तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डा. गोविन्द केसीलाई रातारात हेलिकप्टरमा कसरी ल्याइयो काठमाण्डू
चिकित्सा शिक्षा र सेवामा व्यापक सुधारको माग गर्दै १६ औँ पटक अनशनमा रहेका डाक्टर गोविन्द केसीलाई पूर्वी नेपालको इलामबाट रातारात काठमाण्डू ल्याइएको छ।
मध्यराति उनलाई लिन सेनाको हेलिकप्टर झापा पुगेको थियो।
इलामबाट सडकमार्ग हुँदै भद्रपुर पुर्याइएपछि शुक्रवार बिहानको झिसमिसेमा हेलिकप्टरबाट उनलाई काठमाण्डू ल्याइएको हो।
बिहीवार नै राजधानीबाट पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अनि पूर्व उपकुलपति केदारभक्त माथेमा लगायतका नागरिक अगुवाहरू डाक्टर केसीलाई काठमाण्डू आउन मनाउन इलाम पुगेका थिए।
कसले मनायो डाक्टर केसीलाई काठमाण्डू आउन?
इलाममा विगत ९ दिन देखि अनशन बसिरहेका डाक्टर गोविन्द केसीलाई ढुङ्गाना र कार्कीले काठमाण्डू जान अनुरोध गर्दा पनि उनी काठमाण्डू आउन तयार भएका थिएनन्।
उनीहरूले निकै जोडबल गर्दै अनुरोध गरेपछि केसीले मानेका थिए।
इलाम पुगेका ढुङ्गानाले भने, "उहाँले यति धेरै चोटी सत्याग्रह गरिसक्नु भयो। यस्तो बेला उहाँको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको हुन्छ। यस्तो बेला बिरामी र सत्याग्रहीलाई पर्खिरहनु पर्दैन।"
डाक्टर केसीलाई मनाउन पुगेकी पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, "उहाँको माग पूरा गर्न भन्दा पनि हामी उहाँलाई बचाउनका लागि यहाँ आएका हौँ।"
इलामस्थित बीबीसी सम्वाददाता सीता निरौलाका अनुसार डाक्टर केसीलाई मनाउन त्रिविका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमा पनि पुगेका थिए।
त्यसपछि उनलाई मोटरमा इलामबाट झापाको भद्रपुर ल्याइएको थियो।
के सत्याग्रह रोकिएको हो?
डाक्टर केसीका सहयोगी अभिशेक राज सिंहका अनुसार उनको सत्याग्रह रोकिएको छैन।
चिकित्सा शिक्षा विधेयकमा खास गरी मेडिकल कलेजहरूको सम्बन्धन र माथेमा कार्यदलको कामको प्रसङ्ग प्रस्तावनामा राख्ने जस्ता विषयमा कुरा मिल्न बाँकी रहेको डाक्टर केसी निकटस्थहरूको भनाइ छ।
एक साता भन्दा लामो समयदेखि अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था लगातार बिग्रिरहेको भन्दै चिन्ताहरू व्यक्त भइरहेका बेला अचानक उनलाई सघन उपचारको लागि काठमाण्डू ल्याइएको हो।
डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ।
उनी विगत एक साताभन्दा बढी समयदेखि इलाममा अनशनरत थिए।
त्यहाँ उनलाई आवश्यक पर्न सक्ने अत्यावश्यक चिकित्सा सेवा उपलब्ध नभएका विवरणहरू सार्वजनिक भइसकेका छन्।
यसअघि उनी १५ औँ अनशनका बेला जुम्ला पुगेका थिए। त्यहाँबाट उनलाई सरकारले नै काठमाण्डू ल्याएको थियो।