तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी विदेशमन्त्रीले 'वाहियात' कुरा गरेको उत्तर कोरियाको आरोप
निकै समययता सुधार हुँदै आएको उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा फेरि तनाव हुने सङ्केत गर्दै उत्तर कोरियाले प्योङयाङ र वाशिङटनबीच हुने परमाणु वार्ताबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई हटाउन माग गरेको छ।
त्यहाँको विदेश मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले पोम्पेओको ठाउँमा अलि सावधानपूर्वक तथा परिपक्व हिसाबले कुरा गर्ने मानिस आवश्यक भएको बताए। यसअघि प्योङयाङले एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको जनाएको थियो।
उत्तर कोरियाको विदेश मन्त्रालयका एकजना वरिष्ठ अधिकारी क्वन जङ गनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले "वाहियात कुरा गरेको" आरोप लगाए।पोम्पेओका जथाभाबी अभिव्यक्तिले खतरनाक स्थिति निर्माण गरिरहेको उनले बताए।
गत फेब्रुअरीमा किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भियतनाममा भएको शिखर सम्मेलन विना सहमति टुङ्गिएको थियो। यसअघि प्योङयाङले एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको जनाएको थियो। जुन हनोइको सम्मेलनपश्चात् गरिएको पहिलो त्यस्तो परीक्षण हो।
"शक्तिशाली युद्धशीर्ष"
"ट्याक्टिकल गाइडेड वेपन" भनिएको सो अस्त्रबारे त्यहाँको सरकारी समाचारसंस्थाले धेरै जानकारी दिएको छैन तर उसले त्यसमा "शक्तिशाली युद्धशीर्ष" जडान भएको उल्लेख गरेको छ।
उत्तर कोरियाले यसअघि पनि यस्तै किसिमको अस्त्र परीक्षण गरेको दाबी गरेको थियो। तर पर्यवेक्षकहरूले त्यसलाई अमेरिकामाथि दबाव सिर्जना गर्ने प्रयासका रूपमा अर्थ्याएका थिए।
उक्त अस्त्रबारे खासै धेरै विवरण सार्वजनिक गरिएको छैन।
यद्यपि सानो दुरीको अस्त्र भएकोले त्यसबाट संयुक्त राज्य अमेरिकालाई खतरा नरहेको विश्लेषकहरूको धारणा छ। गत वर्ष आफ्नो परमाणुक्षमता "पुष्टि भइसकेको" जनाउँदै प्योङ्याङले अबका दिनमा अन्य महाद्वीपमा हमला गर्न सक्ने लामो दुरीको क्षेप्यास्त्र परीक्षण नगर्ने जनाएको थियो।
उत्तर कोरियाले बलिस्टिक र लामो दुरीको क्षेप्यास्त्रमा समेत अटाउने परमाणुबम बनाएको र उक्त अस्त्र अमेरिकासम्म पुग्न सक्ने दाबी गर्दै आएको छ।
गत हप्ता नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि "सही नियत" लिएर आए थप वार्ता गर्न सकिने बताएका थिए। उत्तर कोरिया अमेरिकाले आर्थिक प्रतिबन्ध हटाओस् भन्ने चाहन्छ भने वाशिङटन कोरियाली प्रायद्वीपमा परमाणु निरस्त्रीकरण होस् भन्ने चाहन्छ।