तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्का आक्रमण: शुक्रवार सशस्त्र समूहसँगको भिडन्तपछि १५ वटा शव वरामद
श्रीलङ्कामा गरिएको सुरक्षा कार्वाहीका क्रममा इस्लामिष्ट उग्रवादीहरूले गरेका आत्मघाती विस्फोटनमा ६ जना बालबालिका सहित १५ जनाको ज्यान गएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार प्राप्त सूचनाको आधारमा बाटिकलोआ नजिकै अम्पारा साइतन्मरुतुमा छापा मारिएको थियो।
आइतवार कम्तिमा २५० जनाको ज्यान जाने गरी भएको आक्रमणसँग सम्बन्धित सन्दिग्ध स्थानहरूमा छापा मार्ने क्रममा सशस्त्र समूहसँग भिडन्त भएको श्रीलङ्का प्रहरीले जनाएको छ।
छापा मार्ने क्रममा बन्दूकधारीहरूले गोली चलाएको र त्यहाँ रहेका तीजना पुरुषले विस्फोटक पदार्थ पडकाएको प्रहरीको भनाइ छ।
त्यस घटनामा ती बालबालिका र तीनजना महिनाको ज्यान गएको बताइएको छ। अन्य तीनजना गोली लागेर मारिएका थिए।
गोली लागेर एकजना गैरसैनिकको ज्यान गएको र घाइते भएका एक महिला र बालकलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनास्थल आइतबारको हमलाहरूका मुख्य योजनाकार भएको आशंका गरिएका व्यक्ति एकजना चरमपन्थी धर्मगुरु जाहरान हाशिमको गृहनगरबाट नजिकै रहेको छ।
सोही स्थानमा भएको अर्को कार्वाहीमा प्रहरीले आइएसको झण्डा, १५० थान जिलेटिन, हजारौँ स्टिलका गेडीहरू र एउटा ड्रोन क्यामरा फेला परेको सेनाको प्रवक्ताले बताएका छन्।
स्थानीय पत्रिकाहरूले प्रहरीलाई उद्धृत गर्दै शुक्रवार देशभरीबाट १० जना गिरफ्तार गरिएको जनाएका छन्। प्रहरीले आइतबारको आक्रमणमा संलग्नताको आशङ्कामा हिरासतमा लिएकाहरूको सङ्ख्या ८० पुगेको छ।
राष्ट्रपति मैत्रीपाल सिरिसेनाले आइएससँग सम्बन्ध भएको आशंका गरिएका मानिसहरूको संख्या देशभरिमा १३० जना रहेको ठानिएको र प्रहरीले ति मध्ये अझै ७० जनालाई खोजिरहेको बताएका छन्।
आइतवार प्रार्थना कार्यक्रम स्थगित
श्रीलङ्काको क्याथोलिक चर्चले आइतवारको प्रार्थना कार्यक्रम अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको छ।
कोलम्बोका आर्चबिसप म्याल्कम रन्जितले थप आक्रमणको धम्की दिइएको चुहाइएका दस्तावेजहरू आफूले देखेको बताएका छन्।
उनले आइतवार बम हमलाहरूका सम्बन्धमा पहिले नै प्राप्त चेतावनीका सम्बन्धमा सरकारले समयमै कदम नचालेकोमा आफूले "धोका पाएको" अनुभव गरेको पनि बताएका छन्।
"हामीलाई केही थाहा थिएन। त्यो चट्याङ्गको रूपमा आयो," उनले भने।
श्रीलङ्काका प्रधानमन्त्रीले पनि महत्वपूर्ण गुप्तचर जानकारीहरू आफूलाई पनि नदिइएको बताएका छन्।
आक्रमणका नाइके मारिए
शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके जहरान हाशिम आक्रमणमा मारिएको राष्ट्रपति सिरिसेनाले बताएका छन्।
राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक हाशिम पनि मारिएको सिरिसेनाले बताए।
उनका अनुसार "इल्हाम" नाम गरेका अर्का बम आक्रमणकारीसँगै हाशिमले लोकप्रिय पर्यटक होटलमा आक्रमण गरेका थिए।
कोलम्बोस्थित केही होटल तथा गिर्जाघरहरूमा अघिल्लो आइतवार गराइएका विस्फोटमा कम्तीमा २५० जना मारिएका थिए।
आक्रमणमा स्थानीय इस्लामवादी उग्रवादी समूह न्याशनल तौहिद जमातको हात रहेको श्रीलङ्काका अधिकारीहरूको आरोप छ।
आक्रमणमा नौजना सन्दिग्ध हमलाकारी सामेल रहेको बताइन्छ।