तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्रिशुली बस दुर्घटना: सडक सुरक्षित बनाउन माग
- Author, शक्तिमाया तामाङ
- Role, बीबीसी नेपाली सेवा
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बञ्छेटारमा त्रिशुली नदीमा आइतवार विहान रात्रीबस खस्दा कम्तीमा आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राजकुमार वैदवारले घटनास्थलमा ६ जनाको मृत्यु भएको बताए।
घाइतेलाई विभिन्न स्वास्थ्यकेन्द्र र काठमाण्डूका अस्पतालमा पुर्याइएको थियो।
काठमाण्डूमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको वैदवारले बताए।
उद्धार
उनका अनुसार मृतकमध्ये ७ जना पुरुष र एक जना महिला रहेका छन्।
काकडभिट्टाबाट काठमाण्डू आउँदै गरेको रात्रिबस ना ७ ख ४३८७ बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले २७ जना घाइतेहरूको उद्धार गरेको अधिकारीहरूले जनाएका छन्।
बसमा ३६ यात्रु सवार रहेको पाइएको प्रहरीले जनाएको छ।
"प्रारम्भिक रूपमा चालक थाकेर निदाउँदा दुर्घटना घटेजस्तो देखिन्छ," एसपी राजकुमार वैदवारले भने।
गम्भीर घाइतेहरूको राजधानी काठमाण्डूस्थित ट्रमा सेन्टर, नर्भिक र मेडिसिटी अस्पतालमा उपचार भइरहेको बताइएको छ।
बस सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो।
दुर्इ महिनाअघि पनि काठमान्डूबाट मनकामना जाँदै गरेको एउटा मिनीबस सोही राजमार्ग अन्तर्गतको बेनीघाटमा नदीमा खस्दा दुई जनाले ज्यान गुमाएका थिए।
एउटा तथ्याङ्क अनुसार नेपालमा बर्सेनि सरदर दुई हजार जनाको यस्ता सडक दुर्घटनामा ज्यान जाने गरेको छ।
साँघुरा सडकमा पर्खाल वा बार लगाउनुपर्ने र घुम्तीहरूमा देखिनेगरी सङ्केतहरू राखिनुपर्ने बताइन्छ।
लामो दूरीमा एउटै चालकले गाडी चलाउने प्रवृत्ति पनि अर्को कारक रहेको सडक सुरक्षाविज्ञहरू बताउँछन्।
काठमाण्डू मेडिकल कलेज इन्जरी रिसर्च सेन्टरका निर्देशक डा. सुनिल कुमार जोशी भन्छन्, "साँघुरा सडक, सडक सुरक्षाका तत्वहरू विचार नगरी बनाइएका सडक कारक हुन्। सम्बन्धित निकायलाई समस्याको समाधानबारे पनि हामीले सुझाव दिएका छौं।"
डा जोशी ती सुझावको कार्यान्वयन नगरिएकाले सडक दुर्घटना हुने र नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था कायम रहेकोमा चिन्ता व्यक्त गर्छन्।
उनी भन्छन्, "अहिले पनि सडक सुरक्षित बनाउन सम्भव छ तर अनुगमन र सुझाव कार्यान्वयन हुनुपर्छ।"