कृषि विकास ब्याङ्कबाट भएको चोरीबारे हामीलाई अहिलेसम्म के थाहा छ
चिनियाँ ह्याकरहरूले नेपालको ब्याङ्किङ प्रणालीमा आक्रमण गरी एटीएमबाट पैसा चोरेको तीन हप्तापछि नेपाली ब्याङ्कमा अर्को ठूलो चोरी गरिएको घटना सार्वजनिक भएको छ।

तस्बिर स्रोत, Getty Images
काठमाण्डूस्थित कृषि विकास ब्याङ्कको प्रधान कार्यालयका प्रवक्ता हिमलाल पौडेलका अनुसार ब्याङ्कको लहान शाखाबाट सुरु भई "दुई करोडको हाराहारीमा" रकम झिकिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
"यो रकम केही थपघट पनि हुन सक्छ। सात-आठ जनाको खाता प्रयोग गरिएको देखिन्छ," बुधवार बिहान बीबीसी नेपालीसँग कुरा गर्दै पौडेलले भने।
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले घटनाको पुष्टि गर्दै त्यसबारे अनुसन्धान भइरहेको बताए।
प्रहरीले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने बताएको छ।

कृषि विकास ब्याङ्क के भन्छ?
हिमलाल पौडेल, प्रवक्ता
घटनाबारे हामीले मङ्गलवार थाहा पाएका हौँ। पासवर्ड नै ह्याक गरेर रकम चलाइएको देखिन्छ।
त्यसबारे थाहा पाएपछि हामीले काठमाण्डूबाटै हेरेर पैसा सारिएका खाताहरू रोक्का गर्यौँ।
रोक्का गरिएपछि पैसा झिक्न गएका मानिसहरू पक्राउ परेका हुन्। अहिलेसम्म तीन जना पक्राउ परिसकेका छन्।
पैसा निकाल्ने क्रममा तीनै जना घटनास्थलमै पक्राउ परेका हुन्। उनीहरूलाई काठमाण्डूको न्यूरोड, कैलालीको भजिनी र अर्को त्रिशूलीबाट पक्राउ गरिएको हो।
सूचना प्रविधिविज्ञसहित केन्द्रीय कार्यालयबाट टोली लहान गइसकेको छ।
प्रारम्भिक अनुसन्धानबाट पासवर्डकै दुरुपयोग गरी पैसा चलाइएको देखिएको छ।
दुई करोडको हाराहारीमा रकम चलाइएको देखिन्छ। त्यो थपघट पनि हुन सक्छ।
एकै ठाउँबाट रकम निकाल्दा शङ्का गर्लान् भनेर ठाउँठाउँमा गएर पैसा निकाल्ने प्रयास गरिएको देखिन्छ।
पहिला (तीन हप्ताअघि) को घटनामा पूरै प्रणाली ह्याक गरेको देखियो भने अहिले पासवर्ड ह्याक गरेको देखिन्छ।
नेपाल राष्ट्र ब्याङ्क के भन्छ?
लक्ष्मीप्रपन्न निरौला, प्रवक्ता
प्रारम्भिक अनुमानअनुसार दुई करोड रुपैयाँ जति चोरिएको देखिन्छ।
घटनाबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि ठ्याक्कै ककसको संलग्नता छ भन्ने थाहा होला।
तर प्रारम्भिक अनुसन्धानबाट ब्याङ्कभित्रकै [कर्मचारीको] संलग्नता हुन सक्ने देखिन्छ।
लहान प्रहरीका अनुसार सुरुमा लहानस्थित ब्याङ्कको शाखाका शाखा अधिकृत सुनिल साह र ऋण अधिकृत डम्बरकुमार केसीको पासवर्ड ह्याक गरी रकम सारिएको देखिन्छ।
पासवर्ड ह्याक गरी मोबाइल ब्याङ्किङमार्फत् रकम सारिएको एक प्रहरी अधिकारीले बताए।

तस्बिर स्रोत, Reuters
महानगरीय प्रहरी अपराध महाशाखा के भन्छ?
सहकुल थापा, वरिष्ठ प्रहरी उपरीक्षक
घटनाबारे अनुसन्धान गरिरहेको काठमाण्डूको टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखाले लहानस्थित स्थानीय प्रहरीलाई समेत विस्तृत जानकारी दिएको छैन।
उसले आज दिउँसो पत्रकार सम्मेलन गरी पछिल्लो चोरी प्रकरणबारे जानकारी गराउने तयारी गरेको छ।
महाशाखास्थित वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भने, "हामीले २ बजे पत्रकार सम्मेलन गर्दैछौँ। सबै कुरा त्यहाँबाट आउँछ।"
थापाले अहिले नै सबै विवरण बताइदिए पत्रकार सम्मेलनको अर्थ नहुने भन्दै अनुसन्धान पूरा नहुँदै कुरा चुहिएकोले पत्रकार सम्मेलन गर्न लागिएको बताए।

यो चोरी प्रकरणसँगै नेपालमा ब्याङ्किङ प्रणालीको सुरक्षामाथि फेरि प्रश्न उठेको छ।
यद्यपि कृषि विकास ब्याङ्कका प्रवक्ता पौडेल यो घटनालाई लिएर समग्र प्रणालीमाथि प्रश्न गर्ने अवस्था नरहेको बताउँछन्।
उनी भन्छन्, "यसमा समग्र प्रणालीमाथि प्रश्नभन्दा पनि पासवर्डलाई सुरक्षित राख्न नसक्दा घटना हुन गएको कुरा प्रमुख छ।"
यसअघिको घटनापछि नेपाल राष्ट्र ब्याङ्कले त्यसबाट सर्वसाधारणलाई असर नपर्ने भन्दै "ढुक्कसँग ब्याङ्किङ कारोबार गर्न" आग्रह गरेको थियो।











