तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकासँग व्यापार तनाव चर्किए पनि चीनको निर्यात अनपेक्षित रूपमा बढ्यो
अमेरिकासँग व्यापार सम्बन्ध तनावग्रस्त भए पनि जुलाई महिनामा चीनको निर्यात आश्चर्यजनक रूपमा बढेको छ।
चिनियाँ निर्यात गत महिनामा ३.३ प्रतिशतले बढेको आधिकारित तथ्याङ्क छ जबकि त्यो दुई प्रतिशतले घट्ने आकलन गरिएको थियो।
चीनले गर्ने आयात ५.६ प्रतिशतले घटेको छ जुन अपेक्षा गरिएभन्दा २.७ प्रतिशतले कम हो।
यति हुँदा पनि अमेरिकाले अर्को महिना चिनियाँ आयातमाथि नयाँ कर लगाउने तयारी गरिरहेकोले चीनको अर्थतन्त्र दबावमा रहने विश्लेषकहरू बताउँछन्।
"आउने महिनाहरूमा पनि निर्यात राम्रै रहने देखिन्छ," क्यापिटल इकोनोमिक्समा कार्यरत चीनको अर्थशास्त्रबारेका ज्ञाता जुलियन इभान्स-प्रिट्चर्ड भन्छन्।
अमेरिकाले सेप्टेम्बर १ देखि तीन खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा भन्सार कर थप्ने तयारी गरेको छ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरूबीचको तनाव गत हप्ता अमेरिकाले चीनलाई मुद्रादरमा अनावश्यक परिवर्तन गर्ने राष्ट्र भनेपछि बढेको छ। गत हप्ता चिनियाँ युआनको मूल्य अमेरिकी डलरको तुलनामा ह्वात्तै घटेको थियो।
चीनको पीपल्स ब्याङ्क अफ चाइनाले सोमवार भन्सार दर बढेको र व्यापार संरक्षण गर्न लिइएको नीतिका कारण युआनको मूल्य घटेको बताएको थियो।
युआनको मूल्य घट्दा चिनियाँ सामानहरू विदेशी मुद्राले किन्दा सस्तो पर्छ।