सन्दीप लामिछाने: उत्कृष्ट बलिङ गरे पनि ब्याट नचल्दा बार्बेडस ट्राइडन्ट्स पराजित

क्यारिबिअन प्रीमीअर लीग (सीपीएल) अन्तर्गत मङ्गलवार सम्पन्न खेलमा नेपालका सन्दीप लामिछानेलाई आफ्नो क्लब बार्बेडस ट्राइडन्ट्सलाई जिताउने एउटा अवसर थियो।

तर राम्रो बलिङ गरेका उनले ब्याटिङको क्रममा अन्तिम दुई बलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा जमाइका ट्यालवासविरुद्ध भएको खेलमा बार्बेडस ट्राइडन्ट्स पाँच रनले पराजित भयो।

पहिले बलिङ गरेको बार्बेडस ट्राइडन्ट्सका तर्फबाट लामिछानेले चार ओभर बल गर्दै १७ रन खर्चेका थिए। प्रतिओभर ४.२५ रन दिएका उनी आफ्नो टोलीका लागि किफायती बलर बने।

विपक्षी खेलाडीहरूले उनीविरुद्ध चौका वा छक्का प्रहार गर्न सकेनन्।

लामिछानेको उत्कृष्ट बलिङका कारण ट्राइडन्ट्सले जमाइका ट्यालवासलाई १२७ रनमा सीमित पारेको थियो। उनले विपक्षी टोलीका कप्तानलाई १३ रनमा र अर्का खेलाडीलाई एक रनमा आउट गरेका थिए।

लामिछानेबाहेक अरू दुई बलरले पनि दुई-दुई विकेट र तीन जनाले एक-एक विकेट लिएका थिए।

एक सय २८ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको लामिछानेको टोलीले १२२ रन मात्र बनाउन सक्यो।

लेग स्पिनरका रूपमा टोलीमा समाविष्ट लामिछाने बार्बेडस ट्राइडन्ट्सले ब्याटिङ गर्दा १७.१ ओभरमा मैदानमा प्रवेश गरेका थिए।

कुल आठ बल सामना गर्दै उनले नौ रन बनाए। त्यसमा एउटा चौका पनि थियो।

अन्तिम दुई बलमा छ रन चाहिएको अवस्थामा लामिछाने स्ट्राइकमा थिए। तर उनको ब्याटले बल छुनै सकेन र टोलीलाई जिताउने अवसरबाट उनी चुके।

ईएसपीएन क्रिक इन्फोका अनुसार लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म छक्का प्रहार गरेका छैनन्।

अङ्कतालिकामा हाल बार्बेडस ट्राइडन्ट्सले चौथो स्थानमा छ। कुल छ खेल खेलेको उक्त टोलीले दुईमा जित हात पारेको छ।

क्यारिबिअन प्रीमीयर लीगमा छवटा टोली सहभागी छन्।

लामिछानेको क्रिकेट यात्रा

विश्वका ठूला व्यावसायिक क्रिकेट लीगमा खेलेर चर्चा बटुलेका नेपाली खेलाडी लामिछानेलाई सीपीएलको खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा गत मे महिनामा महँगो मूल्यमा सकारिएको थियो।

उनलाई बार्बेडस ट्राइडन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा सकारेको जनाइएको छ। त्यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो।

उनी गत वर्ष पनि सीपीएलमा सहभागी भएका थिए।

उनलाई पाँच हजार डलरमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सले सकारेको थियो। आफ्नो टोलीका लागि उनले पाँच खेलमा सात विकेट लिएका थिए।

वेस्ट इन्डीजमा अगस्ट २१ मा सुरु भएको सीपीएलको यो सीजन सेप्टेम्बर २७ सम्म चल्नेछ।

उन्नाइस वर्षीय लामिछानेले अहिलेसम्म भारत, क्यारिबिअन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्।