तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत निर्वाचन: राजीव गान्धीबारे गरेको टिप्पणी 'तथ्य' भएको नरेन्द्री मोदीको दाबी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीव गान्धीबारे आफूले गरेको टिप्पणी फिर्ता गर्न अस्वीकार गरेका छन्।
उत्तर प्रदेशको लखनऊमा आयोजित एउटा चुनावी सभामा सम्बोधन गर्दै मोदीले पूर्वप्रधानमन्त्री गान्धी देशको सबैभन्दा ठूलो भ्रष्टाचारी भएको टिप्पणी गरेका थिए।
प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष तथा राजीव गान्धीका छोरा राहुल गान्धीप्रति कटाक्ष गर्दै उनले भनेका थिए, "तपाईँका पितालाई उनका भारदारले मिस्टर क्लीन बनाइदिए। तर उनको जीवनकाल भ्रष्टाचारी नम्बर १ का रूपमा समाप्त भयो।"
त्यसअघि राहुल गान्धीले मोदी रोजगारी र किसानको स्थितिबारे प्रत्यक्ष बहस गर्न डराएको बताएका थिए।
राजीव गान्धीको सन् १९९१ मा एउटा चुनावी र्यालीमा भएको एउटा आत्मघाती बम विस्फोटनमा परेर मृत्यु भएको थियो।
मोदीले गरेको टिप्पणीको कांग्रेस पार्टीले मात्र नभएर अरू विपक्षी दलहरूले पनि आलोचना गरेका छन्।
तर एउटा अन्तर्वार्तामा मोदीले आफूले "तथ्य" भनेको भन्दै आफ्नो भनाइको प्रतिरक्षा गरेका छन्।
यसले के फरक पार्ला?
प्रधानमन्त्री मोदीको आक्रामक टिप्पणीप्रति धेरै जना आश्चर्यचकित भएका छन्।
क्षेत्रीय दल , राजनीतिक टिप्पणीकार र राजीव गान्धीका विपक्षीहरूले पनि मोदीको भनाइको आलोचना गरेका छन्।
सन् १९८९ मा राजीव गान्धीविरुद्ध निर्वाचनमा उठेका राजमोहन गान्धीले इन्डिएन एक्स्प्रेस पत्रिकामा लेख्दै भनेका छन्, "यदि १९९१ मा कसैले भारतमा राजीव गान्धी भारतका सबैभन्दा भ्रष्ट व्यक्ति हुन् भन्ठानेका थिए भने मैले तिनलाई भेटेको छैन। सत्तारूढ वा विपक्षी कुनै सांसदले पनि व्यक्तिगत रूपमा राजीवलाई भ्रष्ट मानेजस्तो लाग्दैन।"
मोदीको भनाइको निन्दा गर्दै दिल्ली विश्वविद्यालयका दुई सयभन्दा बढी प्राध्यापकले एउटा पत्रमा हस्ताक्षर गरेका छन्।
केही विश्लेषकका अनुसार मोदीले आफ्नो दल भारतीय जनता पार्टीले निर्वाचनमा राम्रो गर्न नसक्ने देखेर आत्तिएर त्यस्तो टिप्पणी गरेको बताएका छन्। तर केहीले भने फेरि उठ्न लागेको कांग्रेसविरुद्ध जनमत विभाजित गरिदिन र आफ्नो दलको जितलाई सघाउन मोदीले त्यसो भनेको हुन सक्ने बताएका छन्।
कारण जे भए पनि मोदी आफ्नो भनाइमा दृढ देखिएका छन्। उनले कांग्रेस पार्टीलाई जारी निर्वाचनमा बाँकी दुई चरणको मतदानमा राजीव गान्धी र भ्रष्टाचारको मुद्दा उठाउन चुनौती दिएका छन्।
मोदीको भनाइप्रति राहुल गान्धीले ट्विटरमा एउटा प्रतिक्रिया मात्रै लेखे। टिप्पणीकारहरूले यसको प्रशंसा गरेका छन्।
राहुल गान्धीले मोदीलाई सम्बोधन गर्दै लेखेका छन्, "मोदीजी, युद्ध सकियो। तपाईँको कर्मले तपाईँको प्रतीक्षा गर्छ। तपाईँलाई आफूबारे भित्रैदेखि लागेको कुरा मेरा बुवातिर पन्छाउँदा तपाईँ जोगिनुहुन्न।"
तर राहुलकी बहिनी प्रियङ्का गान्धी भने आक्रामक देखिइन्।
हिन्दीमा गरिएको ट्वीटमा उनले लेखेकी छन्, "शहीदको नाममा भोट मागेर तिनको शहादतको अपमान गर्ने प्रधानमन्त्रीले आफ्नो सनकमा एक राम्रो र पवित्र व्यक्तको शहादतको अनादर गरेका छन्। अमेठीका जनताले उत्तर दिन्छन् जस्का लागि राजीव गान्धीले आफ्नो जीवन दिए।"
राहुल गन्धीले मागे माफी
यसैबीच राहुल गान्धीले प्रधानमन्त्री मोदीको आलोचना गर्दा सर्वोच्च अदालतको नाम उल्लेख गरेकोमा माफी मागेका छन्।
अदालतमा दर्ता गरिएको एउटा पत्रमा राहुल गान्धीले मोदीलाई आफूले भ्रष्ट भन्दा "दुर्घटनावश र नजानीकन" अदालतको नाम उल्लेख गरेको बताएका छन्।
सरकारलाई रफाएल जेट सम्झौतामा भ्रष्टाचार अभियोगमा सफाइ दिने पहिलाको आदेशलाई पुन: परीक्षण गर्ने सर्वोच्च अदालतको निर्णयबारे टिप्पणी गर्दै गान्धीले एप्रिल १० मा आयोजित कार्यक्रममा चौकीदार नै चोर भएको बताएका थिए।
मोदीले आफूलाई देशको चौकीदार भएको भन्दै निर्वाचन अभियान चलाएका छन्।
निर्वाचनमा कहाँ के हुँदैछ?
यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ।
लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।
अहिलेसम्म पाँच चरणमा मतदान भइसकेको छ।
निर्वाचनमा को बलियो?
मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो।
भाजपाले यसपालि पनि बहुमत ल्याउने उद्देश्य राखेको छ।
तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ।
राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुहजुरबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए। उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्।
प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन्।
आलोचना किन?
मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहेका छन्। तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन्।
मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन्।
यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन्।
सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए।
सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कंग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको थियो।
कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्नेछैन।
भारतमा निर्वाचनको इतिहास
संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।
पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो।
सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चारदेखि १० दिन लागेको थियो। सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको थियो।
यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।
नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।