रोबर्ट म्युलर: निर्वाचनमा 'रुस-ट्रम्प सम्बन्ध' बारे विशेष अनुसन्धानकर्ताले के भने?

Trump and Pelosi

तस्बिर स्रोत, Getty Images

अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले राष्ट्रपति डोनल्ड ट्रम्पलाई आपराधिक अभियोग लगाउने बाटो नभेटिएको तर उनलाई सफाइ नदिइएको बताएका छन्।

सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा सम्भावित रुसी हस्तक्षेप तथा ट्रम्प र रुसबीच रहेको भनिएको सम्बन्धबारे गरिएको अनुसन्धानबारे पहिलोपल्ट बोल्दै म्युलरले त्यसो भनेका हुन्।

तर उनले आफ्नो प्रतिवेदनले ट्रम्पलाई सफाइ नदिएको र बहालवाला राष्ट्रपतिलाई अभियोग लगाउन कानुनी व्यवस्थाले रोकेको बताएका छन्।

म्युलरको ४४८ पृष्ठ लामो प्रतिवेदनमा ट्रम्पको निर्वाचन अभियान रुससँगको अपराधिक षड्यन्त्रसँग जोडिएको भनेर स्थापित नभएको उल्लेख गरेको छ।

यद्यपि त्यसमा १० वटा त्यस्ता घटनाहरू उल्लेख गरिएको छ जहाँ सम्भवत: ट्रम्पले अनुसन्धानमा अवरोध पार्ने प्रयास गरेको देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

के भने म्युलरले?

आफूले तयार पारेको प्रतिवेदनबारे अमेरिकी संसद् कङ्ग्रेसमा बयान दिन सक्ने सम्भावनालाई म्युलरले अस्वीकार गरेनन्।

तर उनले प्रतिवेदनमा नभएको जानकारी आफूले नदिने बताए।

म्युलरको भनाइलगत्तै प्रतिक्रिया जनाउँदै राष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको र अनुन्धान सकिएको आशयको ट्वीट गरेका छन्।

कङ्ग्रेसमा बयान दिने कुरालाई महाभियोग प्रक्रियाको सङ्केतका रूपमा अर्थ्याइएको छ।

म्युलरले आफ्नो भनाइमा गत महिना सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएकै कुरालाई पुर्नपुष्टि गर्न खोजेका छन्।

यदि आफ्नो टोलीलाई ट्रम्पले "अपराध नगरेको" विश्वास भएको भए आफूहरूले त्यो स्पष्ट रूपमा भन्ने उनले बताए।

रोबर्ट म्युलर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रोबर्ट म्युलर

म्युलरले बहालवाला राष्ट्रपतिलाई कुनै गलत कामका लागि अभियोग लगाउन फौजदारी न्याय प्रणालीबाहेक अन्य संवैधानिक प्रक्रिया आवश्यक पर्ने कानुनी जटिलता औँल्याएका छन्।

तर रुसी गुप्तचरहरूले व्यवस्थित ढङ्गबाट निर्वाचनमा प्रभाव पार्न खोजेको कुरा भने उनले पुष्टि गरे।

म्युलरले विशेष अनुसन्धानकर्ताको कार्यालय अब बन्द भएको र आफूले न्याय मन्त्रालयबाट राजीनामा गरेको घोषणा गरेका छन्।

प्रतिक्रिया के छ?

केही डेमोक्र्याट सांसदहरूले कङ्ग्रेसलाई ठोस कदम चाल्न आग्रह गर्दै ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक सिनेटर कमाला ह्यारिसले राष्ट्रपतिलाई उत्तरदायी बनाउने जिम्मा कङ्ग्रेसको भएको भन्दै महाभियोग प्रक्रिया थाल्नुपर्ने बताएकी छन्।

सिनेटर कोरी बुकरले पनि तत्काल महाभियोग प्रक्रिया थाल्नुपर्ने कानुनी तथा नैतिक जिम्मेदारी काङ्ग्रेसको भएको टिप्पणी गरेका छन्।

तर सभामुख न्यान्सी पेलोसीले महाभियोगबारे कुनै टिप्पणी नगरीकन भनिन्, "कङ्ग्रेससँग अनुसन्धान गर्ने र राष्ट्रपतिलाई अधिकार दुरुपयोगप्रति उत्तरदायी बनाउने संवैधानिक जिम्मेवारी छ।"

संसद्को न्यायिक समितिमा रहेका रिपब्लिकन पार्टीका डाग कलिन्जले विशेष अनुसन्धानकर्ताको प्रतिवेदनबारे वारंवार अनुसन्धान गरिरहँदा देश थप विभाजित हुने भएकाले यो विषय टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।

तर ट्रम्पलाई महाभियोग लगाउन आह्वान गर्ने रिपब्लिकन पार्टीका जस्टिन एमाशले अब त्यो कङ्ग्रेसमा भर पर्ने बताएका छन्।