तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विद्रोही नेता युद्ध अपराधमा दोषी ठहर
प्रजातान्त्रिक गणतन्त्र कङ्गोका एक जना विद्रोही नेता युद्ध अपराध र मानवता विरुद्धको अपराधका मुद्दामा दोषी पाइएका छन्।
बोस्को नटागन्डका लडाकुहरूले शरीर चिरेर बालबालिकाहरूको भित्री अङ्ग निकाल्ने गरेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका न्यायाधीशहरूले बताएका छन्।
'टर्मिनेटर' नाम दिइएका नटागन्डमाथि हत्या, बलात्कार, यौन दासत्व र बालबालिकारूलाई सेनाका रूपमा प्रयोग गर्ने लगायतका १८ कसुरमा दोषी पाइएको हो।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले यौन दासत्वका रूपमा दोषी ठहर गरेका उनी पहिलो व्यक्ति हुन्। २००२ मा आईसीसी गठन भएयता युद्ध अपराध र मानवता विरुद्धको अपराधका अभियोगमा दोषी ठहर गरिएका उनी चौथो व्यक्ति हुन्।
कैयौँ सशस्त्र विद्रोहमा सहभागी
४६ वर्षीय नटागन्ड रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका भएका कैयौँ सशस्त्र विद्रोहमा सहभागी भएका थिए। सन् २०१३ मा उनले कङ्गो स्थित अमेरिकी दूतावासमा आत्मसमर्पण गरेका थिए।
एम-२३ नाम गरेको विद्रोही समूहसँगको शक्ति सङ्घर्षमा हार बेहोरेका नटागन्डले उक्त कदम आफूलाई बचाउनका लिएको विश्लेषकहरूको भनाइ छ।
सुनुवाइमा संलग्न तीन जना न्यायाधीश मध्ये एक रोबर्ट फ्रेमरले नटागन्ड सर्वसाधारणलाई निसाना बनाउन र हत्या गर्न निर्देशन दिने प्रमुख नेता मध्ये एक भएको फैसलाका क्रममा बताए।
उनले नेतृत्व गरेको सशस्त्र समूहले हेमा जातीय समूह बाहेकका सर्वसाधारणलाई आक्रमण गर्ने गरेको आईसीसीको अनुसन्धानले देखाएको छ।
एउटा आक्रमणका क्रममा उक्त समूहले ४९ जनालाई केराबारीमा मारेका थिए।
महिला र बालबालिका समेत मारिएका उक्त आक्रमणमा लट्ठी र धारिलो हतियारको प्रयोग गरिएको थियो। फ्रेमरका अनुसार कतिपय शव नग्न अवस्थामा थिए भने कतिको हात बाँधिएको थियो।
न्यायाधीशहरूका अनुसार नटागन्ड आँफैले एक जना पादरीलाई मारेका थिए। सन् १९९९ देखि उक्त क्षेत्रमा ६० हजार भन्दा बढीले ज्यान गुमाएका छन्।