तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिला फुटबल: इतिहास दोहोरियो, नेपाल फेरि फाइनलमा पराजित
नेपाली महिला टोलीले दक्षिण एसियाली च्याम्पियनशिप जितेको हेर्ने नेपालीको सपना शुक्रवार पूरा हुन सकेन।
निकै रोचक रहेको फाइनल खेलमा नेपाली टोली पुन: इतिहास दोहोरिएको हेर्न बाध्य भयो।
यसअघि तीन पटक भारतसँगै दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको फाइनलमा हारेको नेपालले यसपटक चौथोचोटि पनि त्यही परिणाम बेहोर्न पुग्यो।
विराटनगरको शहीद मैदानमा भएको रोमाञ्चक फाइनलमा भारतले चिर प्रतिद्वन्द्वी नेपाललाई फाइनलमा हराएको हो।
मध्यान्तर अगाडि बराबरी
खासमा खेल अवधिभर दुवै टोलीले निकै अवसर सृजना गरेका थिए।
मध्यान्तर अगाडिसम्म खेल अत्यन्तै प्रतिस्पर्धात्मक रह्यो।
खेलको २६ औँ मिनेटमा भारतीय खेलाडी डालिमा चिब्बरले सुन्दर फ्रि किक प्रहार गर्दै पहिलो गोल गरिन्।
तर नेपालकी सावित्रा भण्डारीले त्यसको सात मिनेटमै हेडमार्फत गोल फर्काइन्।
मध्यान्तरसम्मको बराबरीको स्थिति धेरै लामो टिकेन।
त्यसपछि भारतले लगालग दुई गोल गर्यो।
अन्त्यमा एक का विरुद्ध तीन गोल गर्दै भारतले पाँचौँ पटक उक्त उपाधि जितेको छ।
भारत सशक्त
भारतका लागि डालिमा चिबर, ग्रेस डाङमेई र अञ्जु तामाङले गोल गरेका हुन्।
खेल सुरु भएदेखि नै नेपालको नियन्त्रणमा देखिएको थियो।
खेलाडीहरु आत्मविश्वासी देखिएका थिए। उनीहरूले आक्रमणका अवसरहरू पनि निकै निर्माण गरे।
तर खेलमा अग्रता भने भारतले लिइ नै रह्यो।
२६ औं मिनेटमा प्राप्त फ्रि किकमा भारतकी डालिमा चिबरले हानेको प्रहार सिधै गोल भएको थियो।
नेपालले खाएको पहिलो गोल
नेपाली गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले त्यसलाई ठम्याउन सकिनन्।
यो नेपालले प्रतियोगितामा खाएको पहिलो गोल पनि थियो।
तर त्यसको ७ मिनेट पछि नै नेपालले बराबरी गोल फर्कायो। रक्षापंक्तिकी खेलाडी दीपा राईले रक्षा क्षेत्रबाट फ्यालेको लामो प्रहार विपक्षी बक्समा खस्यो। त्यहाँ रहेकी स्ट्राइकर सावित्रा भण्डारीले हेड गोल गरिन्।
यो सँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या २६ पुगेको छ।
नेपालले गोलको स्वर्णिम अवसर भने मध्यान्तर हुनु एक मिनेट अगाडि गुमाएको थियो।
मिडफिल्डर अनिता बस्नेतले डि बक्स भित्र निकालेको सुन्दर पासमा सावित्राले हानेको पहिलो प्रहार विपक्षी किपरले रोकिन् भने फर्किएर आएको बललाई पुन: प्रहार गरिए पनि गोल हुन सकेन।
के भयो मध्यान्तरपछि?
मध्यान्तरपछिको रणनीति भने फरक देखिएको थियो।
भारतीय महिलाहरू आक्रमणमा उत्रिएका थिए भने नेपाली खेलाडी शारीरिक रूपमा अलि थाकेको भान भएको थियो।
भारतले लगातार आक्रमण गरेपछि ६३ औं मिनेटमा उसले अर्को गोल गर्यो।
नेपाली गोलकिपर एञ्जिला अगाडि बढेको अवस्थामा ग्रेस डाङमेईले उनलाई सजिलै छलाएर गोल गरि खेलमा भारतलाई अग्रता दिलाइन्।
उनीहरू त्यतिमा रोकिएनन्।
७८ औं मिनेटमा अञ्जु तामाङले गोल गरेपछि खेलको स्थिति ३-१ को अवस्थामा पुग्यो।
त्यसपछि पनि नेपाली खेलाडीहरूले गोल गर्ने प्रयास भने गरि नै रहेका थिए।
रङ्गशालामा भरिएका दर्शकले लगातार नेपालको हौसला बढाइरहेका थिए।
तर नतिजा उनीहरूको निम्ति नमिठो नै रह्यो।
प्रदेश नम्बर १ को सरकारले नेपालले जितेमा प्रति खेलाडी २ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। तर अब उपविजेताको रूपमा पनि नेपाली खेलाडीहरूले जनही १ लाख रुपैयाँ भने प्राप्त गर्नेछन्।