तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बजेट: कसैलाई तरकारीको चिन्ता, कसैलाई भाडाको पीर
झण्डै दुई तिहाइ बहुमतको सरकारले सार्वजनिक गरेको दोस्रो बजेटपछि त्यसबारे समाजका हरेक तह र तप्काका व्यक्तिहरूले आ-आफ्नै ढङ्गले त्यसको विश्लेषण गरिरहेका छन्।
कसैले यो बजेट मार्फत् बढाइएको सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलबको विरोध गरिरहेका छन् भने कोही चाँहि यसले मुलुकको ढुकुटी रित्तिएर देश थप आर्थिक संकटमा पर्ने चिन्ता व्यक्त गरिरहेका छन्।
बजेटबारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल र चियापसलमा विभिन्न खाले चर्चा परिचर्चा भइरहँदा राजधानी काठमाण्डूवासी महिलाहरूलाई भने महँगी बढ्ने चिन्ताले सताएको छ।
बजेटपश्चात् राजधानीका विभिन्न स्थानमा पुगेर बीबीसीले गरेको कुराकानीका क्रममा धेरैजसो महिलाहरू बजेटले महँगी बढाउने चिन्तामा देखिए।
खर्च
त्यस्तै मध्येकी एक हुन्-नेपालगञ्जकी तपस्या श्रेष्ठ।
एउटा निजी कम्पनीमा काम गर्दै अध्ययनरत उनलाई पोहोर परारझैँ बजेट लगत्तै सबैखाले खर्च बढ्ने चिन्ताले पिरोलेको छ।
उनी भन्छिन्, "देशको बजेट हरेक वर्ष बढिरहेको छ। देशको बजेट बढेपछि हाम्रो पनि खर्च बढ्छ तर सरकारले बजेट बढाएझैँ हामीले आफ्नो व्यक्तिगत बजेट त बढाउन सक्दैनौँ नि!"
उनलाई यसपालि सरकारले आयकर छुटको सीमा केही बढाएकोमा पनि खासै चासो छैन।
श्रेष्ठ भन्छिन्, "तलब बढेको छैन। कर छुटको सीमा त्यो पनि थोरै बढाउँदैमा के नै फाइदा हुन्छ र?"
बाराकी रमा घिमिरे क्षेत्रपाटीमा डेरा गरेर परिवार सहित बस्छिन्।
उनका अनुसार आम सर्वसाधारणलाई बजेट आएको अनुभूति हुने भनेकै महँगी बढेर हो।
तरकारीको चिन्ता
घिमिरे भन्छिन्, "मलाई त खासै केही थाहा हुँदैन तर भान्सामा काम गर्नुपर्छ। तरकारी छोइनसक्नु भएको छ। अब झन् बढ्ने होला। फेरि ताजा तरकारी पाए त हुने। कुहिएको तरकारी खानुपर्छ।"
महाराजगञ्ज बस्ने गुल्मीकी देवीका सेनलाई भने सरकारीको जस्तै निजी क्षेत्रको पनि तलब नबढेकोमा चिन्ता छ।
उनी भन्छिन्, "सरकारीको जस्तै तलब बढे त हुने नि तर यहाँ कस्ले सुन्छ र गरिब जनताको कुरा?"
एउटा निजी कम्पनीमा कार्यालय सहायकको काम गर्ने सेनका श्रीमान् वैदेशिक रोजगारीमा छन्।
१ छोरी र २ छोराकी आमा उनलाई बजेटपछि आफ्नो खर्च बढाउनु पर्ला भन्ने चिन्ता छ।
महँगी नियन्त्रण होस्
हाडिगाउँकी भक्ति राजभण्डारी चाहिँ सरकारी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढेको भन्दा पनि महँगी नियन्त्रण नभएकोमा चिन्तित देखिइन्।
"तलब बढोस् वा नबढोस् तर महँगी चाहिँ घटोस्," उनले भनिन्, "कमसेकम एउटै खाद्यान्नको भाउ पसलपिच्छे फरक नहुनुपर्ने हो। यस्तो हुने त हाम्रै नेपालमा मात्रै होला।"
उदयपुरकी हिरा घिमिरेचाहिँ घरभाडा र छोराछोरीको विद्यालयमा शुल्क बढ्ने चिन्तामा छिन्।
"बजेटपछि घरभाडा बढ्ने गरेको छ। किन बढाए भन्यो भने घरबेटीले अर्को घरमा बढेको देखाउँछन्। सस्तो भएको घरको पनि हेरे हुने नि। अब स्कुलको फी पनि बढ्ने होला?" उनले भनिन्।
स्नातक तह अध्ययनरत सदीक्षा खनालको चिन्ता भने बेग्लै छ।
गाडी भाडा बढ्ला
कम्प्युटर विज्ञान अध्ययनरत उनी भन्छिन्, "बजेट आएपछि अब गाडीभाडा बढ्ने भयो। पेट्रोल र डिजेलको भाउ बढेको भन्दै गाडी भाडा बढाइहाल्छन्। चिया र खाजाको पनि भाउ बढ्छ।"
सिन्धुलीकी कविता आलेलाई चाहिँ यो सरकारले पनि पुरानै सरकारहरूले जस्तै जनताका लागि सुविधा नदिएको अनुभव भएको छ।
ललितपुरको झम्सिखेल बस्ने उनी भन्छिन्, "यो देशको स्थिति हेर्दा दिक्क लाग्छ। जुन सरकार आए पनि उस्तै यो बजेटले पनि खै केही होला जस्तो छैन।"
अर्थमन्त्री युवराज खतिवडाले बुधवार संसदमा आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुन गरेका हुन्।
उक्त बजेटमा धैरै वितरणमुखी कार्यक्रमहरू राखिएको भन्दै विपक्षीहरूले आलोचना गरिरहेका छन्।
सरकारले भने बजेटको बचाउ गरेको छ।