तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भक्तपुरको वत्सला मन्दिर पुनर्निर्माणमा खटिएका यी ७७ वर्षे कालिगड
- Author, मतिना त्वानावासु
- Role, बीबीसी नेपाली सेवा
भक्तपुरमा तीन सय वर्ष पुरानो राजा भूपतिन्द्र मल्लको सालिक पछाडि प्लाष्टिकको टहरोमुनि एकोहोरो ढुङ्गा खोपिरहेको भेटिन्छन् ७७ वर्षीय कान्छा रञ्जितकार।
उनी विनाशकारी भूकम्पले भत्काएको पुरातात्विक, धार्मिक तथा साँस्कृतिक सहर भक्तपुरको दरबार क्षेत्रको वत्सला मन्दिर पुनर्निर्माण गर्न दुई वर्षदेखि खटिएका छन्।
हरेक दिन बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म हातमा छिना र ह्यामर लिइ ढुङ्गामा ट्वाक ट्वाक गरिरहेको वा खोपेको कलालाई मन्दिरमा मिलाइरहेको उनलाई दरबार क्षेत्र पुग्ने जोकोहीले देख्न सक्छ।
रञ्जितकार भन्छन्: "म बुढो एक्लो काम गरिरहेको देख्नेहरूले सोध्छन् तपाईँको जुनीमा तयार हुन्छ यो मन्दिर?"
"दुई वर्षमा जगैदेखिको हिसाब गर्ने हो भने त ७५ प्रतिशत काम सकेँ। भनेको जस्तो ठूलो ढुङ्गाहरू पाउने हो भने दशैँसम्म तयार होला।"
'ठूलो र राम्रो ढुङ्गा छैन'
रञ्जितकारको अनुभवमा मन्दिरहरू राम्रो र बलियो ढुङ्गाले बनाइएको हुन्छ।
आकारले ठूलो एवम् छिनाले हान्दा नउप्किने र नचर्कने बलियो ढुङ्गामा बुट्टा कुँद्न सजिलो हुने उनको भनाइ छ।
"तर अचेल त्यस्ता ढुङ्गाहरू सजिलै पाइँदैन," उनी भन्छन्।
"नयाँमा बुट्टा कुँदने काम गर्न धेरै समय लाग्छ। कहिलेकाहीँ एउटै ढुङ्गामा दिन बित्छ। त्यसैले सम्भव भएसम्म पुरानै ढुङ्गाहरू प्रयोग गरेका छौँ। बाहिरको बुट्टा बिग्रेको छ भने भित्री भागमा उस्तै बुट्टा बनाएका छौँ।"
जवानीमा ठूल्ठूला ढुङ्गाहरू आफैँ उचाल्ने र फुटाउने गरेको सम्झने रञ्जितकार अहिले भने आफूले उचाल्न नसक्ने ढुङ्गा अरूले आफूले काम गर्ने ठाउँसम्म ल्याइदिने बताउँछन्।
वत्सला दुर्गादेवीको मन्दिरको पुनर्निर्माण विसं २०७३ कार्तिक २० गतेबाट थालिएको हो। तत्कालिन वडा १३ को उपभोक्ता समितिले अरू आठ दश जना मानिसहरूको पनि व्यवस्था गरेको छ।
तर कहाँको ढुङ्गामा कस्तो बुट्टा थियो भन्ने जानकारी र नयाँ ढुङ्गामा पहिलाको जस्तै बुट्टा खोप्ने सीप रञ्जितकारसँग मात्रै भएकाले उनले काम नसकि अरूको खासै काम नहुने भएकाले उनी प्राय: एक्लै काम गरिरहेका हुन्छन्।
एक्ला कालिगड
"हामीकहाँ हातैले ढुङ्गामा बुट्टा कोर्न जान्ने कालिगडहरू धेरै छैनन्। भएकाहरू ज्याला धेरै पाउँछ भनेर पाटन वा काठमान्डूमा जान्छन्," उनी भन्छन्।
"म बुढो पनि भइसकेँ। अन्त काम गर्नुभन्दा यतै मलाई ठिक छ। नगरपालिकाले दैनिक एक हजार रुपैयाँ ज्याला दिन्छ।"
हातले ढुङ्गामा बुट्टा बनाउन धैर्य चाहिने उनी बताउँछन्।
"मेसिनले कोरेको बुट्टा र हातैले कोरेको बुट्टा धेरै फरक हुन्छ। मेसिनले काम छिटो हुन्छ तर पहिलाको जस्तो बन्दैन। मेसिन नै नभएको बेला बनेको यो मन्दिर उस्तै गरी फेरि बनाउन हातैले गर्नुपर्छ। त्यसैले समय लाग्ने हो।"
आफू जस्तै बुट्टा कोर्न जान्ने कालिगड कम्तिमा अर्को एकजना भइदिएको भए वत्सला मन्दिरको पुनर्निर्माण समयमै सकिने उनी बताउँछन्।
"पैसा पैसा भनेर के गर्नु। आफ्नो संस्कृति आफ्नो ठाउँको मन्दिर बनाउने काम त आफ्नै हो। आफ्नो काम ज्याला कम भएपनि गर्नुपर्छ।"
ढुङ्गाको कामले चिनायो
विसं १९९९ सालमा भक्तपुरको ताथलीमा जन्मिएका रञ्जितकारले १६ वर्षकै उमेरमा ढुङ्गाको काममा हात हालेका हुन्।
केही कालिगडहरूसँग पहिलोपटक ढुङ्गाको काममा प्रवेश गरेका उनी भन्छन् "मैले पहिलो पटक चासुखेलको चण्डेश्वरीमा ढुङ्गा छाप्ने काम गरेको हुँ। दिनको पाँच मोहर ज्यालामा काम गरेका थियौँ। त्यतिबेला काम गर्ने आठ दश जनामध्ये म मात्र जिउँदो छु।"
त्यसअघि उनी सामान्य खेती किसानी र काठको झ्यालढोका बनाउने काम गर्थे। काठको कामले भन्दा ढुङ्गाको कामले आफ्नो आय बढ्न थालेपछि उनले ढुङ्गाको कामलाई नै निरन्तरता दिए।
"पछि जर्मन प्रोजेक्टमा ढुङ्गा छाप्ने काम गर्ने अवसर मिल्यो। त्यसपछि यही नै काम गरिरहेको छु।"
यही कामका कारण उनलाई मानिसहरूले चिनेको उनी बताउँछन्। भूकम्प पछि त वत्सला मन्दिरको कामका कारण नयाँ पुस्ताले पनि चिन्न थालेको उनी बताउँछन्।
"मेरो फोटो खिच्छन्, मसँग कुरा गर्छन। कोही सोधेर फोटो खिच्छन् कोही लुकेर। लुकेर फोटो खिचेको मलाई मन पर्दैन।"
नयाँ पुस्ता तयार भएन
उनका तीन छोरा र दुई छोरी छन्। माइलो छोराले ढुङ्गाको डिपो राखेका छन् भने एक जना नाति ढुङ्गाकै काम गर्छन्। तर उनको जस्तो सीप कसैको छैन।
आफू काम गर्न हिँडेको ठाउँमा आफूसँग जान चाहनेलाई लिएर जाने र सिकाउने गरेको बताउने उनी त्यसरी पाँच छ जनाले राम्रो काम सिकेको सम्झन्छन्।
भूकम्पअघि रञ्जितकारको कामको ठेगान थिएन। कहिले कता कहिले कता कुनै मन्दिर मर्मत गर्न वा बाटोघाटो मर्मत गर्न गइरहन्थे।
बिहान छ बजेदेखि नौ बजेसम्म उनी संरक्षणविद् रविन्द्र पुरीको बासुकी घरमा ढुङ्गामा बुट्टा कोर्ने काम गर्छन्। त्यसपछि खाना खाएर दरबार क्षेत्र पुग्छन्।
वत्सला मन्दिरको काम सकिएपछि उनले नियमित काम पाउने निश्चित छैन।
"कसैले मन्दिर भत्कियो बनाउन पर्यो भन्यो भने बनाउन जाने हो। नत्र बिहान बासुकी घरमा काम गरेर बस्छु।"
नयाँ पुस्ता यो सीप सिक्न खोज्छन् त भन्दा उनको जवाफ थियो: "कसले सिकाउने? सिकेर के बनाउने? अचेल ढुङ्गाको मन्दिर कहाँ बनेका छन्? उही पुरानो भत्किए मर्मत गर्ने हो। जानेका मानिसहरूले त सधैँ काम पाउँदैनन्। नयाँ सिक्नेले त के गर्लान् खै।"