भारत-पाकिस्तान द्वन्द्व: भारतीय आक्रमण हुन सक्ने पाकिस्तानी दाबी, दिल्ली भन्छ, 'युद्ध उन्माद'

भारत-पाकिस्तान सीमा

तस्बिर स्रोत, Getty Images

पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको 'विश्वसनीय सूचना' पाएको दाबी गरेको छ।

उक्त भनाइलाई भारतले भने पाकिस्तानको 'युद्ध उन्माद' भनेर प्रतिक्रिया दिएको छ।

पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए।

गत फेब्रुअरीमा भारत-प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि दुई देशबीच तनाव बढेको थियो।

किन बढ्यो तनाव?

पुलवामामा आक्रमण गराउने जैश-ए‍-मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण दिएको भारतको दाबी छ। तर पाकिस्तानले त्यसका यथेष्ट प्रमाण नभएको बताउने गरेको छ।

तर प्रतिक्रियास्वरूप भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गर्‍यो। उसले त्यहाँ सशस्त्र विद्रोहीको तालिम केन्द्र रहेको दाबी गरेको थियो।

पाकिस्तान

तस्बिर स्रोत, AFP/GETTY

त्यसको लगत्तै पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई पाकिस्तानी भूमिमा खसालेर त्यसका चालकलाई कब्जामा लिएको थियो।

भारतसँग तनाव नचाहेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उनलाई फिर्ता गर्ने घोषणा गरे। त्यसपछि स्थिति केही साम्य भयो।

कश्मीरमा भारत र पाकिस्तानलाई छुट्ट्याउने तर अन्तर्राष्ट्रिय रूपमा मान्यता नपाएको नियन्त्रणरेखा अर्थात् 'लाइन अफ कन्ट्रोल' भनिने सीमाक्षेत्रमा सन् १९७१ पछिको त्यो पहिलो हवाई आक्रमण थियो।

दक्षिण एशियाका यी दुई आणविक अस्त्रयुक्त मुलुकहरूले मुस्लिम बहुल कश्मीरलाई सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएलगत्तै आफ्नो भूमोका रूपमा दाबी गर्दै आएका छन्।

तर त्यसको केही हिस्सामा मात्र उनीहरूको नियन्त्रण कायम छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

के छ पाकिस्तानको दाबी?

गत फेब्रुअरीको उक्त घटनापछि यी मुलुकहरूको तनाव कम भएको जस्तो देखिएको थियो।

तर केही दिनअघि फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत 'युद्धको उन्माद'बाट ग्रसित भएको र भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए।

अहिले उनका विदेशमन्त्रीले पाकिस्तानसँग भारतले गर्न लागेको आक्रमणबारे 'गुप्तचरी सूचना' भएको बताएका छन्।

अभिनन्दन वर्धमान

तस्बिर स्रोत, ISPR

भारत-पाकिस्तान

तस्बिर स्रोत, STR/AFP/GETTY

तस्बिरको क्याप्शन, गत फेब्रुअरीमा पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई आफ्नो भूमिमा खसालेर त्यसको चालकलाई कब्जामा लिएको थियो

कुरेशीले संवाददाताहरूसँग भने, "पाकिस्तानविरुद्ध अर्को आक्रमणको सम्भावना रहेको छ र हाम्रो सूचनाअनुसार त्यो एप्रिल १६ र २० तारिखबीच हुन सक्छ।"

उनले उक्त सूचना प्राप्त गरेपछि अन्तर्राष्ट्रिय समुदायका साथसाथै पाकिस्तानी जनतालाई पनि सूचित गर्ने निर्णय लिएको बताएका थिए।

आसन्न आक्रमण आफ्नो देशविरुद्ध 'कूटनीतिक दबाव' बढाउनका लागि गर्न लागिएको हुन सक्ने उनको तर्क छ।

'भारतीय योजना'को विरोध गर्न पाकिस्तानले इस्लामाबादस्थित भारतीय आयोगका एक वरिष्ठ कूटनीतिज्ञलाई बोलाएर सोधपुछ पनि गरेको छ।

पाकिस्ताने भारतीय योजनाबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई दुई दिनअघि नै जानकारी गराइएको कुरेशीले बताए।

के भन्छ भारत?

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले "यस क्षेत्रमा युद्ध उन्माद फैलाउने एउटा स्पष्ट उद्देश्य"साथ पाकिस्तानको उक्त भनाइ आएको बताएका छन्।

उनले भनेका छन्, "यो सार्वजनिक नौटङ्की पाकिस्तानमा रहेका आतङ्ककारीहरूलाई भारतमा आतङ्ककारी आक्रमण गर्न सन्देश दिनका निम्ति गरेको जस्तो देखिन्छ।"

उनले "कश्मीरमा गरिएको कार बम हमलाको दायित्वबाट पाकिस्तान उम्कन नपाउने"मा जोड दिएका छन्।

भारत-पाकिस्तान सीमा

तस्बिर स्रोत, Getty Images

जैश-ए-मोहम्मद समूहका सशस्त्र लडाकुका निम्ति पाकिस्तान सुरक्षित स्थान रहेको भन्दै लामो समयदेखि भारतले आरोप लगाउँदै आएको छ।

पुलवामामा भएको आक्रमण आफूले गरेको दाबी उक्त समूहले गरेको थियो।

तर पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको भन्दै भारतको आरोपको खण्डन गरेको थियो।

इमरान खानले आफू उक्त घटनाको अनुसन्धानका लागि सहयोग गर्न तत्पर रहेको भन्दै भारतलाई प्रमाणहरू दिन आग्रह गरेका थिए।

के भारतमा हुन लागेको निर्वाचन र तनावबीच सम्बन्ध छ?

भारतमा यही महिना निर्वाचन हुन लागेको छ।

मोदी

तस्बिर स्रोत, Getty Images

यही समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टीप्रति समर्थन बढाउन पाकिस्तानसँगको तनावलाई प्रयोग गरिरहेको आरोप विपक्षीहरूले लगाउने गरेका छन्।

तर मोदीको दल भारतीय जनता पार्टीले उक्त आरोपलाई खण्डन गर्ने गरेको छ।

पाकिस्तानले पुलमामा भएको घटनापछि दर्जनौँ शङ्कास्पद लडाकुहरूलाई पक्राउ गरिसकेको छ। तिनमध्ये जैश-ए-मोहम्मदका संस्थापक मसूद अजहरका आफन्तहरू समेत छन्।

पाकिस्तानले तीन सय ६० जना भारतीयहरूलाई कैदमुक्त गरेकै दिन भारतले आक्रमण गर्न लागेको आरोप लगाएको हो।

आइतवार मुक्त भएका एक सय जनाको समूहमा अधिकांश पाकिस्तानी जलक्षेत्रमा प्रवेश गरेका माझीहरू थिए।

भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू यस्ता छन्

अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै

अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध।

डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य।

सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी।

भारत-पाकिस्तान

तस्बिर स्रोत, Getty Images

फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान।

मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता।

मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।

अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण। ३८ जनाको मृत्यु।

१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विभाजन गर्ने रेखा

फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु।

२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण। ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष।

भारत-पाकिस्तान विभाजन

तस्बिर स्रोत, Getty Images

जेनुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनिक र छ विद्रोहीको मृत्यु।

१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु।

३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही 'सर्जिकल स्ट्राइक' गरेको भनाइ। पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार।

१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार।

बालाकोट
तस्बिरको क्याप्शन, बालाकोटमा गरिएको हवाई आक्रमणमा लडाकुहरूको शिविर ध्वस्त भएको र धेरै जना मारिएको भारतको दाबी छ

२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण। लडाकु समूह जैश-‍ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ।

१ मार्च २०१९: पाकिस्तानद्वारा भारतीय वायुसेनाको लडाकु विमानका चालक अभिनन्दन वर्धमान मुक्त।