तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इन्डोनेशिया निर्वाचन: मत सर्वेक्षण अनुसार राष्ट्रपति जोको विडोडो अगाडि
इन्डोनेशियामा सम्पन्न भएको राष्ट्रपतीय चुनावका अनौपचारिक प्रारम्भिक परिणाम अनुसार सत्तासीन राष्ट्रपति जोको विडोडो आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका छन्।
आधिकारिक मत सर्वेक्षण समूहहरूले गरेको चुनावी मत सर्वेक्षणका सुरुवाती नतिजा अनुसार राष्ट्रपति विडोडो उनका प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोभन्दा करिब १३ अङ्कले अगाडि रहेका छन्।
निर्वाचन आयोगले चाहिँ अर्को महिनाको सुरुतिर मात्र औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरिने बताएको छ।
धेरै द्वीपसमूहमा छरिएको इन्डोनेशियामा भएको राष्ट्रपतीय चुनावमा १९ करोडभन्दा बढी मतदाता सहभागी भएका छन्। इन्डोनेशियाको मतदानलाई विश्वकै ठूला मध्येको एक प्रजातान्त्रिक अभ्यास मानिन्छ।
प्रतिस्पर्धा
यो चुनावमा २० हजार स्थानीय तथा राष्ट्रिय स्थानहरूको लागि प्रतिस्पर्धा भएको छ। सन् २०१४ मा पनि विडोडो र प्राबोवो सुबिआन्तोबीच नै प्रतिस्पर्धा भएको थियो।
मुस्लिम बाहुल्य भएको इन्डोनेशियाका दुवै राष्ट्रपतीय उम्मेदवारहरूविरुद्ध देशका अतिवादी इस्लामवादी शक्तिहरूलाई रिझाउँदै अनुदारवादी मतदाताहरूको मत आफ्नो पोल्टामा पार्ने प्रपञ्चहरू गरेको आरोप लागेको छ।
अर्को पाँच वर्षे कार्यकाल सम्हाल्न लालायित विडोडोले अग्रता कायमै राख्ने अपेक्षा गरिएको छ।
दुवै राष्ट्रपतीय उम्मेदवारहरू मतदानमा सहभागी भएका थिए।
विडोडोले राजधानी जाकार्तामा आफ्नो मत खसालेका थिए भने प्रबोवोले एक घन्टा दक्षिणमा पर्ने बोगोरमा मत हालेका थिए।
विश्लेषकहरू भन्छन् दुवै प्रत्याशीहरूले धेरै फरक नीति अघि सारेका छैनन्। खाली चिनियाँ लगानीका विषयमा उनीहरूबीच मतभिन्नता रहेको छ।