तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आधुनिक कृषियन्त्र: समय, लगानी र श्रमको बचत
ठूलो सङ्ख्यामा युवाहरू रोजगारीका निम्ति विदेश जानथालेपछि देशभरकै गाउँघरमा कृषि मजदुरको अभाव भएका छन्।
परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका पर्साका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन्।
कृषि मजदुर र खेताला पाउन छाडेपछि किसानहरूले खेतबारी जोताउन पावर टिलर, हाते ट्रयाक्टर, धान रोपाइँ मेसिनदेखि बाली भित्रयाउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेको बताएका छन्।
कृषि उपकरण प्रयोग गर्न थालेपछि खेतीपातीका लागि किसानहरूलाई सहज पनि भएको तथा उब्जाएको बाली व्यवस्थापन गर्न कडा परिश्रम र समयको पनि बचत भएको उनीहरूले बताएका छन्।
कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँचसँगै कृषकहरूले आफ्ना खेतबारीमा उब्जाएका बाली भित्र्याउन सहज भएको बताएका छन्।
कृषियन्त्रतर्फ आकर्षण बढ्दो
खेतबारीमै थ्रेसरलगायतका आधुनिक यन्त्र पुग्न थालेपछि आफूहरूलाई निकै सहज भएको किसानहरूको अनुभव छ।
पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने, बाली निफन्नेजस्ता थुप्रै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको किसानहरू बताउँछन्।
कृषियन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषक कृषियन्त्रतर्फ आकर्षित भएको उनीहरू बताउँछन्।
खेतालाको अभाव
पर्सा धोवीनीकी अमृतादेवी भन्छिन्: "मेसिन भएपछि पैसा पनि बचत हुने, शरीरलाई पनि थकान महसुस नहुने, मेसीनले एक घण्टामै धान गहुँ सबै काट्छ। पहिला बिहानदेखि बेलुकीसम्म खेतालासँगै आफू पनि काम गरेर बस्नुपर्थ्यो।"
गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएपछि आजकाल खेताला पाउन मुस्किल हुने गरेको किसानहरू बताउँछन्।
त्यसैकारण पनि कृषि उपकरण आफ्नो रहर मात्रै नभइ बाध्यता पनि भएको उनीहरूको भनाइ छ।
सिवर्वाका रामबाबु प्रसाद चौहानले भने, "काम गर्नसक्ने युवाहरू कामको लागि कि ईँटाभट्टा कि विदेश पलायन हुने गरेका छन्। त्यसले गर्दा खेतालाको धेरै अभाव भएको छ। अलि अलि जो काम गर्ने मान्छे पाइन्छन् उनीहरूको पनि ज्याला निकै महँगो छ।"
धेरै खेती भएका किसानहरूलाई यी सबै समस्या समाधानका लागि बाली काट्नेदेखि, रोप्ने, सम्याउने सबै काम कृषियन्त्रले गरेपछि श्रम, लगानी र समय सबैको बचत भएको छ।