प्रदूषण नियन्त्रण: 'अलपत्र सडक मर्मत बाधक'

Local govt
तस्बिरको क्याप्शन, मेयर तथा उपमेयरहरूले प्रदूषण नियन्त्रणमा स्थानीय सरकारको आफ्नै खाले सिमितता रहेको भन्दै रणनीति बनाउँदा संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको बताए।

काठमाडौं उपत्यकाभित्रका मेयरहरूले उपत्यकाको वायु प्रदूषण नियन्त्रणलाई लिएर केन्द्र सरकारतर्फ औंला सोझ्याएका छन्।

उनीहरूले केन्द्र सरकारको जिम्माका मुख्य सडकको निर्माण तथा मर्मतका काम लामो समयसम्म अल्झिँदा वायु प्रदूषण नियन्त्रणमा कठिनाइ भैरहेको बताएका हुन्।

प्रदुषण नियन्त्रणको साझा रणनीति बनाउन उपत्यकाभित्रका १८ वटा नगरपालिकाका मेयर तथा उपमेयरहरू बिहीबार काठमाडौंमा आयोजित एक दिने सम्मेलनमा सहभागी थिए।

काठमाडौंको वातावरणीय अवस्था चिन्ताजनक रहेको र त्यसको एउटा प्रमुख कारण सवारी साधन र गुणस्तरहीन बाटो भएको बताउने वातावरणविद्हरूले प्रदूषण नियन्त्रणको निम्ति एकीकृत प्रयासको खाँचो औंल्याए।

समन्वय

प्रदूषण नियन्त्रणमा स्थानीय सरकारको आफ्नै खाले सीमितता रहेको भन्दै रणनीति बनाउँदा संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको मेयर उपमेयरहरूको भनाइ थियो।

काठमाण्डू महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पपीडितलाई राहतको नाममा काठमाडौंमा १५ सय नयाँ ट्याक्सी थपिँदा वातावरणका दृष्टिले आफ्नो नीति विरोधी बोझ थपिएको गुनासो सुनाए।

भक्तपुरको सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले भने ढलको समस्या विकराल भएको बताइन्।

उनले भनिन्, "सबैले खोलामा ढल हाल्ने, त्यसमा प्लास्टिकहरू फ्याँक्ने गर्नाले जाम भइरहेको छ जुन रोक्न सकिएको छैन। त्यो रोक्न अहिले केन्द्रीय तहबाट कोरिडोरको काम भइरहेको छ।"

स्रोत-साधन

सरकारसँग भएका प्रदूषण जाँच्ने कैयौं उपकरण प्रयोगविहीन रहेको र त्यसमाथी नगरपालिकाहरूसँग स्रोतसाधनको अभाव रहेको कुरा सम्मेलनमा उठेको थियो।

प्रतिलिटर इन्धन खरिदबाट करिब ५० पैसाको दरले वातावरणीय कोषमा जम्मा हुने रकम वातावरण सुधारमै खर्च गर्नुपर्नेबारे पनि छलफल भएको छ। मेयरहरूले उपत्यकाभित्रका नगरपालिकाहरूको एकीकृत प्रयासको आवश्यकता समेत औंल्याए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वायु प्रदूषण कसरी कम गर्ने?

वातावरणविद् भूषण तुलाधर तत्कालका लागि काठमाण्डौंको यातायात प्रणाली सुधार गर्नुपर्ने बताउँछन्।

उनले भने, "आधा भन्दा बढी प्रदूषण यातायात प्रणालीबाट आउँछ, बाटो बनाउँदा र मर्मत सम्भार गर्दाको धुलो र गाडीबाट निस्कने धूवाँबाट। धुलो बढी हुँदा गाडिको एयर फिल्टर बिग्रेर झन् बढी धुवाँ फाल्न थाल्छ।"

खुला रूपमा फोहोर तथा बालीनालीका खोस्टा जलाउँदाको प्रभावसँगै इँटा भट्टाको विस्थापन थप चुनौती देखिएको जानकारहरूले औंल्याएका छन्।

'सम्भव'

सम्मेलनमा आफ्नो देशको एउटा शहर अढाई दशकमै कसरी प्रदुषण मुक्त बस्न लायक बन्यो भनि मेक्सिकोकी अवैतनिक राजदूत मेलबा प्रियाले सुनाएको अनुभव सहभागीको निम्ति चाख लाग्दो थियो।

उनले भनिन्, "अहिले हामी राम्ररी बस्नलायक विश्वका शीर्ष ४० शहरभित्र पर्छौं। यसको सन्देश के हो भने प्रदूषण नियन्त्रण सम्भव छ। काठमाडौंमा उतिबेला म्याक्सिको सीटीले झेलेको भन्दा कम प्रदूषण छ र यतिखेर विज्ञानले ल्याएको सहजता बढी छ।"

यद्यपि अहिलेसम्म काठमाडौंका कुनै पनि नगरपालिकाले औपचारिक रूपमा पुनर्प्रयोग गर्न मिल्ने गरी ठोस फोहरको प्रशोधन गरेका छैनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रदूषण घटाउने प्रयास