दुबई एकदिवसीय क्रिकेटमा सोमपाल र सन्दीपको बलिङ तथा रोहितको ब्याटिङले युएई धराशायी

ब्याटिङमा उल्लेख्य सुधार गरेको नेपालले दुबईमा यूएईसँगको एकदिवसीय शृङ्खलाको दोस्रो खेल १ सय ४५ रनले जितेको छ।

योसँगै तीन एकदिवसीय शृङ्खला १ -१ को बराबरीको अवस्थामा आएको छ।

नेपालले ९ विकेटको क्षतिमा बनाएको २४२ रनलाई पछ्याउन आएको आयोजक यूएई १९.३ ओभरमा अलआउट हुँदा ९७ रनमा समेटिन पुग्यो।

अघिल्लो दिनको खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर देखिएको नेपाल शनिवार भने त्यसको ठिक विपरीत लयमा देखिएको थियो।

ब्याटिङतर्फ रोहित पौडेल, उपकप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेखको ब्याट राम्ररी चलेको देखियो भने बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछाने खेलमा पूर्ण रूपमा हावी भएको देखियो। सोमपालले पाँच र सन्दीपले चार विकेट लिए।

सुधार

टस जितेर ब्याटिङ रोज्ने कप्तान पारस खड्काको निर्णय साबित गर्ने क्रममा खेलाडीहूले केही महत्त्वपूर्ण इनिङ खेले। जसमा प्रारम्भिक जोडी ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले बनाएको ६१ रनको साझेदारीले नेपालको शुरूवात बलियो बनेको थियो।

उपकप्तान मल्लले ४४ रन र भण्डारीले २१ रन जोडेका थिए। पारसले पनि २१ रन बनाएर स्कोरलाई उकास्ने काम गरे।

नेपालको स्कोर २ सय माथि पुर्‍याउने काम युवा खेलाडी रोहित पौडेलले गरे। उनले कीर्तिमानी अर्धशतकका रूपमा ५५ रन जोडे भने उनलाई राम्ररी सघाएका आरिफ शेखले २९ रन बनाएका थिए।

बलिङ अलराउन्डर करण केसीले आफ्नो परिचय सार्थक बनाउने क्रममा २ छक्काको मदतले १८ रन बनाएका थिए। नेपाली खेलाडीबाट यी दुई छक्का मात्रै बनेको हो।

बलिङ

नेपालको बलिङ सोमपाल र सन्दीपको वरिपरि घुमेको थियो।

पाँच विकेटको सफलता पाएका सोमपालले शुरूवातमा लिएको चार विकेट खेलको रूप नै बदलिदिएको थियो।

विपक्षी खेलाडीहरु पूर्ण रूपमा दबाबमा आएपछि सन्दीपले बाँकी खेलाडीहरूलाई शिकार बनाएका थिए। उनले मध्यक्रममा ब्याट्सम्यानलाई धराशायी पारेका थिए।

गर्विलो कीर्तिमान

क्रिकेट विश्वका दुई चर्चित खेलाडी भारतका सचिन तेन्डुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोड्दै नेपालका रोहित पौडेल विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन्।

युवा उमेरमा नै परिपक्व खेल प्रस्तुत गरेर राष्ट्रिय टोलीको मध्यक्रममा आफ्नो स्थान मजबुत बनाइसकेका रोहित पौडेलले हिजो ५८ बलमा ५५ रन बनाइ उक्त दूर्लभ कीर्तिमान रचेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका अनुसार शुक्रवारको खेल खेल्न मैदानमा आउँदा पौडेलको उमेर १६ वर्ष १ सय ४६ दिन पुगेको थियो।

यसअघि भारतका महान खेलाडी सचिन तेन्डुलकरले १६ वर्ष २१३ दिनमा ५९ रन बनाई सानो उमेरमा अर्धशतकको कीर्तिमान रचेका थिए। उनले पाकिस्तानविरुद्धको टेष्टमा उक्त रन जोडेका थिए।

एकदिवसीय क्रिकेटमा भने यो कीर्तिमान पाकिस्तानी अफ्रिदीको नाममा थियो। श्रीलङ्काविरुद्धको खेल खेल्दा १६ वर्ष २१७ दिन पुगेका उनले १०२ रनको शतकीय पारी खेलेका थिए।

प्रदर्शन

सातौँ नम्बारमा ब्याटिङ गर्न क्रिजमा आएका उनले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई लामो स्कोरतर्फ दोहोर्‍याएका थिए।

आफ्नो इनिङमा सात चौका प्रहार गरेका पौडेलले ५८ बल खेलेर ५५ रन बनाएर गरेको प्रदर्शन नेपाली टोली मजबुत अवस्थामा पुग्नमा महत्वपूर्ण बन्न पुगेको थियो।

उनी ४७ औँ ओभरको खेल चलिरहेका बेला आमीर हायातको बलमा मोहम्मद शब्बीरबाट क्याच आउट हुन पुगेको थियो।

रोहित पौडेल सानो उमेरमा नै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने खेलाडीहरूको सूचीमा चौथो नम्बरमा पनि परेका छन्।

गतवर्ष नेदरल्याण्ड्सँग पहिलो पटक एकदिवसीय खेल्न जाँदा रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्र थियो।

तीन एकदिवसीय शृङ्खला अन्तर्गतको निर्णायक खेल सोमवार हुनेछ। त्यसपछि टी २० को शृङ्खला शुरू हुनेछ।