भारत निर्वाचन: ५४२ स्थानमा मतदान सम्पन्न, एक्जिट पोलका नतिजामा मोदी अगाडि

भारतमा सम्पन्न लोकसभा निर्वाचनपछि आइरहेका एक्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुन: प्रधानमन्त्री हुने देखिएको छ।

मोदीको निर्वाचन क्षेत्र रहेको वाराणसी लगायत क्षेत्रमा आइतवार अन्तिम चरणको मतदान सम्पन्न भएको हो।

सातौँ चरणको निर्वाचनमा साँझ पाँच बजेसम्म ६१ प्रतिसतले मतदान गरेका थिए।

जसमा चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए।

एक महिनाभन्दा बढी समय लगाएर भारतका दश लाख मतदान केन्द्रमार्फत् मतदान भएका थिए।

निर्वाचनको परिणाम मे २३ तारिखका दिन अर्थात् आगामी बिहीवार घोषणा हुने बताइएको छ।

क्जि पोलमा के देखियो?

यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्र्याटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए)बीच मुख्य प्रतिस्पर्धा भएको थियो।

विभिन्न चार एक्जिट पोलमा एनडिए गठबन्धनले २८० देखि ३१५ बीचमा सीटहरू जित्ने अनुमान गरिएको छ। जुन युपीएभन्दा निकै बढी छ।

रिपब्लिक/सी भोटरको एक्जिट पोलका अनुसार एनडिएको २८७ सीट र युपीएको १२८ सीट र अन्यले १२७ सीट ल्याउन सक्ने देखिएको छ।

जबकी टाइम्स नाओ/बीएमआरका अनुसार एनडिएको ३०६ सीट र युपीएको १३२ सीट र अन्यको १०४ सीट पुग्न सक्ने देखाएको छ।

रिपब्लिक/जनका अनुसार एनडिए- ३०५, युपीए- १२४ र अन्यले ११३ ल्याउने देखिएको छ।

न्युज नेशनका अनुसार एनडिए- २८२ देखि २९० बीचमा, युपीए ११८ देखि १२६ सम्म र अन्यले १३० देखि १३८ सम्म सीट जित्ने ठानिएको छ।

भारतको लोकसभामा सरकार बनाउनका न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्नुपर्छ।

तर विगतमा एक्जिट पोलका नतिजाहरू नमिलेका घटनाहरू रहेको भन्दै विश्लेषकहरूले सचेत गराएका छन्।

प्रतिस्पर्धा

यस निर्वाचनमार्फत् भारतीय मतदाताहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउनेबारे निर्णय दिनेछन्।

धेरैले यसलाई मोदीको जनमतसङ्ग्रहका रूपमा हेरेका छन्।

यसपटक मोदीको टक्कर विपक्षी कंग्रेस नेता राहुल गान्धीसँग भएको थियो।

सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले २८२ सिट जितेको थियो भने गान्धीको कंग्रेसले केवल ४४ सिट जितेको थियो।

कति भरपर्दा हुन्छन् 'एक्जिट पोल'हरू?

यो मतदान गरेर निस्कनेहरूसँग गरिने एक सर्वेक्षण हो। पछिल्ला थुप्रै निर्वाचनमा यस्ता सर्वेक्षणका नतिजा गलत पनि सावित भएका छन्।

यसलाई कुनै तरिकाले पनि वास्तविक नतिजा नै भएको प्रमाणित गर्न नसकिने विज्ञहरू बताउँछन्।

सबैजसो टेलिभिजन च्यानलहरूले सर्वेक्षण गर्ने विभिन्न संस्थासँग मिलेर एक्जिट पोल सञ्चालन गर्ने गरेका छन्।

यी फरक-फरक सर्वेक्षणमा नतिजा समेत भिन्न देखिएका छन्।