विश्वकप क्रिकेट: फाइनलमा इङ्ग्ल्यान्ड र न्यूजील्यान्डको आत्मविश्वासको टक्कर

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी नेपाली सेवा

विश्वका क्रिकेटप्रेमीहरूको आँखा आइतवार क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा केन्द्रित भएको छ।

नेपाली समयानुसार दिउँसोको सवा तीन बजेदेखि लर्ड्स मैदानमा आयोजक इङ्ग्ल्यान्ड र न्यूजील्यान्डबीच विश्वकप क्रिकेटको फाइनल प्रतिस्पर्धा हुँदैछ।

विश्वकप क्रिकेटको फाइनलमा एउटा कुरा मात्रै निश्चित छ - जसले जितेपनि क्रिकेटले नयाँ विश्वविजेता पाउनेछ।

बाँकी क्रिकेट अनिश्चयको खेल हो।

रोमाञ्चक खेलको अपेक्षा

सन् १९९२ यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको इङ्ल्यान्ड र लगातार दोस्रो पटक उपाधिका प्रतिस्पर्धा गर्न लागेको न्यूजील्यान्डबीचको खेल अति रोमाञ्चक हुने अनुमान गरिएको छ।

जसरी दुवै टोलीले सेमिफाइनलको चुनौती पार गरे त्यसलाई यो विश्वकपमा अविस्मरणीय मानिएको छ।

बलियो दाबेदार भारतलाई रोमाञ्चक खेलमा १८ रनले पराजित गर्दा न्यूजील्याण्डले प्रशस्त प्रशंसा बटुल्यो।

अर्को सेमिफाइनलमा इङ्लिश टोलीले चिरपरिचित प्रतिद्वन्द्वी तथा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई झन्डै २० ओभरको खेल बाँकी हुँदै आठ विकेटले हरायो।

त्यही खेलको आत्मविश्वासका कारण इङ्ग्ल्यान्डले विश्वकप उपाधि जित्ने विश्वास धेरैले गरेका छन्।

थुप्रै नेपाली खेलाडीहरू इङ्ग्ल्यान्डकै पक्षमा देखिएका छन्।

सुवर्ण मौका

नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी मेहबुब आलम भन्छन्, "म चाहन्छु इङ्ग्ल्यान्डले विश्वकप जितोस्।"

क्रिकेटको जन्मस्थल भएर पनि इङ्ग्ल्यान्ड अहिलेसम्म विजेता नभएकाले आलमका अनुसार यो इङ्ग्लिश टोलीको लागि सुवर्ण अवसर हो।

उनी थप्छन्, "इङ्ग्ल्यान्ड तुलनात्मक रूपमा न्यूजील्यान्डभन्दा बलियो छ।"

"आफ्नै घरको अनुकूल वातावरणमा खेल हुँदैछ र आत्मविश्वास भरपूर छ। यो बेला पनि नजिते कहिले जित्ने?"

न्यूजील्यान्ड पनि कमजोर भने हुँदै होइन।

उक्त टोलीका समर्थक हुन् नेपाली राष्ट्रिय टोलीमा पर्न सङ्घर्षरत खेलाडी सिद्धान्त लोहनी।

त्यसको खास कारण उनीसँग छैन।

लोहनी भन्छन्, "झट्ट हेर्दा इङ्ग्ल्यान्ड बलियो छ। तर त्यो खेलको दिनमा निर्भर हुन्छ।"

"भारतलाई हराउन सक्ने न्यूजील्यान्डले जसलाई पनि हराउन सक्छ।"

भारतलाई पराजित गरेका दुई टोली

प्रतियोगिता सुरु हुनुअगाडि इङ्ग्ल्यान्डका पूर्वकप्तान माइकल भोनले ट्वीटमा लेखेका थिए, "जसले भारतलाई हराउन सक्छ। त्यसैले यो विश्वकप जित्नेछ।"

संयोग निकै बलियो ठानिएको भारतलाई यो विश्वकपमा दुईवटा टोलीले मात्र हराउन सके।

तिनै दुई टोलीबीच नै फाइनल हुन लागेको छ। इङ्ग्ल्यान्डले भारतलाई लीग चरणमा पराजित गरेको थियो भने न्यूजील्यान्डले सेमिफाइनलमा।

लीग चरणमा इङ्ग्ल्यान्डले न्यूजील्यान्डलाई ११९ रनको फराकिलो अन्तरले हराएको थियो।

त्यसैले पनि होला विज्ञहरूको झुकाव इङ्ग्ल्यान्डको पक्षमा देखिएको छ।

नेपाली महिला खेलाडीको आशा

नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरू पनि त्यही लहरमा उभिएका देखिन्छन्।

राष्ट्रिय कप्तान रुविना क्षेत्री भन्छिन्, "अहिले खेलमा इङ्ग्ल्यान्डले लय लिएको छ।"

"खासगरी भारतलाई लीगमा हराएपछि नै इङ्ग्ल्यान्डमा एक किसिमको आत्मविश्वास छ, जुन त्यसपछि खेलाडीहरूले लगातार देखाइरहेका छन्।"

उपकप्तान सीता रानामगरको छनौट पनि इङ्ग्ल्यान्ड हो।

उनी भन्छिन्, "सेमिफाइनलमा त खेलाडीहरूले आत्मवविश्वासी ब्याटिङको नमुना नै देखाए।"

"ब्याटिङ मात्र होइन बलिङमा पनि इङ्ग्ल्यान्ड राम्रो छ। मलाई पक्का विश्वास छ यसपालिको विश्वकप घरमै बस्नेछ।"

करुणा भण्डारी र कविता कुँवर पनि इङ्ग्ल्यान्डकै समर्थनमा छन्।

भण्डारी भन्छिन, "खासमा मलाई मनपर्ने टोली दक्षिण अफ्रिका हो। माथि चढ्न सकेन।"

"भारत सेमिफाइनलमा हारेकोमा भने खुबै मज्जा आइरहेछ। त्यही नै हो मेरो लागि यसपालिको विश्वकपको वास्तविक खेल थियो।"

"न्यूजील्यान्डका ट्रेन्ट बोल्ट मलाई राम्रो लाग्छ, तर जित्ने चाहिँ इङ्ग्ल्यान्डले हो।"

टिकटको भाउ

इङ्ग्ल्यान्डले सेमिफाइनल जितेलगत्तै लर्ड्सको फाइनल टिकटको भाउ ह्वात्तै बढेको स्थानीय पत्रपत्रिकाले लेखेका छन्।

पत्रिकाका अनुसार फाइनलको टिकटको भाउ १० हजार पाउन्डसम्म पुगेको छ।

टस जिते के गर्ने?

यो विश्वकपमा लर्ड्समा पाँच वटा खेल भए। ती सबैमा जुन टोलीले पहिलो ब्याटिङ रोज्यो त्यही टोलीले खेल जितेको छ।

त्यसैले इङ्ग्ल्यान्डले ब्याटिङ रोज्नुपर्ने धारणा भण्डारीको छ।

त्यसै पनि इङ्ग्ल्यान्डले दोस्रो ब्याटिङ गर्दा लीगको तीन खेल लगातार हारेको थियो। सेमिफाइनलमा मात्र इतिहास फेरिएको थियो।

फाइनल भिडन्तको दिन लन्डनको मौसम सफा हुने मौसम विभागले जनाइसकेको छ।

अब प्रतीक्षा छ- इयान मोर्गनको इङ्ग्ल्यान्ड र केन विलियम्सनको न्यूजील्यान्डबीचको फाइनल प्रतिस्पर्धाको।

लोहनीले भने जस्तै फाइनलको दिनको खेलले बलियो र कमजोर टोली छुट्याउनेछ।

धेरै कुरा टसमा पनि भर पर्न सक्ला तर इङ्ग्ल्यान्ड आत्मविश्वासपूर्ण ब्याटिङ र भारतलाई हराएको न्यूजील्यान्डबीचको खेलको परिणाम जे पनि हुन सक्छ।

आखिर क्रिकेट अनिश्चयको खेल हो।