चिनियाँ विदेशमन्त्रीलाई भेटेपछि यसो भने नेपाली परराष्ट्रमन्त्रीले

चीन–नेपाल

तस्बिर स्रोत, RSS

नेपाल भ्रणमा आएका चिनियाँ विदेशीमन्त्री तथा स्टेट काउन्सिलर वाङ् यीसँग सोमवार नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्विपक्षीय वार्ता गरेका छन्।

उक्त वार्ताका क्रममा दुवै देशका परारष्ट्रमन्त्रीहरूले द्विपक्षीय हितबारे छलफल गरेको बताइएको छ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ नेपाल भ्रमणमा आउन सक्ने र त्यसकै तयारीका लागि चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आएको कतिपयको विश्लेषण रहने गरेको छ।

यसै सन्दर्भमा हामीले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय वार्तापश्चात् नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग कुराकानी गरेका थियौँ।

मन्त्री ज्ञवालीसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानीको अंश:

आज हामीबीच भएको वार्ता निकै सौहार्दपूर्ण, निकै सघन र उपलब्धिमूलक रह्यो भन्ने मेरो विश्वास छ।

नेपाल र चीनबीच परम्परादेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ र त्यसलाई अझ सुदृढ गर्ने र यसलाई महत्त्वपूर्ण आर्थिक साझेदारीमा रूपान्तरण गर्नेबारे हामीले छलफल गर्‍यौँ।

त्यसअन्तर्गत चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिशिएटिभ्स् अर्थात् बीआरआई परियोजना अन्तर्गत रहेर नेपालले प्रथमिकतामा राखेका परियोजनाहरूको कार्यान्वनयमा केन्द्रीत रहेर नै बढी छलफल भयो।

चीन–नेपाल

तस्बिर स्रोत, PMO Nepal

तस्बिरको क्याप्शन, चिनियाँ विदेशमन्त्रीसँग सोमवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि द्विपक्षीय भेटवार्ता गरेका छन्

त्यसमा यातायात पूर्वाधारहरू र जलविद्युत आयोजनाहरू निर्माणबारे कुराकानी भयो।

नेपालको व्यापार घाटा कम गर्न कसरी नेपाली उत्पादनलाई सहज रूपमा चीनमा प्रवेश गराउन सकिन्छ भन्ने बारे पनि छलफल गर्‍यौँ।

जलवायु परिवर्तन र त्यसको असरबारे पनि हामीबीच कुराकानी भयो।

त्यो छलफलको अन्त्यमा केही सम्झौताहरू पनि भएका छन्।

जस्तो मनाङमा अस्पताल बनाइदिने र विपद्का बेला प्रयोग हुने आपतकालीन आश्रयस्थलका लागि पाँच हजार थान अत्याधुनिक पालहरू दिने बारेमा सम्झौता भएको छ।

त्यस्तै नेपालमा चिनियाँ भाषा पढाउन आउने स्वयंसेवकहरूबारे पनि सम्झौता भयो।

चीन-नेपाल रेल सञ्जालबारे के भयो?

नेपालसम्म चिनियाँ रेल ल्याउने विषयमा पनि हाम्रो छलफल भयो।

चिनियाँ विदेशमन्त्रीले यो नेपालको उच्च प्राथमिकतामा रहेकोबारे आफू जानकार रहेको बताउनु भयो।

उहाँले त्यसबारे हामी प्रतिबद्ध छौँ भन्नुभएको छ।

खासमा यो प्राविधिक हिसाबले निकै कठिन पूर्वाधार परियोजना पनि हो।

चीन–नेपाल

तस्बिर स्रोत, RSS

तर पनि यसलाई हामी जसरी पनि पूरा गरेरै छाड्छौँ भन्ने उहाँको कुरा छ।

सम्भाव्यता अध्ययन र अन्य प्रक्रिया अघि बढाउन चीन प्रतिबद्ध छ भन्ने उहाँले दोहोर्‍याउनु भएको छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले होला?

हामीबीचको छलफलमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रणमबारे पनि कुराकानी भयो।

हामीले हामी चीनको उच्च नेतृत्वलाई नेपालमा स्वागत गर्न प्रतीक्षारत रहेका छौँ भनेर दोहोर्‍यायौँ।

हामीले यो भ्रमणको उपयुक्त समय हो पनि भनेका छौँ।

नेपालले राजनीतिक सङ्क्रमण अन्त्य गरेर स्थिरतातर्फ उन्मुख भएकाले यो उपयुक्त समय हो।

छिमेकी मुलुकहरूबाट हुने उच्तस्तरीय भ्रमणहरूले हामीलाई भरोसा पनि मिल्छ भनेका छौँ।

उहाँले नेपालको चाहनालाई गम्भीरतापूर्वक लिएको र दुवै देशका कूटनीतिक निकायहरू सम्पर्कमा रहने छन् भन्नु भएको छ।

उहाँले उपयुक्त समयमा भ्रमण हुनेमा विश्वस्त गराउनु भएको छ।