तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान: चुनावमा भएको धाँधलीको छानबिन नगरेको विरोधमा महिलाले ओठ सिलाए
- Author, खुदा-ए-नूर नासिर
- Role, बीबीसी उर्दू संवाददाता
अफगानिस्तानको राजधानी काबुलमा गत वर्ष सम्पन्न चुनावमा भएको भनिएको धाँधलीविरुद्ध आन्दोलन गरिरहेका महिला उम्मेदवारहरूले आफ्ना ओठ सिलाएर विरोध प्रदर्शन गरेका छन्।
अफगानिस्तानका कैयौँ प्रान्तमा गत साल अक्टोबर महिनामा भएको संसदीय चुनावमा कैयौँ महिलाहरूले हार बेहोर्नु परेको थियो।
त्यस्तै हार बेहोरेकी एक उम्मेदवार डीवा नयाजीले मङ्गलवार आफ्ना पाँच महिला साथीहरूसहित ओठ सिलाएर राष्ट्रपति भवन अघिल्तिर प्रदर्शनमा सहभागी भइन्।
बीबीसीसँग कुरा गर्दै नयाजीले भनिन्, "यो हाम्रो हदैसम्मको विवशता हो किनभने सरकार बोल्न नसक्ने र सुन्न नसक्ने अवस्थाको छ।"
"आमरण धर्ना"
यी महिलाहरूले तीन महिनादेखि प्रदर्शन गरिरहेका छन्।
यी महिला उम्मेदवारहरूले गत वर्षको संसदीय चुनावमा महिला उम्मेदवारहरूमाथि धाँधली भएको र उनीहरूको सट्टामा संसदमा पुगेकाहरूले रकम बाँडेर चुनावको परिणाम फरक पारेको भन्दै आएका छन्।
नयाजीले भनिन्, "हामी अफगानी महिलाहरू गत तीन महिनादेखि धर्नामा छौँ तर समस्याको समाधानका लागि हाम्रो कुरा सुन्न राष्ट्रपतिसँग तीन मिनेट पनि समय छैन।"
नयाजीले आफूहरूको धर्ना आमरण चलिरहने बताइन्।
धर्नामा बसेकी अर्की महिला उम्मेदवार नजीबा फैल हेलमन्दीले बीबीसीसँग बताए अनुसार मङ्गलवार बिहान उनीहरूको अनुरोधमा एकजना महिला डाक्टर साथीले ओठ सिलाइदिएकी हुन्।
नजिबाका अनुसार उनका नौ जना साथीहरूले अनशन सुरु गरेका छन्।
अफगान सरकारले आफ्नो मागको छानबिन गर्न एक विशेष समिति बनाओस् भन्ने उनीहरूको माग छ।
अर्की महिला उम्मेदवार डा. जाहिदा फैजान भन्छिन्, "हामी यहाँ धर्नामा तीन महिनादेखि छौँ, पहिले भोक हडताल गर्यौँ।
तर राष्ट्रपतिका सल्लाहकार हमदुल्लाह मुहीब आएर हाम्रो मागको सुनुवाइ हुने प्रतिबद्धता व्यक्त गर्दै अनशन अन्त्य गर्न भने।
"तर २५ दिन बित्दा पनि सरकारले आफ्नो प्रतिबद्धता पुरा गरेन, त्यसैले हामी दोश्रोपटक अनशन बसेका हौँ।"
धर्नामा बसेका महिलाहरूले विरोधका कैयौँ तरिका आफूहरूले अपनाएको बताए।
ईदका दिन कात्रो पहिरिएर विरोध प्रदर्शन गरेको तर त्यसको पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ।
निर्वाचन आयोग र अफगानिस्तान सरकारले महिलाहरूको आरोप खारेज गर्दै चुनाव निष्पक्ष रहेको र विरोध गरेका महिलाहरूले आ-आफ्नो क्षेत्रमा चुनाव हारेको बताएको छ।