विश्व वातावरण दिवस: भारतको वायु प्रदूषणको असर नेपालसम्म

वायुप्रदुषण

तस्बिर स्रोत, UA/BBC

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी नेपाली सेवा

नेपालको वायु प्रदूषणको कारण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित कणहरू पनि रहेको विज्ञहरूले बताएका छन्।

भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका सङ्ख्यामा रहेका इट्टाभट्टीहरू एवम् पञ्जाब र राजस्थान राज्यहरूमा अन्नबाली स्याहारेपछि जलाइने डाँठ-खोस्टाहरूको धुवाँको असर नेपालमा पर्ने उनीहरू बताउँछन्।

त्यस्तो असर खासगरी हिउँद र सुख्खा याममा जटिल समस्या बन्ने गरेको पाइएको छ।

त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्राध्यापक रेजिना मास्के भन्छिन्: "हिउँद र सुख्या याममा लुम्बिनी र सौराहामा काठमाण्डूमा भन्दा बढी प्रदूषण देखिन्छ।"

"तराईमा रहेका कलकारखानासँगै सीमापारबाट आउने प्रदूषित कण त्यसका लागि जिम्मेवार छन्।"

प्रदूषणको स्तर

नेपालको राष्ट्रिय मापदण्ड अनुसार पीएम २.५ भनिने रौंभन्दा झण्डै तीन गुणासम्म मसिना प्रदूषित कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताइन्छ।

काठमाण्डूको रत्नपार्कमा रहेको प्रदूषण मापन यन्त्रमा वर्षमा केही दिन त्यस्तो स्तर १३६ माइक्रोग्रामसम्म पुगेको छ।

हिउँदमा दिल्लीमा हुने प्रदूषणको असर पश्चिमी वायुसँगै नेपालसम्म पर्ने गरेको विज्ञहरू बताउँछन्।

दिल्ली प्रदूषण

तस्बिर स्रोत, AFP

हलुका हुने भएकाले त्यस्ता मसिना कणहरू धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै टाढासम्म पुग्न सक्छन्।

त्यस्ता साना कणमा रसायनिक पद्धार्थहरू समेत रहिरहन सक्ने र ती नशासम्मै पुग्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढि हानीकारक हुने गर्छन्।

प्रदूषणको असर

नेपालमा सुरक्षित मानिएको मापदण्डभन्दा हावाको गुणस्तर कुनै दिनमा चार गुणाभन्दा बढी खस्किएको पाइएको छ।

यसको प्रत्यक्ष असर मानिसहरूमा श्वासप्रश्वास र छालासँग सम्बन्धित रोगहरूमार्फत् देख्न थालिएको चिकित्सकहरूले बताउने गरेका छन्।

लुम्बिनी
तस्बिरको क्याप्शन, लुम्बिनीमा वायु प्रदुषण चर्कंदा भिक्षुहरूले मास्क लगाएर ध्यान प्रार्थना गर्नुपर्ने बाध्यता हुन्छ

"अध्ययनहरूले ती कणहरू दशौं हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने देखाएका छन्। हाम्रोमा भने छिमेकमै रहेको प्रदूषण झन् चुनौतिपूर्ण बनेको छ," काठमाण्डु विश्वविद्यालयको वातावरण इन्जिनियरिङ् कार्यक्रम संयोजक कुन्दनलाल श्रेष्ठ भन्छन्।

"अझ जाडो याममा वायुमन्डलमा ब्राउन क्लाउड भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यका किरणहरू छेक्ने गर्छ।"

त्यसले मानवस्वास्थ्यसँगै उत्पादन प्रणालीमा ह्रास ल्याउन थालेको बताइन्छ।

वर्षा याममा भने मनसुनसँगै बङ्गालको खाडीबाट आउने हावामा भने प्रदूषण वास्प सहित हुनेहुँदा त्यसको प्रभाव कम देखिने गरेको छ।

वर्षा यामका दिनमा भने त्यस्तो तह दुई माइक्रोग्रामसम्म पनि झरेको पाइएको छ।

प्रदूषण

तस्बिर स्रोत, Getty Images

प्रदूषित दिन धेरै

सरकारी अधिकारीहरू काठमाण्डूको हावाको गुणस्तर वर्षको आधाभन्दा बढी दिन श्वासप्रश्वासका लागि अस्वस्थ रहने बताएका छन्।

नेपालका विभिन्न शहरहरूमा अहिले १९ प्रदूषण मापन केन्द्रहरू रहेकामा नौवटा काठमाण्डूमा मात्र छन्।

वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट शङ्करप्रसाद पौडेल भन्छन्, "सडकमा उड्ने धुलो प्रदूषणका लागि प्रमुख समस्याजस्तो देखिए पनि तीभन्दा निकै खतरनाक मसिना कणहरू हुने गरेका छन्।"

"सामान्य मास्कहरूले समेत रोक्न नसक्ने भएकाले त्यस्ता कणको जोखिमबाट बच्न छिमेकी देशहरूबीच एकीकृत प्रयास नै आवश्यक पर्छ।"

काठमाण्डुमा गुड्ने आधाजसो गाडीले मापदण्ड नाघेर धुवाँ फ्याक्ने गरेको अधिकारीहरू बताउँछन्।

त्यसबाहेक कलकारखाना एवम् ठोस फोहोरहरू जथाभावी जलाउँदा घातक मसिना प्रदूषित कणहरू हाम्रो वायुमण्डलमा जम्मा भइरहेको छ।

सीमा नाघेर हुने वायु प्रदूषणको अवस्थासँग जुझ्न आपसमा जोडिएका नेपाल सहितका आठ विभिन्न मुलुकले सन् १९९८ मा माल्दिभ्समा 'माले घोषणापत्र' जारी गरेका थिए।

तर त्यसतर्फ पर्याप्त कामहरू हुन नसकेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, धुलोमुक्त काठमाण्डू कति सम्भव