नेपाली रेल: भारतसँग किन्न लागिएका रेलका विशेषता यस्ता छन्

रेल

तस्बिर स्रोत, Department of Rail

    • Author, गनी अन्सारी
    • Role, बीबीसी नेपाली सेवा

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका लागि चाहिने रेल खरिद प्रक्रिया अगाडि बढाइएको रेल विभागले जनाएको छ।

सरकारी तहमा हुने खरिद सम्झौताका लागि भारतीय पक्षलाई नेपाल आउन आउँदो हप्ता पत्राचार गरिने विभागका महानिर्देशक बलराम मिश्रले बीबीसीलाई बताए।

उनका अनुसार सम्झौता गरिएको बढीमा तीन महिनाभित्र रेल नेपाल आइपुग्नेछ।

नेपालले खरिद गर्ने रेल भारतको चेन्नईस्थित सरकारी कम्पनीले निर्माण गर्ने अधिकारीहरूले बताएका छन्।

लागत कति हो?

भारतमा रेल निर्माणदेखि मर्मतसम्मका सबै काम सरकारी कम्पनीबाटै हुने गरेको महानिर्देशक मिश्रले बताए। पहिला नेपालले दुई सेट रेल खरिद गर्नेछ।

"अहिलेलाई धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्न लागिएको हो। त्यसका लागि तत्काल दुई सेट रेल भए हामीलाई पुग्छ," उनले भने।

महानिर्देशक मिश्रका अनुसार नेपालले झन्डै ८५ करोड रुपैयाँमा दुई सेट रेल खरिद गर्न लागेको हो।

त्यसका लागि आवश्यक रकम मन्त्रिपरिषद्‌को हालैको बैठकले स्वीकृत गरिसकेको छ।

रेल

तस्बिर स्रोत, Department of Rail

तस्बिरको क्याप्शन, निर्माणाधीन रेलमार्ग

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार नेपालले खरिद गर्न लागेको डेमु अर्थात् 'डिजेल इलेक्ट्रिक मल्टिपल युनिट' ट्रेन सेट हो।

Presentational grey line

यस्ता छन् खरिद गर्न लागिएका रेलका विशेषता

  • मध्यम दूरीका लागि उपयुक्त मानिन्छ
  • प्रतिघण्टा १०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ
  • डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्शन मोटर चल्छ
  • ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा कार हुन्छन्। अर्थात् बोलीचालीको भाषामा भन्नुपर्दा एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा हुनेछन्
  • रेलको एउटा सेटमा एक पटकमा १२ सयदेखि १३ सयजनाले यात्रा गर्न सक्नेछन्
  • अगाडि र पछाडि दुईतिर बाटै गुडाउन मिल्ने भएकोले फर्काउनुपर्ने झन्झट हुँदैन
  • एसीजडित एउटा कोच पनि हुनेछ, जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिले यात्रा गर्न सक्नेछन्
Presentational grey line

कसले चलाउँछ?

रेलको रङ्ग नेपालले भनेअनुसार हुनेछ।

त्यसमा नेपालको राष्ट्रिय झन्डा र नेपाली पहिचान झल्काउने चिनारीहरू हुने महानिर्देशक मिश्रले बीबीसीलाई बताए।

सिनियर डिभिजनल इन्जिनियर चित्रकारका अनुसार कुर्थादेखि जयनगरसम्म आठवटा स्टेशन र हल्ट हुनेछ अर्थात् आठ स्थानमा रेल रोकिनेछ।

रेल
तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

नेपालसँग कोइलाबाट चल्ने 'न्यारोगेज' रेल मात्रै चलाएको अनुभव छ।

अर्को शब्दमा भन्नुपर्दा अब चल्ने 'ब्रोडगेज' रेलबारे नेपालसँग अनुभव छैन।

त्यसो भएकोले नेपाली जनशक्ति तयार नभएसम्म कम्तीमा एक वर्षका भारतबाट चालक ल्याएर चलाइनेछ र त्यसका लागि आवश्यक छलफल भइरहेको महानिर्देशक मिश्रले बताए।

त्यसबाहेक मर्मतका लागि पनि प्राविधिकहरू चाहिने भएकोले त्यो पनि निश्चित समयका लागि भारतबाट ल्याइने अधिकारीहरू बताउँछन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

"तत्कालका लागि मुख्य प्राविधिक जनशक्ति चाहिँ हामीले बाहिरबाटै ल्याउने हो," चित्रकारले भने।

भाडादर कति?

विभागका अधिकारीहरूका अनुसार रेलको अर्डर दिइसकेपछि त्यो नेपाल आइपुग्ने बीचको समयभित्र अरू कर्मचारी भर्ना लगायतका काम पूरा गरिनेछ।

त्यसका लागि आवश्यक ऐन कानुन निर्माणको काम भइरहेको अधिकारीहरूले बताएका छन्।

कुर्थादेखि जयनगरसम्मको भाडादर कति हुनेछ भन्नेबारे टुङ्गो लागिनसकेको महानिर्देशक मिश्रले बताए।

रेलसेवा सञ्चालनमा आएपछि सो क्षेत्रमा आवतजावत सहज हुनुका साथै समयको समेत बचत हुने भन्दै सर्वसाधारणहरू उत्साहित देखिएका छन्।