ह्वावेई विवाद: चिनियाँ दूरसञ्चार कम्पनी 'जासुसी हुन नदिने' सहमतिमा हस्ताक्षर गर्न तयार

चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई यूकेलगायत विभिन्न देशहरूसँग "जासुसीविरुद्ध सहमति" मा हस्ताक्षर गर्न इच्छुक भएको सो कम्पनीका अध्यक्षका लियाङ ह्वाले बताएका छन्।

ह्वावेईका उत्पादनमार्फत् चीनले जासुसी गर्न सक्छ भन्ने आशङ्का केही देशहरूले व्यक्त गरेपछि यो घोषणा आएको हो।

सो चिनियाँ कम्पनीले आफ्ना उत्पादनहरू सुरक्षित भएका र तिनबाट जासुसी वा क्षतिको जोखिम नभएको दाबी गर्ने गरेको छ।

उसले आफू स्वतन्त्र कम्पनी भएको र चीन सरकारसँग सम्बन्ध नभएको बताउने गरेको छ।

तर केही देशहरूले सुरक्षाको कारण देखाउँदै ह्वावेईलाई आफ्नो देशको 5G (फाइभजी) सेवामा संलग्न हुन रोक लगाएका छन्।

ह्वावेईका उत्पादन प्रयोग गर्ने कि नगर्नेबारे विवाद हुँदै गर्दा यूकेले भने आफ्नो फाइजजी सञ्जालमा उसका उपकरण सीमित रूपमा प्रयोग गर्ने सङ्केत आएको छ।

गत मङ्गलवार लन्डनमा आयोजित एउटा भेलामा दोभासेको सहायतामा बोल्दै लियाङ ह्वाले "जासुसी तथा जस्केलो हुन नदिने मापदण्डअनुकूल हाम्रा उपकरण बनाउने प्रतिबद्धता गर्न" आफूहरू यूके तथा अन्य देशका सरकारहरूसँग "सहमतिमा हस्ताक्षर गर्न इच्छुक" भएको बताइएका थिए।

निसानामा ह्वावेई

ह्वावेई दूरसञ्चारको क्षेत्रमा प्रयोग हुने उपकरण निर्माण गर्ने संसारको सबैभन्दा ठूलो कम्पनी हो। तर फाइभजी मोबाइल नेटवर्कका लागि उसले बनाएका उपकरणहरूको सुरक्षाका सम्बन्धमा पश्चिमा देशहरूमा गम्भीर चासो उत्पन्न भएको छ।

अस्ट्रेलिया तथा न्यूजील्यान्डले ह्वावेईका उपकरणलाई आफ्नो फाइभजी नेटवर्कमा प्रयोग गर्न रोक लगाएका छन्।

अमेरिकाले पनि आफ्ना सरकारी कार्यालयहरूमा ह्वावेईका उत्पादन प्रयोग गर्न रोक लगाएको छ। उसले आफ्ना साझेदार राष्ट्रहरूलाई पनि ह्वावेईका उत्पादन प्रयोग नगर्ने दबाव दिने गरेको छ।

बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको लागि जोखिम पुर्‍याउन सक्ने ठानिएका दूरसञ्चार उपकरण अमेरिकी कम्पनीहरूले प्रयोग गर्न बन्देज लगाउँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

सो आदेशमा कुनै कम्पनीको नाम नलिइएको भए पनि चिनियाँ कम्पनी ह्वावेईलाई निसाना बनाउन खोजिएको हो।

चीन‍-अमेरिका द्वन्द्व

यो अमेरिकी निर्णय अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व चर्किँदै गरेको बेला आएको छ।

अमेरिकी वाणिज्य मन्त्रालयले ह्वावेई र ऊसँग सम्बन्धित ७० वटा कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको बताएको छ।

अब ती कम्पनीहरूलाई अमेरिकी कम्पनीहरूसँग कारोबार गर्न झनै बढी कठिन हुन सक्छ।

गत शुक्रवार अमेरिकाले चिनियाँ सामानमा लगाइँदै आएको कर दुई गुणाभन्दा बढीले बढाइदिएपछि प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी उत्पादनहरूमा कर बढाइदियो।

केही समयअघि दुवै पक्षले आफूबीच रहेका असहमतिहरू टुङ्ग्याउन छलफल गरेका भए पनि यो विवादले दुई देशबीच व्यापारयुद्ध झन् चर्किएको देखिएको छ।