चीनलाई सूचना बेचेको अभियोगमा अमेरिकी गुप्तचरलाई २० वर्ष जेल

तस्बिर स्रोत, ALEXANDRIA SHERIFF'S OFFICE
अमेरिकी गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकृतलाई चिनियाँ गुप्तचरलाई गोप्य सैन्य सूचना उपलब्ध गराएको अभियोगमा २० वर्ष जेल सजाय दिइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।
अमेरिकामा दुई सातासम्म चलेको सुनुवाइमा ६२ वर्षीय केभिन म्यालोरी धेरै अभियोगमा दोषी ठहरिएका थिए।
चिनियाँ भाषा बोल्न पारङ्गत म्यालोरीले उच्चस्तरीय सुरक्षा जाँचपास पाएका थिए र उनको पहुँच संवेदनशील दस्तावेजसम्म थियो।
गोप्य विवरणहरू चीनलाई २५ हजार अमेरिकी डलरमा बेचेकोमा दोषी ठहरिएका थिए।
अभियोजन
अभियोजनको क्रममा प्रस्तुत गरिएका प्रमाणमा एउटा भिडिओ पनि थियो। त्यसमा एउटा हुलाक कार्यालयमा उनले गोप्य विवरणहरू स्क्याम गरेर डिजिटल मेमोरी कार्डमा सारेको देखिन्थ्यो।
उनी सन् २०१७ को मार्च र एप्रिल महिनामा एक चिनियाँ एजेन्टलाई भेट्न साङ्घाई पुगेको न्याय मन्त्रालयको दाबी छ।

तस्बिर स्रोत, AFP
"म्यालोरीले देशलाई ठूलो जोखिममा मात्र पारेनन्, उनले त देशको प्रतिरक्षाका भरमा सुरक्षित ठान्ने मानिसहरूलाई पनि जोखिममा पारे," अमेरिकी न्यायाधिवक्ता जाखरी टर्विलगरले एउटा विज्ञप्तिमा भने।
"नागरिक विश्वासको उल्लङ्घन वा राष्ट्रिय सुरक्षामा सम्झौता गर्दा के हुन्छ भन्ने यस घटनाको सन्देश जोकोहीमा जानुपर्छ," विज्ञप्तिमा भनिएको छ।
"हामी राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता विषयसँग कसरी जुझ्ने भन्ने उपायका लागि सधैँभरि प्रतिबद्ध छौँ।"
'चिनियाँ निसाना'
न्याय मन्त्रालयका अनुसार म्यालोरीले सरकारी निकायका थुप्रै संवेदनशील पदधारण गरेका थिए।
उनले सीआईएका लागि गोप्य मुद्दा अधिकृत र डिफेन्स इन्टर्न्याश्नल एजेन्सी (डीआईए)का लागि गुप्तचर अधिकृतका रूपमा काम गरेका थिए।
"यो भूतपूर्व अमेरिकी गुप्तचर अधिकृतहरूलाई चीनले निसाना बनाइरहेको एउटा खतरनाक क्रम देखिने घटना हो जहाँ उनीहरूले आफ्नै देश र सहकर्मीहरूलाई धोका दिइरहेका छन्," सहायक महान्यायाधिवक्ता जोन डेमर्सले सजाय सुनाइएपछि भने।
यस महिनाको सुरुमा सीआईएका पूर्वगुप्तचर जेरी चुन सिङ ली पनि चीनका लागि जासुसी गरेकोमा अभियोगमा दोषी ठहर भएका थिए। अभियोजनकर्ताहरूले भनेका छन- अङ्गीकृत अमेरिकी नागरिकलाई देशका गोप्य सूचना चुहाउन पैसा दिइएको छ।
गत वर्षको जुन महिना भूतपूर्व अमेरिकी गुप्तचर अधिकारी रोन रक्वेल हसनले पनि चीनका लागि सूचना चुहाउने प्रयास गरेको आरोप खेपेका थिए।
उनले चिनियाँ एजेन्टको रूपमा काम गर्नका लागि कम्तीमा आठ लाख अमेरिकी लिएको न्याय मन्त्रालयको दाबी छ।








