धेरै अण्डा खाँदा मुटुसम्बन्धी रोग र असामयिक मृत्यु त निम्तिरहेको छैन?

अण्डा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दिनको दुईवटा अण्डा खाँदा त्यसले मुटुसम्ब्धी रोग लाग्ने खतरा बढाउने अमेरिकाको एउटा अध्ययनले देखिएको छ

अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्।

यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ।

उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई हानि पुर्‍याउन र उमेर नपुग्दै मृत्यु हुन सक्छ।

अण्डाको पहेँलो भागमा धेरै मात्रामा कलेस्ट्रल हुने कारणले खतरा देखिएको हो।

एउटा ठूलो अण्डामा झन्डै ‍१८५ मिलिग्राम कलेस्ट्रल हुन्छ। यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो।

रोग लाग्ने खतरा कति?

उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित छ।

अनुसन्धानकर्ताहरूले प्रतिदिन ३०० मिलिग्राम कलेस्ट्रल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्।

उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा छ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा आठ प्रतिशत बढ्ने बताएका छन्।

दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमश: २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ।

सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्तीसेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो।

"हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिसले उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो," शोधकी एक लेखिका तथा नर्थवेस्टर्न युनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन्।

महिला र अण्डा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तपाईँलाई अण्डा एकदमै मनपर्छ भने सेतो भाग धेरै र पहेँलो भाग कम खान सक्नुहुन्छ

पहिलाका अध्ययनसँग विरोधाभा

पुराना अध्ययनहरूले अण्डा खानु र मुटुरोगको सम्बन्ध नरहेको देखाएकोमा नयाँ अध्ययन विरोधाभासपूर्ण देखिएको छ।

तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए।

यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटिहरू हुनसक्ने बताएका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

सहभागीले गएको महिना वा वर्षहरूमा अण्डा खाएकोबारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ।

अन्य विज्ञहरूले यो अध्ययनले अण्डाको आहार र मुटुरोग बीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रूपमा अण्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन्।

"यो अध्ययनको बलियो पक्ष भनेको यसले अमेरिकी जनसङ्ख्याको जातीय विविधता र सामान्य अमेरिकीहरूले लिने आहारको प्रतिनिधित्व गरेको छ," लन्डनको किङ्ग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्यान्डर्सले भने।

उसिनेको अण्डा खाँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्वास्थ्यमा आउने जटिलताबाट बच्न ठिक्क सङ्ख्यामा अण्डा खानु उचित हुन्छ

"यसको सीमितता भनेको यो आहार लिने एउटै आकलन विधिमा मात्रै निर्भर छ।"

कति खाने त अण्डा?

त्यसो भए हामीले कतिवटा अण्डा खानुपर्छ त?

अध्ययनकर्ता एलेन हप्तामा तीनवटा भन्दा बढी खान नहुने सुझाउँछिन्।

उनी अण्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अण्डाको सेतो भाग मात्रै खानु भन्ने हो।

"मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अण्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन," उनले भनिन्।

"म केवल मानिसहरूलाई ठिक्क मात्रामा खान भनिरहेको छु।"

टम स्यान्डर्सले भने यो अध्ययन अमेरिकी नागरिकहरूमा मात्रै केन्द्रित भएको ठान्छन्।

"औसतमा अमेरिकीहरूले दैनिक खाने कलेस्ट्रल झन्डै ६०० मिलिग्रामसम्म हुनसक्छ जुन ब्रिटेनले प्रतिदिन लिने २२५ मिलिग्रामभन्दा धेरै बढी हो," स्यान्डर्स भन्छन्।

अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टर्न्याश्नल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन्। अमेरिकामा प्रत्येक वर्ष प्रतिव्यक्ति २५२ वटा अण्डा उपभोग हुन्छ।

तर त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो।

प्रतिवर्ष प्रतिव्यक्ति ३२८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्।

"हप्तामा तीनदेखि चारवटा अण्डा खानु ठिकै हुन्छ," ब्रिटिश विज्ञले थपे।