तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाँझोपनको उपचार गरेको वर्षौँपछि भारतमा ७३ वर्षीया वृद्धाले जन्माइन् जुम्ल्याहा बच्चा
भारतको आन्ध्र प्रदेश राज्यमा एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्।
एरामती मङ्गायम्माको गर्भबाट बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहा छोरी निकालिएको हो।
उनको शल्यक्रिया गरेकी डा. उमा शङ्करले बीबीसी तेलुगुलाई भनिन्, "आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।"
ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाउन सक्ने ठानिएको छ।
पुरानो कीर्तिमान
यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी एक महिलाको उमेर ६६ वर्ष थियो।
हुन त केही मानिसहरूले त्यो कीर्तिमान भारतकै ओमकारी पनवारको नाममा रहेको बताउने गरेका छन्।
सन् २००७ सालमा ती महिलाले ७० वर्षको उमेरमा जुम्ल्याहाको जन्म दिएको बताइन्छ।
जुम्ल्याहा पाएपछि प्रसन्नता व्यक्त गर्दै मङ्गायम्माले भनिन्, "मानिसहरूले मलाई बाँझो भन्ने गर्थे। मैले धेरै पीडा झेलेकी छु। अतः मैले बच्चा जन्माउने निर्णय गरेँ। मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो ।"
श्रीमतीले जुम्ल्याहा पाएपछि श्रीमान् एरामती सीताराम राजाराव पनि उत्तिकै प्रफुल्ल छन्।
उनले भने, "अब म खुसी छु। डाक्टरहरूले गर्दा यो सब सम्भव भयो। यो अस्पतालमा उपचार गराएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन्। हामी नौ महिनादेखि अस्पतालमै छौँ। हामी यी बच्चाको राम्ररी हेरचाह गर्नेछौँ।"
यी दम्पत्ती आन्ध्र प्रदेशमा पर्ने नेलापर्तिपडु गाउँका बासिन्दा हुन्।
उपचार
उनीहरूको बिहे सन् १९६२ को मार्च २२ तारिखमा भएको थियो। सन्तान जन्माउन उनीहरूले धेरै ठाउँमा उपचार गराएका थिए।
केही दिनअघि उनीहरूकै क्षेत्रमा एक ५५ वर्षीया महिलाले बच्चा जन्माएकी थिइन्।
हाल बच्चा पाएको अस्पतालमा एक दिन आवश्यक परीक्षणपछि डा. उमा शङ्करले मङ्गायम्माको उपचार थालेकी थिइन्।
उमेर निकै भइसकेकोले चिकित्सकीय सहयोगबिना उनले बच्चा पाउन सम्भव थिएन।
गर्भाधारणका लागि मङ्गायम्माले एक दाताबाट डिम्ब लिइन् र प्रयोगशालामा आईभीएफ विधिमार्फत् उनका श्रीमान् सीतारामको शुक्राणुबाट सेचन गराइयो।
त्यसपछि बनेको भ्रूणलाई मङ्गायम्माको गर्भमा प्रतिस्थापित गरियो। अन्ततः उनी वृद्धावस्थामा आमा गर्भवती भइन्।
धेरै उमेर भइसकेका महिलामा गर्भधारणको प्रक्रिया जटिल हुन्छ र त्यस्ता गर्भवती महिलाले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ।