तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मार्क जकर्बर्ग: संस्थापकले भनेको 'गोपनीयता केन्द्रित' फेसबुक कस्तो हुनेछ
फेसबुकका संस्थापक मार्क जकर्बर्गले आफ्नो सामाजिक सञ्जाललाई "गोपनीयतामा उच्च ध्यान दिने मञ्च" बनाउन चाहेको बताएका छन्।
फेसबुकले प्रयोगकर्ताका विवरणहरू दुरुपयोग गरेको भन्दै पछिल्ला समय थुप्रै प्रकरणहरू सामना गर्नुपरेको पृष्ठभूमिमा जकर्बर्गले एउटा ब्लग लेख्दै त्यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार फेसबुकले प्रयोगकर्ताका विवरणहरू अब लामो समयसम्म राख्नेछैन।
यस्तो विवरण मानव अधिकारको अवस्था कमजोर भएको देशमा भण्डार गरिनेछैन।
यसले फेसबुकमाथि विभिन्न देशमा लागेका प्रतिबन्धहरू थप बढ्न सक्ने ठानिएको छ।
स्पष्ट समयसीमा नखुलाईकनै जकर्बर्गले आगामी केही वर्षमा त्यस्तो परिवर्तन देखिने बताए।
बीबीसीका प्रविधि सम्वाददाता जोई क्लाइमनका भनाइमा जकर्बर्गको पछिल्लो धारणामा प्रयोगकर्ताहरूको व्यवहार कसरी परिवर्तन भइरहेको छ र उनीहरूले के चाहिरहेका छन् भन्ने फेसबुकले अन्तत: सुनेको सङ्केत भेटिन्छ।
"यो उसका नयाँ बाटो समेत हो।"
विवाद
सन् २०१८ मा फेसबुकले झन्डै पाँच करोड प्रयोगकर्ताका परिष्कृत विवरण एक राजनीतिक परामर्शदाता कम्पनीलाई बेचेको सार्वजनिक भएपछि यो कम्पनी विवादमा तानिएको थियो।
फेसबुक हिजोआज मिथ्या समाचार फैलने माध्यम बनेको भन्दै उसको आलोचना हुने गरेको छ।
उनले आफ्नो ब्लगमा 'सुरक्षित र गोपनीयताको ख्याल गर्ने सन्देश सेवाहरू नै सबैभन्दा लोकप्रिय हुनसक्ने' बताएका थिए।
फेसबुकका सन्देश सेवाहरू मेसिन्जर र ह्वाट्स्एपका प्रयोगकर्ता पनि धेरै छन्।
उनको भनाइ छ, "फेसबुक र इन्स्टाग्रामले साथी, समुदाय र रुचिका मानिसहरूलाई डिजिटल रूपमै भए पनि एकै सहरमा जसरी राखेका छन्। तर अब मानिसहरूले आफ्नो कोठामा जत्तिकै गोपनीयता पनि खोजिरहेका छन्।"