जासुसी गरेको अभियोगमा पाकिस्तानी जर्नेललाई आजीवन कारावास, अन्य दुईलाई मृत्युदण्ड

पाकिस्तानका सेनाप्रमुख कमार जावेद बाज्वाले यो आदेशलाई सदर गरेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पाकिस्तानी सेनाप्रमुख कमार जावेद बाज्वाले सो आदेशलाई सदर गरेका छन्

पाकिस्तानको एउटा सैन्य अदालतले जासुसी गरेको ठहर गर्दै एक वरिष्ठ सैन्य अधिकारीलाई आजीवन कारावास तथा एक निजामती कर्मचारी र अर्का एक सैन्य अधिकारीलाई मृत्युदण्ड सुनाएको छ।

ती तीन जनाविरुद्ध विदेशी निकायका लागि जासुसी गरेको र संवेदनशील सूचना चुहाएको अभियोग लगाइएको पाकिस्तानी सेनाले जनाएको छ।

सेनाका अनुसार सेनाप्रमुख जेनरल कमार जावेद बाज्वाले सैन्य अदातलको आदेशलाई अनुमोदन गरेका छन्।

सेनाले उनीहरूले कसका लागि जासुसी गरेका थिए र कस्तो सूचना उपलब्ध गराएका थिए भन्ने विषयमा केही खुलाएको छैन।

तर धेरै पर्यवेक्षकहरूले अमेरिकी गुप्तचर निकाय सीआईएका लागि हुन सक्ने अनुमान गरेको बीबीसी संवाददाता मोहम्मद इलियास खान बताउँछन्।

खानका अनुसार अमेरिका र पाकिस्तानबीच सैन्य सहकार्यको लामो इतिहास छ र सैन्य अधिकारीहरू वारंवार सम्पर्कमा आइराख्छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

सैन्य सेवाबाट अवकाश पाइसकेका लेफ्टिनेन्ट जर्नेल जावेद इक्बालले अब १४ वर्ष कारागारमा बिताउनुपर्नेछ।

सेनामा त्यति उच्च पद धारण गरेको व्यक्ति जासुसीको आरोपमा दोषी ठहर हुनु दुर्लभ घटना भएको संवाददाताहरूले बताएका छन्।

इक्बालले सेवामा हुँदा महत्त्वपूर्ण ओहोदा र स्थानमा बसेर काम गरेका थिए। देश तथा विदेशमा गरिने सबै खाले सैन्य अभियानको योजना निर्माण तथा कार्यान्वयन विभागका प्रमुख भएर पनि उनले काम गरेका थिए।

उनी सेनाको अनुशासन तथा उत्तरदायित्व हेर्ने विभागमा पनि थिए।

अर्का अवकाशप्राप्त सैन्य अधिकारी ब्रिगेडियर राजा रिज्वान र चिकित्सक वसिम अक्रमलाई मृत्युदण्ड सुनाइएको छ।

अक्रमले संवेनशील संस्थामा काम गरेको भनिए पनि नाम खुलाइएको छैन।

यसअघि ब्रिगेडियरभन्दा उच्च पदस्थ सैन्य अधिकारीलाई जासुसीको अभियोगमा दोषी ठहर गरिएको थियो कि थिएन त्यो स्पष्ट छैन। तर केही अधिकारीहरूलाई सैन्य विद्रोहको योजनामा सहभागी भएको वा विद्रोही समूहसँग सम्बन्ध राखेको आरोपमा दण्ड दिइएको थियो।

पाकिस्तानमा छुट्टै सैन्य न्यायप्रणाली छ। दोषी ठहर भएका व्यक्तिले पुनरावेदनको अवसर पाउँछन्।