तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राष्ट्रिय बास्केटबल लिग: नियमले बाँधिएका महिला खेलाडीको खुशी
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी नेपाली सेवा
विगत डेढ वर्षदेखि प्रतिस्पर्धात्मक खेल खेल्नै नपाएका राष्ट्रिय महिला खेलाडीहरूलाई पहिलो पटक सुरु भएको महिला बास्केटबल लिगले पुनर्जीवन दिएको बताउँछन्।
बास्केटबलका राष्ट्रिय टोलीका खेलाडीहरुले कलेजस्तरका प्रतियोगिता खेल्न पाउँदैनन्।
तर कलेजस्तरीय प्रतियोगिता हुने र राष्ट्रिय स्तरको प्रतियोगिता नहुने भएका कारण आफूहरू अनौठो समस्यामा परेको खेलाडीहरू बताउँछन्।
राष्ट्रिय कप्तान सदिना श्रेष्ठ भन्छिन्, "हामी कहाँ खेल्ने भन्ने थाहा छैन्। कलेजस्तरीय प्रतियोगिता खेल्न पाइन्न, राष्ट्रिय स्तरको प्रतियोगिता छैन। राष्ट्रिय खेलाडी बन्नु अनौठो पीडा भएको छ।"
कलेजस्तरमा राष्ट्रिय खेलाडीहरु खेल्दा नयाँ प्रतिभालाई असर पर्ने सक्ने भएकाले नेपाल बास्केटबल संघले राष्ट्रिय खेलाडीहरूका लागि नियम बनाएको हो।
नयाँ सुरुवात
गत हप्ताबाट नेपालमा पहिलो पटक महिला राष्ट्रिय लिग बास्केटबल सुरु भयो। यसले खेलाडीहरु उत्साहित देखिएका छन्।
आठौं राष्ट्रिय प्रतियोगिता खेल्नु अगाडि डेढ वर्षको पर्खाइमा राष्ट्रिय खेलाडीहरूले मैदानमा उत्रिन पाएका हुन्।
यो लिगमा चारवटा क्लबबाट चार दर्जन खेलाडीहरू खेलिरहेका छन्। लिगमा राष्ट्रिय खेलाडी, युवा खेलाडी र विदेशी खेलाडीको समेत प्रतिस्पर्धा छ।
साइपाल क्लबबाट खेलिरहेकी प्रतिक्षा मगर १६ वर्ष भन्दा मुनी उमेर समुहको राष्ट्रिय टोलीकी कप्तान हुन्।
तर कलेजस्तरीय फाट्टफुट्ट प्रतियोगिता खेलेरै चित्त बुझाइरहेको बताउने उनी लिगमा राष्ट्रिय खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पाउनुलाई मौकाको रूपमा लिएको बताउँछिन्।
कप्तान समेत रहेकी मगर भन्छिन्, "प्रतिस्पर्धा फरक हुँदो रहेछ। स्तरमा पनि फरक छ। राम्रो प्रदर्शन गरे राष्ट्रिय टोलीमा पनि पर्न सक्छु जस्तो लागिरहेछ।"
प्रतियोगिता नहुनु समस्या
नेपाल बास्केटबल संघले १९ वर्ष अगाडि अन्तर्राष्ट्रिय बास्केटबल महासंघको सदस्यता लिएको थियो। त्यसयता पुरुष सँगसँगै महिला बास्केटबल खेलाडीहरू पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिसकेका छन्।
नेपाल पुलिस क्लब र नेपाली सेनाले महिला बास्केटबल टोली बनाएका छन्।
तर प्रतियोगिता नियमित नहुनु नै बास्केटबलको समस्या देखिन्छ।
सन् २०१६ को भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद साग गेम्समा महिला बास्केटबल समावेश गरिएपनि आयोजक भारतीय बास्केटबल संघमा समस्या आएपछि नेपाली टोली प्रतियोगिता नखेलि फर्किनु परेको थियो।
संघ पछिल्ला वर्षहरुमा निस्क्रिय देखिनुले पनि समस्या आएको खेलाडीहरू बताउँछन्।
काठमान्डूमा अहिले सञ्चालन भइरहेको महिला लिगको आयोजना संघ नभई विपन्न बालबालिका खेलकुद नेपालले गरेको हो। आयोजकका अनुसार बास्केटबलमा देखिएको प्रतियोगिताको खडेरी मेटाउन उनीहरुले यो प्रयास थालेको हो।
आयोजक संस्थाका अध्यक्ष अरुण कार्की भन्छन्, "खेलाडीहरू जागेका छन्। अर्को वर्षबाट देशभरका स्तरीय क्लब समावेश गर्ने हाम्रो योजना छ।"
निरन्तरताको आशा
राष्ट्रिय खेलाडी माया स्याङटान प्रतियोगितामा देखिएकी अनुभवी खेलाडी मध्येकी एक हुन्।
आइसो काइट क्लबबाट प्रतिस्पर्धा गरिरहेकी उनी राष्ट्रिय खेलाडीको प्रतिस्पर्धाको दायरा खुम्चिरहेको समयमा युवा खेलाडीसँग खेल्न पाउँदाको अनुभव सुनाउदै भन्छिन् , "युवाहरुमा एउटा जोश थपिएको देखेको छु। प्रतिस्पर्धा जरुरी छ। टोली थप्दै निरन्तरता दिन सके अझ राम्रो हुने म ठान्छु।"
लिगमा विदेशी खेलाडीहरु खेल्न पाउने प्रावधानले प्रतिस्पर्धा झन बढेको देखिएको छ।
एउटा क्लबले चार विदेशी राख्न पाउने र दुई जनालाई एकै समय मैदानमा उतार्न पाउने नियम बनाइएको छ। प्रतियोगितामा फिलिपिन्स र भुटानका खेलाडीहरू खेलिरहेका छन्।
भुटानी खेलाडी इवाङ पिन्डारिका नेपालमा खेल्दा रमाइलो लागेको बताउँछिन्।
उनी भन्छिन्, "प्रतियोगिता ब्यवस्थित त छैन। तर प्रतिस्पर्धा रमाइलो छ। भोलिका दिनमा नेपाल र भुटान बीच महिला बास्केटबल एक्सचेञ्ज कार्यक्रम गर्ने बारे योजना बनेको छ।"
कलेज र स्कुलमा खुम्चिएको बास्केटबल खेलको स्तर राष्ट्रिय लिगजस्तो प्रतियोगिताले उकास्न सक्छ तर त्यसका निम्ति संघ सक्रिय हुनुपर्ने धारणा खेलाडीहरूको छ।