तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बारा पर्सा हावाहुरी: प्रभावित गाउँहरू उजाड, पीडित अन्योलमा
- Author, माधुरी महतो
- Role, बीबीसी नेपाली सेवा
म सोमवार शुरूमा बाराको पुरैनिया पुगेँ। त्यहाँ पुग्दा गाउँमा केही पनि बाँकी नरहेजस्तो उजाड देखिन्थ्यो।
घर, रुख, पोल सबै ढलेका थिए। मानिसहरू अरूको घर भत्किएको अवस्था कस्तो छ, उपचारका लागि को को अस्पताल जान पाए वा कोही घरमै फसिरहेका छन् कि भनेर खोजी गरिरहेका थिए।
हावाहुरीमा परेर आफन्त गुमाएकाहरू घरमै रोइरहेका थिए। वृद्धवृद्धा अनि बालबालिकाहरू पनि रोइरहेका देखिन्थे।
त्यहाँ पुग्दा अचम्म लागेको चाहिँ त्यहाँ छेउछाउका अरू गाउँहरूमा कतै क्षति पुगेको थिएन।
अन्योल
पुरैनियासहित अति प्रभावित बाराको फेटा, भरवलिया, र चैनपुरमा मानिसहरू अब के खाने र के लगाउने भन्ने अन्योलमा देखिन्थे।
गाउँमा भित्र्याउने बेला भएको गहुँ सबै असिना पानीले नष्ट गरेको छ। मानिसहरूले रातभरी डरका कारण सुत्न नसकेको बताएका छन्।
रातिदेखि नै उद्धारका लागि खटिएका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू पनि गाउँमा मानिसहरू र बचेका सरसामान निकाल्न लागि परेका छन्।
कति घरबाट खानेकुराहरू निकालिँदै थियो भने कति घरबाट लत्ताकपडा झिकिँदै थियो।
सिमेन्टका घर पनि लडे
केहीले चाहिँ आफ्नो घरमा जोगिएको खानेकुरा समूहमै बाँडेर पनि खाइरहेका थिए।
चाहे फुसको घर होस् वा सिमेन्टको, घरहरू सबै भत्किएका छन्।
ती क्षेत्रमा घरहरू ढल्नुका साथै सानादेखि ठूला सबै रुखहरू जरैसम्म उखेलिएर ढलेको देखिन्छ।
मानिसहरू घटनामा के भयो कसरी भयो भन्ने अन्योलमै देखिन्छन्। तिनीहरूले रातभरि डरका कारण सुत्न नसकेको बताएका छन्।
धेरै ठाउँमा बिजुलीका खम्बा ढलेका छन्। त्यस क्षेत्रमा बिजुली आपूर्ति बन्द छ।
अस्पतालमा चाप
बिरामीको चाप बढी भएको वीरगञ्जस्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा पुग्दा शय्या मात्र नभई भित्र बाहिरका खाली ठाउँमा पनि घाइतेहरू उपचारका लागि पर्खिरहेका थिए।
त्यस्तै दृश्य न्यासनल मेडिकल कलेजमा पनि देखिन्थ्यो।
घाइतेहरूको अवस्था दयनीय छ। हावाहुरीको डर मानिसहरूको अनुहारमा अझै देखिन्छ।
अस्पतालमा भर्ना भएका र बोल्न सक्ने अवस्थामा रहेका बिरामीहरू आफ्ना आफन्तहरूलाई के भइरहेको छ भनेर चिन्तित छन्।
उनीहरू घरको अवस्था के छ, आफन्तहरू कहाँ बसिरहेका छन् भन्ने प्रश्नहरू चिनजानका मानिसलाई सोधिरहेका थिए।
उपचार
तीमध्ये केही उपचार गरेर घर फर्किएका छन् भने धेरै चाहिँ उपचाररत छन्।
बिरामीमध्ये केहीको टाउको, खुट्टा, पेटलगायतमा चोट लागेको देखिन्छ।
र, ती अधिकांश आफ्नै घरभित्र रहेका बेला घाइते भएका हुन्।
बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूसँग कुरा गर्दा उनीहरूले ६ सय भन्दा बढी घाइतेहरू उपचारका लागि अस्पताल आएको बताएका थिए।
विभिन्न संघसंस्थाले राहतका सामग्री लिएर गइरहेका देखिन्छन्।
मानिसहरू घटना के भयो कसरी भयो भन्ने अन्योलमै देखिन्छन्।