तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएला: मदुरोले गरे सेनाको प्रशंसा, ग्वाइदो देश भ्रमणमा जाने
भेनेजुएलामा राष्ट्रपति निकोलास मदुरो र विपक्षी नेता ह्वान ग्वाइदोका आह्वानमा परस्पर विरोधी प्रदर्शनहरू चर्किएका छन्।
बिहीवारदेखि देशका थुप्रै भागमा विद्युत् आपूर्तिमा कटौती भइरहँदा विपक्षीले प्रदर्शन चर्काएका हुन्।
शनिवार दुईथरी प्रदर्शन भइरहँदा राजधानी कराकासका सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रदर्शन
थुप्रै विपक्षी प्रदर्शनकारीले प्रहरी दबावको सामना गर्दै उनीहरूलाई 'हत्यारा' भन्दै चिच्याएका थिए।
त्यतिखेर प्रहरीले उनीहरूतर्फ पिरो हुने अश्रु ग्यास प्रहार गरेको थियो।
सोही सभालाई सम्बोधन गर्दै विपक्षी नेता ह्वान ग्वाइदोले 'छिट्टै राजधानीमा आयोजना गरिने ठूलो सभा'का लागि समर्थन जुटाउन देशव्यापी भ्रमणमा जाने बताए।
उनले भने, "हामी पूरै भेनेजुएला कराकासमा हुनेछौँ किनभने अब हामी सबै एकजुट हुन आवश्यक छ।"
प्रशंसा
उता राष्ट्रपति निकोलास मदुरोले भने आफ्नो सरकारप्रति वफादार रहेको भन्दै त्यहाँको सेनाको प्रशंसा गरे।
राष्ट्रपति कार्यालय बाहिर जम्मा भएका समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा उनले ग्वाइदोलाई 'चटकी' र 'अमेरिकाको कठपुतली' भएको आरोप लगाए।
मदुरोले भने, "उनीहरुले सेनालाई सत्ता हत्याउन सहयोग गर्न आग्रह गरेका थिए। र स्पष्ट जवाफ पाए। सत्ता हत्याउन खोज्नेहरू परास्त भए।"
आफ्ना पूर्ववर्ती ह्युगो चावेजको मृत्यु भएसँगै सन् २०१३ यता मदुरो सत्तामा छन्।
पछिल्ला वर्षमा त्यहाँ आर्थिक सङ्कट चुलिएसँगै मुद्रास्फिति ८ लाख प्रतिशतसम्म पुगेको छ।
थपिएको विद्युत् सङ्कट
बिहीवारदेखि देशमा थुप्रैतिर विद्युत् आपूर्ति अवरुद्ध छ।
जसमा समेत विपक्षीलाई दोष दिँदै उनले देशको विद्युत् प्रणालीमा साइबर हमला गरिएको आरोप लगाएका थिए।
तर थुप्रै दशकदेखि त्यसमा लगानी नबढाइँदा धेरैतिर बाँध भत्किएका छन्।
विपक्षी नेता ग्वाइलो त्यसमा वर्षौँदेखिको भ्रष्टाचार र अव्यवस्थापनलाई दोष दिएका छन्।
पेट्रोलियममा धनी देश भएपछि उसको आन्तरिक ऊर्जा धेरैजसो जलविद्युत्मा निर्भर छ।
पछिल्लो सङ्कट भने ल्याटिन अमेरिकाकै एउटा ठूलो पूर्वाधार मानिने गुरी बाँधमा समस्या आएसँगै निम्तिएको हो।
त्यसको सबैभन्दा बढी असर त्यहाँका अस्पतालहरूमा देखिएका छन्।
के हो भेनेजुएला सङ्कट?
भेनेजुएलामा सङ्कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसङ्घीय शरणार्थी नियोगले बताएको छ।
त्यहाँको महँगी धेरै गुणा बढेको छ। जसकै कारण पेट्रोलियम पदार्थमा धनी देश भएर पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।
तर मदुरोले आफ्नो देशमा सङ्कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्।
मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देशहरू छन्।
आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित ५० भन्दा बढीले मान्यता दिएका छन्।