तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाल यौन दुराचार: राष्ट्रसङ्घका पूर्वअधिकारीलाई नेपालमा कैद सजाय
बाल यौन दुराचारको अभियोगमा गत वर्ष राजधानी काठमाण्डू नजिकै पक्राउ परेका राष्ट्रसङ्घका एक पूर्वअधिकारीलाई नेपालमा कैद सजाय सुनाइएको छ।
क्यानडाका ६२ वर्षीय पिटर जन डाल्ग्लीश सन् २०१८ मा काभ्रेमा पक्राउ परेका थिए। उनलाई गत महिना नै अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको थियो।
उनलाई एक १२ वर्षीय बालकको यौन शोषण गरेको कसुरमा नौ वर्षको सजाय सुनाइएको छ। सात वर्षका अर्का बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्षको सजाय सुनाइएको छ।
उनले दुबै कैद सजाय एकै पटक भुक्तान गर्नु पर्ने हो वा अलग-अलग त्यो प्रष्ट छैन।
सन् १९८० देखि उच्च ओहोदाको मानवीय कार्यकर्ता रहि आएका डाल्ग्लीशले आफू विरुद्धका अभियोग अस्वीकार गर्दै आएका छन्।
उनका वकिलले पछिल्लो फैसलाको पुनरावलोकनका लागि आवेदन दिइने रोएटर्स समाचार संस्थालाई बताएका छन्।
उनका वकिल राहुल चापागाइँले भने, "यो मुद्दाको अनुसन्धानको क्रममा आवश्यक प्रक्रिया नै पूरा गरिएको छैन। त्यसैले हामीले पुनरावलोकनका लागि निवेदन गर्नेछौँ।"
क्षतिपूर्ति भराउने आदेश
अदालतले डाल्ग्लीशलाई पीडित बालकलाई जनही पाँच लाख रूपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ। उनी पक्राउ पर्दा दुबै बालक उनकै घरमा थिए।
फैसलापछि जिल्ला अदालतका एक अधिकारीले एएफपी समाचार संस्थालाई भने, "न्यायाधीशले उनले १६ वर्ष कैद सजाय पाउने हो वा उनी ९ वर्षपछि छुट्न पाउने हो भनेर निर्णय गरिसकेका छैनन्। यस्ता खालका अधिकांश मुद्दामा सजाय गाभिने गर्छन् तर त्यो न्यायाधीशको निर्णयमा भर पर्छ।"
डाल्ग्लीश निकै सम्मानित मानवीय कार्यकर्ता थिए। उनी विश्वभर छरिएका परियोजनाहरूमा आबद्ध थिए। विपन्न बालबालिकाको सेवाको लागि उनलाई सन् २०१६ मा 'अर्डर अफ क्यानडा' भनिने देशकै दोस्रो ठूलो सम्मान प्रदान गरिएको थियो।
सन् १९८० को दशकमा उनले अर्का एकजनासँग मिलेर स्ट्रिट किड्स इन्टरन्याशनल नामक संस्था स्थापना गरेका थिए। त्यो संस्था पछि सेभ द चिल्ड्रेन नामक संस्थासँग गाभिन पुग्यो।
हालसालै मात्र डाल्ग्लीशले राष्ट्रसङ्घीय निकायहरूमा वरिष्ठ पदहरू सम्हालेका थिए। उनी सन् २०१५मा अफगानिस्तानमा यूएन ह्याबिट्याटमा आबद्ध भएका थिए।
नेपालमा चाहिँ उनी सन् २००० को दशकमा आईएलओका सल्लाहकार नियुक्त भएका थिए।