इरानः महिलालाई फुटबल प्रतियोगिता हेर्न 'अनुमति दिइने'

विश्व फुटबलको प्रशासनिक निकाय फिफाले इरानमा महिलालाई फुटबल प्रतियोगिता हेर्न 'अनुमति पाउने' जनाएको छ।

आगामी महिनादेखि हुने विश्वकप छनोट खेलबाट त्यसको शुरूवात हुनेछ।

फिफाका अध्यक्ष जानी इन्फान्टिनोले यसै महिनाको शुरूतिर एक महिला फुटबल प्रशंसकको मृत्यु भएपछि महिला सहभागिताबारे इरानी अधिकारीहरूसँग कुरा गरेको बताएका हुन्।

इरानी अधिकारीहरूले महिलालाई फुटबल प्रतियोगिता हेर्न अनुमति दिने कुरामा आफूलाई आश्वस्त पारेको अध्यक्ष इन्फान्टिनोले बताए।

प्रतिबन्ध

इरानमा महिलाहरूलाई रङ्गशाला जान प्रतिबन्ध लगाइएको छ जहाँ पुरुषहरूले सन् १९७९ को इस्लामिक क्रान्तिपछि बल्ल फुटबल खेल्न थालेका हुन्।

पुरुषको भेषमा एउटा प्रतियोगिता हेर्न खोजेकी एक महिला प्रशंसक सहर खोदायारीलाई प्रहरीले पक्राउ गरेको थियो।

'ब्लू गर्ल' नामले परिचित खोदायारीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै आफू जेल जान सक्ने डर थियो।

उनको मन पर्ने टिमको रङ्ग नीलो भएकोले खोदायारीलाई 'ब्लू गर्ल' भन्ने गरिन्थ्यो।

पक्राउ परेपछि अदालत परिसरबाहिर जिउमा आगो लगाएकी खोदायारीको एक हप्तापछि अस्पतालमा मृत्यु भयो।

उनको मृत्युको घटनाले इरानभित्र र बाहिर व्यापक आक्रोश निम्त्यायो। विश्वभरिका फुटबल खेलाडी र प्रशंसकले उनीप्रति सम्मान दर्शाइरहेका छन्।

उनको सम्झनामा केही युरोपेली महिला टोलीका खेलाडीहरूले प्रतियोगिताका क्रममा पाखुरामा नीलो पट्टी बाँध्ने गरेका छन्।

घटनापछि फिफाले समेत व्यापक आलोचना खेपिरहेको छ। कतिपयले इरानको फुटबल सङ्घलाई निलम्बन गर्न अथवा प्रतिबन्ध लगाउन माग गरिहरेका छन्।

फिफाले के भन्यो?

अक्टोबर १० मा कम्बोडिया र इरानबीच हुने सन् २०२२ को विश्वकप छनोट खेलबारे छलफल गर्नका लागि फिफाका अधिकारीहरूले इरानमा एक हप्ता बिताएका छन्।

फुटबलबारे फिफाको एउटा पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले भने, "हामीलाई महिला सहभागिता चाहिएको छ।"

"हामीलाई आश्वस्त पारिएको छ कि इरानको आगामी अन्तर्राष्ट्रिय खेलका क्रममा महिलाहरूलाई फुटबल रङ्गशाला छिर्न अनुमति दिइनेछ। अपवादबाहेक ४० वर्षभित्र हुन नपाएको यो निकै महत्त्वपूर्ण कुरा हो।"

इरानी महिलाहरूलाई पुरुषको फुटबल प्रतियोगिता हेर्न प्रतिबन्ध लगाइए पनि विदेशी महिलालाई रङ्गशालामा सीमित पहुँच दिने गरिएको छ।

अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार कानूनमा त्यस्तो प्रतिबन्धको व्यवस्था नभए पनि "निर्दयतापूर्वक" त्यस्तो गरिएको छ।

गत वर्ष चाहिँ तेहरानस्थित एउटा रङ्गशालामा ठूलो पर्दामा देखाइने विश्वकप फुटबल महिलाले पनि हेर्न पाउने भन्दै अस्थायी रूपमा प्रतिबन्ध हटाइएको थियो।