ब्याङ्किङ प्रणाली ह्याक गरी पैसा चोर्ने व्यक्ति भारतमा रहेको आशङ्का

तस्बिर स्रोत, Getty Images
कृषि विकास ब्याङ्कमा रहेको खाताबाट प्रणालीमा अनधिकृत पहुँच वा ह्याक गरेर झन्डै पाँच करोड रुपैयाँ ट्रान्सफर गराएको घटनाका योजनाकार भारतमा रहेको आशङ्कमा प्रहरीले भारतीय प्रहरीको सहयोगमा अनुसन्धान अघि बढाउने जनाएको छ।
नेपालभित्र सो ब्याङ्कमा खाता भएका वा खाता खोल्न लगाएर एक दर्जन एजेन्ट खडा गरिएको उसको भनाई छ।
प्रहरीका अनुसार तिनलाई १५ देखि ३५ प्रतिशत कमिसन दिएर पाँच अर्ब रुपैयाँसम्म चोर्न खोजिएको खुलेको छ।
ती चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
अनुसन्धान
केही साताअघि चिनियाँ ह्याकरहरूले नेपाली ब्याङ्कका एटीएम कार्ड ह्याक गरेर करिब डेढ करोड चोरेका विवरण आएका थिए।
अहिलेको घटनामा भने ब्याङ्कको प्रणालीमा ह्याक गरेर आफ्ना एजेन्टको खातामा रकम ट्रान्सफर गराएको छ।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापा भन्छन्: "योजनाकार अफ्रिकी मुलको पिटर भनेर यिनीहरूको कुराकानी भएको देखिन्छ। ती व्यक्ति अहिले भारतमा छन् भन्ने कुरा आएको छ।"
"त्यहाँबाट झिकिएको पैसा पनि भारतमै हुण्डी गरेर पठाएको देखिन्छ। अब त्यो पिटर भन्ने व्यक्ति को हुन् भनेर हाम्रो अनुसन्धान जारी छ।"
प्रहरीका अनुसार भारतमा रहेको ठानिएका ती योजनाकारले सन्देशहरू आदानप्रदार गर्ने एपहरू ह्वाट्सएप तथा वीच्याटमा आफ्ना एजेन्टहरूसँग कुराकानी गरेका थिए।
जसमा पाँच अर्ब रुपैयाँसम्म चोर्ने योजना खुलेको बताइएको छ।
जसमध्ये झण्डै पाँच करोड रूपैयाँ एजेन्टहरूको खाता ट्रान्सफर भइसकेको र त्योमध्ये ७० लाख रुपैयाँ खाताबाट पनि झिकिएको छ।
जसक्रममै सुइँको पाइसकेको हुँदा त्योमध्ये ६० लाख प्रहरीले बरामद गरिसकेको एसएसपी थापाले बताए। बाँकी १० लाख चाहिँ भारत पठाइएको पाइएको छ।
'प्रयोगकर्ता सचेत हुनुपर्छ'
यो चोरीको प्रकृति हेर्दा को-कसको मिलेमतो देखिन्छ त?
एसएसपी थापा भन्छन्: "त्यो प्रणाली ह्याक गर्नको लागि प्रयोगकर्ताको आइडि, आइपी एड्रेस हुन्छ। त्यो त्यहाँको मुख्य कर्मचारीले दिएको हुनुपर्छ कि उसको प्रणालीमा पहुँच हुने बाटो ह्याक भएको हुनुपर्छ। त्यसबारे अनुसन्धान गरिरहेक छौँ।"
"कृषि विकास बैंक र हाम्रो आइटी विशेषज्ञहरू र आवश्यकता अनुसार कुनै विशेषज्ञ लिएर पनि त्यो अनुसन्धान गर्छौं।"
पछिल्लो घटनाक्रम यस्तो थियो:
- लहानस्थित कृषि विकास ब्याङ्कको शाखाको कम्प्युटर प्रयोग भएको छ
- सौराहाबाट युजर आइडी प्रयोग गरिएको छ
- कारोबार भने लाहान र नुवाकोटको शाखाबाट भएको छ
केही समययता नेपालको ब्याङ्क तथा वित्तीय संस्थाहरू ह्याकरहरूको निसानामा लगातार पर्दै आएको बेला सूचना प्रविधिसम्बन्धी विज्ञहरूले चाहिँ आम सर्वसाधारणलाई आफ्नै तर्फबाट पनि सजग रहन सुझाव दिएका छन्।
साइबर सुरक्षाका एकजना जानकार विजय लिम्बुका अनुसार प्रयोगकर्ताले सावधानी नअपनाउनुले नेपालमा साइबर सुरक्षा जोखिमलाई धेरै नै बढाएको छ।
प्रयोगकर्ताले साधारण सावधानी आफैँ अपनाउनुपर्ने उनले बताए।
"कसैले फोन गरेर माग्छ कसैले इमेल गरेर माग्छ। त्यस्तो आफ्नो गोप्य सूचनाहरू, फोन नम्बर, पासपोर्ट नम्बर, नागरिकता नम्बर अनलाईनमार्फत् आधिकारिक रुपमा नआउँदासम्म शेअर गर्न हुँदैन," लिम्बु भन्छन्।
देशभित्रका ब्याङ्कहरू विदेशका संगठित ह्याकरहरूको निसानामा पर्न थालेको देखिएका बेला अब उनीहरूले विश्वस्तरीय सुरक्षा उपाय अपनाउनुको विकल्प नरहेको कतिपयले ठानेका छन्।








