तराई झरेर तराई केन्द्रित दललाई ओली र प्रचण्डको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले रौतहटको गरुडामा शनिवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेकपाका एक अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रदेश नं. २ सहित सिङ्गो देशको विकासको जिम्मा लिएर वर्तमान सरकार अघि बढेको बताए।

आमसभालाई सम्बोधन गरेका नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि तराईको विकासलाई आफूहरूले प्राथमिकतामा राख्दै आएको भन्दै आमसभाका सहभागीलाई सरकारप्रति आश्वस्त तुल्याउन खोजे।

पृथकतावादी अभियान चलाउँदै आएका सीके राउत मूलधारको राजनीतिमा आउने वाचासहित सरकारसँग एउटा सहमतिमा हस्ताक्षर गरेको भोलिपल्ट सत्तारुढ नेकपाको प्रदेश नं. २ कमिटीले रौतहटको गरुडामा आमसभा आयोजना गर्‍यो।

सन्देश

जसलाई कतिपयले सरकारले आफ्नो प्रभाव बढिरहेको सन्देश विपक्षीहरूसम्म पुर्‍याउन खोजेको रूपमा पनि अर्थ्याएका छन्।

काँधमा गम्छा राखेका प्रधानमन्त्री केपी ओलीले राजतन्त्रविरोधी आन्दोलनको बेलादेखि नै रौतहटसँग आफ्नो विशेष साइनो रहेको उल्लेख गरे।

सभामा देखिएको सहभागिताबाट नेकपाप्रतिको भ्रम चिरिएको बताएका ओलीको घुमाउरो इसारा सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपा नेपालप्रति थियो।

उनले भने, "एउटा प्रदेशमा एकपल्टमा जनतालाई झुक्याएर, अलमल्याएर अलिकति भोट पाइयो भनेर धेरै फूर्तिफार्ति नगर्न म राजपालाई सुझाव दिन चाहन्छु। उहाँहरूलाई म आग्रह गर्न चाहन्छु तपाईँहरूले सरकारविरुद्ध फेहरिस्त बनाउने होइन, सिङ्गो देशको विकासको जिम्मा लिएर यो सरकार गएको छ।"

टीकापुर घटनामा दोषी ठहर गर्दै आफ्ना सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपा नेपालले बुधवार सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

असन्तुष्टि

त्यसप्रति शुक्रवार पनि असन्तुष्टि जाहेर गरेका प्रधानमन्त्री ओलीले शनिवार गरुडामा बोल्दै जनताको मतको आफूहरूले सम्मान गर्ने बताए।

प्रधानमन्त्रीको भनाइ थियो- स्थानीय भाषा जानेको भए मैले आफ्ना कुरा अझ राम्रोसँग बुझाइदिन्थेँ।

प्रधानमन्त्री ओलीको भन्दा पहिले सभालाई सम्बोधन गरेका प्रचण्डले पनि तराई केन्द्रित दलहरूलाई चुनौती दिँदै भने, "हिजो उहाँहरूले असन्तुष्टि जाहेर गर्नुभएको थियो। यहाँको जनताको पक्षमा तपाईँहरूले काम गरेर देखाउनूस्। हामी उदारतापूर्वक उहाँहरूलाई काम गर्न दिने पक्षमा छौँ। अर्को चुनावमा कम्युनिष्ट पार्टीले दुई तिहाइ होइन, ८० प्रतिशत नै मत ल्याउँछ।"

तराईको विकासका लागि तीन सय ५२ करोड रकम छुट्ट्याइएको बताएका प्रधानमन्त्री ओलीले विकासका काम अब कुनै कारणले रोकिन नसक्ने उल्लेख गरे।

सम्बोधनका क्रममा उनले तराईमा व्याप्त बोक्सी प्रथा लगायतको अन्धविश्वास हटाउन अपील समेत गरे।