तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एक्वेडोरका राष्ट्रपति भन्छन्, 'जुलिअन असान्जले दूतावास जासुसी गर्न प्रयोग गरे'
जुलिअन असान्जले एक्वेडोरको लन्डनस्थित दूतावासलाई "जासुसी गर्ने केन्द्र"का रूपमा प्रयोग गरेको आरोप सो देशका राष्ट्रपतिले लगाएका छन्।
एक्वेडोरले उनलाई दिइएको शरण दिने निर्णय उल्टाएपछि विकिलिक्सका सहसंस्थापक असान्जलाई गत हप्ता सो दूतावासबाट पक्राउ गरिएको थियो।
उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए।
एक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले अरू कुनै देशले सो निर्णय गर्न आफूलाई नउकासेको बताएका छन्।
असान्जले बारम्बार नियमहरू उल्लङ्घन गरेकाले त्यो निर्णय लिइएको उनको दाबी छ।
द गार्डिअनसँग कुरा गर्दै राष्ट्रपति मोरेनोले आफ्नो देशको पुरानो सरकारले लन्डनस्थित दूतावासलाई अरू देशका गतिविधिमा "हस्तक्षेप" गर्न उपलब्ध गराएको आरोप लगाए।
असान्जकी वकिलले एक्वेडोरले असान्जविरुद्ध आधारहीन आरोप लगाएको बताएका थिए।
को हुन् मोरेनो?
मोरेनो सन् २०१७ मा राष्ट्रपति बनेका हुन्।
सात वर्षअघि पूर्ववर्ती सरकारले असान्जलाई आफ्नो देशको दूतावासमा बस्न दिने निर्णयको आलोचना गर्ने गरेका छन्।
उनले भने, "अस्थिरता गराउने कुनै पनि प्रयास एक्वेडोरका लागि निन्दनीय कार्य हो। किनभने हामी सार्वभौम राष्ट्र हौँ र प्रत्येक देशको राजनीतिको सम्मान गर्छौँ।"
"हामी आफ्नो घर, त्यो घर जसले आफ्ना ढोका उघारिदियो, जासुसी गर्ने अखाडा बनाउन दिन सक्दैनौँ।"
उनले असान्जले सफासुग्घर नगरेको आरोप पनि लगाए। यसअघि एक्वेडोरकी आन्तरिक मामिलामन्त्री मारिया पाउला रोमोले पनि त्यस्तै आरोप लगाएकी थिइन्।
असान्जकी वकिल जेनिफरले भने ती आरोपको खण्डन गरेकी छन्।
स्काई टीभीको सोफी रिज कार्यक्रममा बोल्दै उनले भनिन्, "पहिलो कुरा, ब्रिटिश प्रहरीलाई दूतावासमा छिर्न दिने अवैधानिक र अभूतपूर्व कार्यलाई सही ठहर्याउन एक्वेडोरले केही दिनयता एकदमै आपत्तिजनक आरोप लगाउँदै आएको छ।"
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको गोप्य कम्प्युटर ह्याक गरेको आरोप लागेपछि असान्जले आफूलाई अमेरिका सुपुर्दगी गरिन सक्ने भन्दै त्रास व्यक्त गरेका थिए।
जेनिफरले सो त्रास अहिले आएर प्रमाणित भएको बताइन्।
सन् २०१२ मा एक्वेडोरको दूतावासमा प्रवेश गर्दा जमानतका सर्तहरू उल्लङ्घन गरेको प्रमाणित भएकाले ४७ वर्षीय असान्जलाई १२ महिना जेल सजाय हुन सक्छ।
यौन दुर्व्यवहारसम्बन्धी एउटा मुद्दामा स्वीडन सुपुर्दगी गरिनबाट जोगिन उनले दूतावासमा शरण लिएका थिए।
असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको रक्षा मन्त्रालयको कम्प्युटरमा रहेको गोप्य जानकारी प्राप्त गर्ने षड्यन्त्र गरेको अमेरिकाले आरोप लगाएको छ।
अब उनले आफूलाई अमेरिका सुपुर्दगी गर्ने प्रयासको विपक्षमा कानुनी सङ्घर्ष गर्ने अनुमान गरिएको छ।