एनसेलको लाभकर र जरिबाना कति पुगेको छ?

तस्बिर स्रोत, Supreme Court
- Author, नेत्र केसी
- Role, बीबीसी नेपाली सेवा
टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेको सेयर आजिएटालाई बेचेकाले हालसम्म सरकारी निकायहरूले टेलियासोनेराबाटै लाभकर असुलीको प्रयास गरेका थिए।
तर दुवै विदेशी कम्पनीले एक अर्काले कर तिर्ने जिम्मेवारी भएको बताउँदा सरकारी अधिकारीहरू चाहिँ अन्यौल मै थिए।
सर्वोच्च अदातलले बुधवार एनसेल र आजिएटाबाट नै ती रकम असुल्न आदेश दिएपछि स्थिति फरक भएको छ।
एनसेलको सेयर बिक्री वापतको पुँजीगत लाभकर एनसेलबाटै असुल्ने बाटो खुलेको सरकारी अधिकारीहरूले बताएका छन्।
पहिले झन्डै ६१ अर्ब रुपैयाँ निर्धारण गरिएको उक्त कर हाल जरिबाना सहित ७५ अर्ब भन्दा बढी पुगेको बताइएको छ।
अर्थमन्त्री युवराज खतिवडाले अदालतको आदेशको स्वागत गर्दै अब लाभकरबारे हिसाब निकालिने बताएका थिए। "कर परिमाणको परीक्षण भइरहेको छ। ठ्याक्कै हिसाब निस्किसकेको छैन," उनले भनेका थिए।
कर कार्यालयले भने हिसाब भइरहेको विवरण दिएको छ।

तस्बिर स्रोत, Supreme Court
७५ अर्ब बाँकी
६० अर्ब ७१ करोड रुपैयाँ निर्धारण गरिएको उक्त कर जरिबानासहित बिहीवारसम्ममा ७५ अर्ब ३८ करोड रुपैयाँ पुगेको ठूला करदाता कार्यालयले जनाएको छ।
जुन रकम उक्त कम्पनीले तिर्ने दिनसम्मको जरिबाना जोडेर लिइने भएकाले तिर्ने दिनसम्म अझै बढ्ने छ।
यसअघि टेलियासोनेराको भन्दै एनसेलले बुझाएको साढे २१ अर्ब रुपैयाँको बारेमा भने आदेशको पूर्णपाठमा भए अनुसार गरिने बताइएको छ।
सर्वोच्च अदालतका अधिकारीहरूले बुधवार भएको उक्त आदेशको पूर्णपाठ प्राथामिकताका साथ तयार पार्ने काम भैरहेको भए पनि केही दिन लाग्ने जनाएका छन्।
टेलियासोनेरासँग असुल्ने प्रयास
विगतमा सेयर बिक्रेता कम्पनी टेलियासोनेराबाटै असुल्ने भन्दै ताकेता गरिए पनि कर असुल हुन सकेको थिएन।
आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर मलेसियाको आजिएटालाई बिक्री गरेवापतको पूँजीगत लाभकर टेलियासोनेराले सरकारलाई नबुझाइ देशबाट बाहिरिएको थियो।
एनसेल र आजिएटाले उक्त पूँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएर टेलियासोनेराकै भएको दाबी गर्दै आएका थिए भने टेलियासोनेराले आफूले तिर्नु नपर्ने दाबी गर्दै आएको थियो।
सोही अनुसार ताकेता गरेको सरकारले कर उठाउन नसकेपछि विवाद अदालत पुगेको थियो।
अब एनसेलबाटै
अदालतको आदेशको पूर्णपाठ आइनसकेको भए पनि अदातलको आदेशले अब एनसेलबाट उक्त कर लिने बाटो खुलेको ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले बताए।
उनले भने, "बेच्ने कम्पनी टेलियासोनेराको नाममा कर निर्धारण भएको हो। एनसेलको नाममा बक्यौता थिएन। अहिले बल्ल एनसेललाई तिराउनु भनेकाले अब हामी त्यतातिर लाग्दैछौँ।"
आदेशको पूर्णपाठ आइसकेपछि त्यसलाई अध्ययन गरेर थप कदम चालिने र कर असुली प्रकृया सुरु गरिने आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालको भनाइ छ।
उनले भने "पूर्णपाठ आइपुगेको छैन, उक्त आदेश आएपछि अध्ययन गरेर हाम्रो कारबाही सुरु गर्छौं। रकमको यकिन गरेर असुली प्रकृयामा जान्छौँ।"









