसम्म त्यो वितरण गरिएको छैन। एकजना फुटबल अधिकारी भन्छन् ," शायद खेलाडीको हौसला नबढ्नुको त्यो अप्रत्यक्ष कारण हो कि?"

नेपालको यही युवा टोली आगामी नोभेम्बर ६ देखि इरानमा हुने एसियन कप खेल्न जाँदैछन्। प्रशिक्षकले राजीनामा दिइसकेकोले त्यो पदमा अर्को प्रशिक्षक नियुक्त गरिसकेको छैन।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार प्रशिक्षकले राजीनामा दिएको अवस्थामा तत्काल सहायक प्रशिक्षकले टोली सम्हाल्ने गर्छ। किनकि खेलाडीको बारेमा उनी बढी ज्ञानी हुन्छ। तर दुवैले राजीनामा दिएकोले छोटो समयमा युवा टोलीलाई नयाँ प्रशिक्षकले हेर्नुपर्ने अवस्था छ।