वसन्तकुमार शर्म्मा 'नेपाल': वयोवृद्ध साहित्यकार तथा शब्दकोशकारको निधन

वरिष्ठ साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्म्मा 'नेपाल'को शनिवार काठमाण्डूमा निधन भएको छ।

उनका नाति डा. विपीन नेपालका अनुसार साहित्यकार नेपाल केही महिनादेखि गम्भीर रूपमा अस्वस्थ थिए।

केही महिनादेखि विस्मृति र अल्सरबाट पीडित नेपालको पछिल्लो समय फोक्सोमा सङ्क्रमण भएको थियो।

उनका 'नेपाली शब्दसागर' नामक शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्। विसं २०५७ मा प्रकाशित नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन्।

विसं १९७९ को रामनवमीका दिन काठमाण्डूको महाराजगन्जमा जन्मिएका उनी गत साता ९६ वर्ष पूरा गरेर ९७ वर्षमा प्रवेश गरेको उनका माहिला छोरा विनयकुमार नेपालले बताए।

नेपालका केही पुस्तकहरूमा उनको जन्म विसं १९८४ मा भएको उल्लेख गरिएको छ। त्यसलाई आधार मानेर यसअघि उनको उमेर ९१ वर्ष लेखिएको थियो।

दिउँसो दुई बजे चाबहिलस्थित आफ्नै निवासमा निधन भएका नेपालको पशुपति आर्यघाटमा साँझ दाहसंस्कार भयो।

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाली भाषा प्रकाशिनी समिति, भाषानुवाद परिषद् र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गरेका थिए।

उनले लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन पनि गरे।

शब्दसागरमा प्रकाशित उनको सङ्क्षिप्त परिचयमा विसं २००७ सालदेखि विभिन्न पत्रपत्रिका तथा रेडियोमा उनले नेपाली, संस्कृत, नेवारी र हिन्दी भाषामा लेख, रचना तथा नाटक विभिन्न उपनामबाट प्रकाशित वा प्रसारित हुन थालेको उल्लेख छ।

उनको पहिलो कृति 'युगको वारिस' विसं २००८ मा प्रकाशित भएको थियो।

विसं २०१० मा नेपालीमा प्रकाशित मेक्सिम गोर्कीको 'आमा' उपन्यासको अनुवादका लागि उनले रुस सरकारबाट पुरस्कार पाएका थिए।

विभिन्न मानसम्मान पाएका उनलाई देवकोटा काव्य सम्मान-२०६०, मदन पुरस्कार स्वर्णवर्ष सम्मान-२०६२ पनि दिइएको थियो।

गद्य तथा पद्यमा लिखित आफ्ना मौलिक कृतिबाहेक नेपालले संस्कृत साहित्यका विभिन्न कृतिहरूको नेपालीमा अनुवाद गरेका छन्।

तीमध्ये केही प्रकाशित हुन बाँकी नै छन्।

यो पनि पढ्नुहोस्