तातोपानी नाका खुलेपछि नेपालमा चिनियाँ सामान सस्तो होला त?

चार वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पपछि बन्द भएको नेपाल-चीन सीमामा रहेको तातोपानी नाका सञ्चालनमा आएपछि दुई देशबीचको व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यापारीहरूले राखेका छन्।

तातोपानी नाका खुलेपछि नेपालतर्फ व्यावसायिक गतिविधि फस्टाउने मात्र नभएर सर्वसाधारणको दैनिकीमा पनि प्रत्यक्ष प्रभाव पर्ने उनीहरूको बुझाइ छ।

चीनसँग सरसामान आयात र निर्यात गर्नका लागि तातोपानी नाका बन्द भएपछि रसुवा जिल्लाको नाका प्रयोग भइरहेको थियो।

तर वैकल्पिक मार्ग थपिँदा सामान ढुवानी सहज हुने र त्यसको प्रभाव बजारमूल्यमा पर्ने सरकारी अधिकारी र व्यवसायीहरूको एक मत छ।

के चिनियाँ सामान सस्तो हुन्छ?

भूकम्पपछि तातोपानी नाका बन्द हुँदा चिनियाँ सामानको ढुवानी भारतको कोलकताबाट गर्नुपर्ने बाध्यता थियो।

यसले नेपालको बजार भाउमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।

लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तुको बजार मूल्य ह्वात्तै बढ्दा आफूहरूलाई हुने फाइदामा पनि असर पुगेको व्यवसायीहरू सम्झन्छन्।

"तातोपानी नाका सञ्चालनमा आउँदा मूल्य केही घट्न सक्छ," चीनबाट फलफूल आयात गर्दै आएका व्यवसायी उत्तम थापाले बताए।

"रसुवा नाका सञ्चालनमा रहेको अवस्थामा ठूलो भिन्नता नदेखिए पनि समुद्री मार्गको तुलना गर्ने हो भने ठूलो अन्तर हुन्छ। रसुवा र तातोपानी दुवै सञ्चालन हुँदा समुद्री मार्गको प्रयोग कम हुन जान्छ।"

थापाका अनुसार चीनको सामान समुद्री मार्ग हुँदै सामान ल्याउँदा कोलकातासम्म आइपुग्न नै झन्डै ४० दिन लाग्छ। समय बढ्दा मूल्य पनि बढ्छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भने बजारमूल्यमा कस्तो प्रभाव पर्छ भन्ने कुराको आकलन अहिले नै गर्न नसकिने बताउँछन्।

सामान ढुवानीको समय घट्नु आफैँमा आर्थिक लाभ रहेको बताउँदै उनले बजार मूल्यको असर हेर्न भने केही समय लाग्ने बताए।

बहुआयामिक फाइदा

नेपाल-चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठ नाका सञ्चालनले बजार मूल्यमा केही हदसम्म सकारात्मक प्रभाव पर्ने बताउँछन्।

तर मूल्य कति प्रतिशत घट्छ भन्ने कुरा भन्न सकिने अवस्था नरहेको उनले बीबीसी नेपाली सेवालाई बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष पनि रहेका श्रेष्ठ भन्छन्, "मालसामान ढुवानी गर्ने सवारी साधनको सञ्चालनमा कायम सिन्डिकेट अन्त्य गर्न सके बजारमूल्यमा अझ धेरै सकारात्मक प्रभाव पर्न सक्छ।"

तातोपानी नाकाको सञ्चालनले बजार मूल्य मात्र नभएर अन्य थुप्रै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन्।

मानसरोवर जाने पर्यटकहरूका लागि तातोपानी हुँदै यात्रा गर्न सहज हुने उनको बुझाइ छ।

तर चिनियाँ पक्षले भने तत्कालका लागि उक्त नाका सामान ढुवानीका लागि मात्र प्रयोगमा ल्याउने बताएको छ।

अपेक्षा

काठमाण्डूको भृकुटीमण्डपमा विगत २५ वर्ष देखि चिनियाँ सामानको व्यापार गर्दै आएकी खुद्रा व्यापारी तुलसा उप्रेतीका अनुसार भूकम्पपछि तातोपानी नाका बन्द हुँदा सामानको मूल्य झन्डै १० प्रतिशतले बढेको थियो।

उनी भन्छिन्, "नाका खुलेपछि मूल्यमा केही कमी आउला भन्ने आशा छ।"

भृकुटीमण्डपमै झोला र सुटकेस व्यापार गर्दै आएकी देवकी उप्रेती पनि उनको कुरामा सहमत छिन्।

उप्रेती भन्छिन्, "नाका बन्द हुँदा मूल्य बढे जस्तै नाका खुल्दा पक्कै घट्ला।"